स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा धनुषाका नगरपालिकामा मुख्य दलहरुमा प्रमुखका आकाङ्क्षी बढी देखिए पनि पार्टीले अझैसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन।
यता राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभई निर्वाचनमा भाग नलिने बताउँदै आएको छ।
अर्कोतर्फ प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र भने उम्मेदवार छान्ने कसरतमा लागे पनि आकाङ्क्षी बढी भएकाले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन।
यसैबीच, नेका धनुषाले उम्मेदवारको आज आइतबार टुङ्गो लगाउने बताएको छ। स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयनका लागि देखिएको विवादको कारणले गर्दा नेकामा उम्मेदवारको टुङ्गो लगाउन सकिएको छैन।
नेकाले जनकपुर उपमहानगरपालिकाका लागि नगर सभापतिमा मनोज साहलाई उम्मेदवार बनाउने लगभग पक्का जस्तै भएको छ। यद्यपि करिब १४ जनाभन्दा माथिको नाउँ उम्मेदवारको लागि सिफारिस गरिएको छ। नगर समितिले क्षेत्र समितिमा उम्मेदवारको नामावली पठाउने, त्यहाँ सहमति खोजिनेछ। सहमति नभएमा जिल्ला कमिटीमा नाम पठाइने छ।
जनकपुर उपमहानगरपालिकामा करिब मनोज साह र उपप्रमुखमा निलम कर्णलाई टिकट दिने तयारी काँग्रेसले गरेको छ। तर जनकपुर नगरमा भने मनोज साह, बजरङ्गप्रसाद साह, किशोरी साह, श्याम साह, निर्मल चौधरी, श्याम साह, दिगम्बर राय, कन्हैया कर्ण, प्रफुल्ल घिमिरे, श्रीराम साह, धीरेन्द्र मोहन झा लगायतको नाम सिफारिस गरिएको छ।
जिल्ला सचिव कोमलकान्त झाका अनुसार क्षेत्रीय समितिलाई आइतबार १२ बजेसम्म जिल्ला कमिटीमा आकाङ्क्षीको नामावली पठाउन निर्देशन दिइएको छ। सो नामावली आएपछि जिल्ला समितिले अन्तिम टुङ्गो लगाउने र त्यहाँ पनि सहमति नभएको अवस्थामा केन्द्रीय समितिमा पठाउने निर्णय भएको छ।
यस्तै, एमालेबाट नेता रघुवीर महासेठकी श्रीमती जुली महतोको विशेष चर्चा छ। तर उहाँको मतदाता नामावली धनुषाको मिथिला विहारी गाउँपालिकामा पर्ने हुनाले समस्या छ। एमालेबाट जनकपुर नगर संयोजक सुरेन्द्र राय, उमेश साह, सञ्जीव झा, प्रिती गुप्ता, राधारानी साह र प्रितीकुमार साहको नाम प्रमुख पदका लागि चर्चामा छ।
यस्तै, नेकपा (माओवादी केन्द्र)बाट फुलगेन्द्रप्रसाद साह र कामेश्वर महतोको नाम प्रमुख पदका उम्मेदवारको आकाङ्क्षीमा रहेका छन्।
क्षिरेश्वरनाथ नगरपालिका
पूर्वराष्ट्रपति डा रामवरण यादव निर्वाचित धनुषाको क्षेत्र नम्बर ५ मा पर्ने क्षिरेश्वरनाथ नगरपालिकामा काँगे्रस र एमालेको टक्कर हुने देखिन्छ। नगर प्रमुखमा काँग्रेसले क्षेत्रीय सभापति योगेन्द्र पंजियार, मोहन माथेमा, सुकदेव यादव र लालबाबु यादवमध्ये एकलाई उम्मेदवार बनाउने देखिन्छ। अहिले चर्चामा रहेकामध्ये पंजियारको सम्भावना बढी छ।
एमालेका हरिप्रसाद पौडेल, पल्टु पण्डित र हरिनारायण यादवको नाममा छलफल चलिरहेको छ। माओवादी केन्द्रबाट वाइसिएल नेता श्याम यादव र वीरेन्द्र महतोको नाम चर्चामा छ।
मिथिला नगरपालिका
पूर्वपश्चिम राजमार्गसँग जोडिएको यो नगरपालिकाको प्रमुखमा काँग्रेसभित्र राजकुमार महतो, जोगी महतो, समीर घिमिरे शर्मा र राजाराम महतोको नाममा चर्चा चलिरहेको छ। माओवादी केन्द्रबाट पछिल्लो संविधानसभा निर्वाचनमा लडेका रामकुमार महतो र जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष मनीष जर्घामगरको नाम चर्चामा छ।
