निर्वाचनको विरोध गर्दै तराई मधेस बन्द गरेको राजपाले कांग्रेस एमालेका नेता कार्यकर्तालाई निसाना बनाएर आक्रमण गरेको छ।
पहिलो दिनको मधेस बन्द अवज्ञा गरेको भन्दै राजपा कार्यकर्ताले एमाले र कांग्रेस कार्यकर्ताको गाडीमा तोडफोड गरेका छन्।
मंगलबार बिहान राजपाका कार्यकर्ताले महोत्तरीमा एमालेका सांसद र नेपालगञ्जमा कांग्रेसका मेयर उमेद्वारलाई निसाना बनाउँदै उनीहरुको गाडी तोडफोड र आक्रमण प्रयास गरेका छन्।
महोत्तरीमा राजपाका कार्यकर्ताले एमालेका सांसद दीपनारायण साह चढेको गाडी तोडफोड गरे।
औरही गाउँपालिका १ मा जम्मा भएका राजपा नेताहरुले महोत्तरी निर्वाचन क्षेत्र नम्बर ५ का सांसद साह चढेको गाडीमा ढुंगा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ।
महोत्तरीका प्रहरी उपरिक्षक राजकुमार लम्सालका अनुसार, सम्सीबाट बर्दिबास आउँदै गर्दा औरही भन्ने ठाउँमा उनको गाडीमाथि आक्रमण भएको हो।
गाडीको अगाडीपट्टी सिसा फुटेको उनले बताए।
त्यस्तै नेपालगञ्ज उपमहानगरपालिका मेयरका लागि कांग्रेस उमेद्वार डा। सुरेशकुमार कनोडियाको गाडी मंगलबार विहानै राजपाका कार्यकर्ताले तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ।
घरदैलोमा गएका कनोडियालाई पुराएर फर्कीएको स्कारपियो गाडी माथि मंगलवार बिहान त्रिभुवन चोकमा ढुंगा प्रहार भएको बाँके प्रहरी उपरिक्षक टेकप्रसाद राईले जानकारी दिए।