निर्वाचनको विरोध गर्दै मधेशवादी दल राजपा आन्दोलनमा उत्रिएपछि सरकारवादी र विपक्षीदलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राजपालाई कसरी चुनावमा ल्याउने भन्ने बारे छलफल गर्न भन्दै प्रमुख विपक्षी दललाई छलफलमा बोलाएका हुन्।
सिंहदरबारस्थित सभामुखको कार्यालयमा सोमबार साँझ साढे ५ बजेदेखि बसेको बैठकमा सरकारवादी दल कांग्रेस,माओवादी केन्द्र र प्रमुख विपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरु रहेको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार बद्री सिग्देलले जानकारी दिए।
'चुनावमा राजपालाई पनि सामेल गराउने बारेमा प्रधानमन्त्री चिन्तित हुनुहुन्छ। संविधान संशोधन लगायतका विषय कसरी सम्बोधन गर्न सकिन्छ भन्नेमा विपक्षीसँग छलफल गर्न उहाँले नै बैठक डाक्नुभएको हो।,' उनले भने, 'अहिले सिंहदरबारमा तीनै दलका शीर्ष नेताहरु छलफल गरिरहनुभएको छ।'