एमालेभित्र पूर्वजिल्ला अध्यक्ष हरिनारायण महतो, टङ्कप्रसाद बराल र जिल्ला सचिव सोमप्रसाद शर्माले टिकट पाउन पहल गरिरहेका छन् । एमालेका आकाङ्क्षी सोमप्रसाद शर्मा पार्टीका जिल्ला उपसचिव र सामुदायिक वन उपभोक्ता समिति धनुषाका अध्यक्षसमेत रहेकाले सङ्गठनको हिसाबले राम्रो पकड भएको मानिन्छ । यता हरिनारायण महतो तत्कालीन ढल्केवर गाविसको अध्यक्ष र टङ्कप्रसाद बराल सुकुम्वासी समस्या समाधान आयोग धनुषाका अध्यक्ष भइसकेका छन् । पार्टीभित्र कसलाई टिकट दिनेबारे अन्योलको स्थिति रहेको बुझिएको छ । सबैले आ–आफ्नो पक्षकालाई आफ्नो सिफारिस गराउन भरमग्दुर प्रयास गरिरहेका छन् ।
धनुषाधाम नगरपालिका
कुनै बेला शेरे धनुषाको नामले चर्चित पूर्वमन्त्री हेमबहादुर मल्लको गृहनगर धनुषाधाममा मल्लकी बुहारी प्रेक्षा मल्लको नाम राप्रपाबाट प्रमुखका रूपमा चर्चामा छ । यद्यपि, प्रेक्षाले प्रमुख पदमा लड्ने मनस्थिति बनाई नसकेको पार्टीले बताएको छ । माओवादी केन्द्रबाट दीपक यादव, परीक्षण यादव, काँग्रेसबाट विष्णु यादव, बालेश्वर मण्डल तथा रामसत साह र एमालेबाट योगकुमार यादव, रामबाबु यादव, भगवानदत्त साह लगायतको नाम प्रमुखका दावेदारका रुपमा चर्चा आएका छन् ।
गणेशमान चारनाथ नगरपालिका
गणेशमान चारनाथमा काँग्रेसका रामसुक यादव, रामचरित्र यादव, गणेश जयसवाल, सूर्यनारायण यादव, दीपनारायण यादव लगायतको नाम प्रमुख पदमा चर्चामा छ । माओवादीबाट विष्णुदेव यादव र दुर्गा मल्ल चर्चामा छन् । एमालेका राजेश्वर मण्डल, पुरुषोत्तम लामा र सीता कार्की आकांक्षी देखिएका छन् ।
सबैला नगरपालिका
सबैलामा काँग्रेसका जिल्ला कोषाध्यक्ष हरिनारायण साह, पूर्व क्षेत्रीय सभापति श्यामनारायण यादव र नगरसभापति विजयशङ्कर साहको नाम छलफलमा आएका छन् । माओवादीबाट रोशन यादव, परशुराम साह र रामबली साहको नाम चर्चामा छ । एमालेबाट राजु गुप्ता, दुर्गा राय र हरिकिशोर यादव लगायतको नाम बाहिर आएका छन् ।
सहिदनगर नगरपालिका
पञ्चायत व्यवस्थाविरुद्धको आन्दोलनमा इतिहास रचेको यस नगरपालिकाको प्रमुख पदका लागि काँग्रेसका शत्रुधन यादव, देवेन्द्र भर्खेर, क्षेत्रीय सभापति नवीन यादव र साधु यादवको नाम विचार भइरहेको पार्टीले जनाएको छ । माओवादी केन्द्रबाट अझै खुलेर उम्मेदवार आइनसकेको जिल्ला अध्यक्ष झल्कु यादवले बताए । एमालेबाट रामचन्द्र मण्डल, सुरेशप्रसाद यादव र जयप्रकाश सुनरैत यादवको चर्चा छ ।
विदेह नगरपालिका
विदेह नगरको प्रमुखको टिकट हात पार्न काँग्रेसबाट सत्यनारायण साह, रामचन्द्र मण्डल र प्रेमचन्द्र झा लागिरहेका छन् । माओवादी केन्द्रबाट प्रमुख पदको उम्मेदवारको टुङ्गो लागिसकेको छैन । एमालेबाट राजकिशोर सिंह, रामभरोसी राउत र राजकिशोर मण्डलको नाम चर्चामा छ।
नगराइन नगरपालिका
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको गृहनगर रहेको यस नगरपालिकाको प्रमुख पदमा काँग्रेसबाट क्षेत्रीय सभापति परमेश्वर यादव, श्याम यादव र निधिको नाता पर्ने श्याम निधिले दाबी गरिरहेका छन् । माओवादीबाट प्रमोद राउतको चर्चा छ। एमालेबाट श्यामसुन्दर चौधरी, वेदकुमारी मण्डल र मोहम्मद कैशको नाममा पार्टीभित्र छलफल चलिरहेको बताइन्छ।
यस पटकको चुनावमा जनताले परिवर्तनका वाहक खोजेका छन्। उनीहरुले पुराना अनुहारभन्दा पनि नयाँ अनुहार तथा पढेलेखेका युवा खोजेका छन्। रासस