सप्तरीमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले निर्वाचन अधिकृतहरुको तालिमस्थल घेराउ गरेका छन्। साथै त्यहाँ पुगेका मतदान अधिकृतहरुलाईसमेत धर्नास्थलमा राखेका छन्।
बिहान ११ बजे राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा आयोजना हुने तालिममा सहभागी हुन पुगेका सहायक मतदान अधिकृतहरुलाई राजपा कार्यकर्ताहरुले नियन्त्रणमा लिएर राखेका थिए।
आगामी असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि मतदान अधिकृतहरुलाई निर्वाचनसम्बन्धी तालिम राखिएको थियो । राजपा कार्यकर्ताहरुले करिब सात सयजनाको लागि आयोजना गरिएको तालिममा कसैलाई पनि प्रवेश गर्न नदिएपछि तालिम समेत स्थगित भएको छ।
संविधान संशोधन, जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या निर्धारण, मधेस आन्दोलनका क्रममा मारिएकाहरुलाई सहिद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार व्यवस्था सरकारले नगरेको भन्दै राजपा निर्वाचन विरोधी आन्दोलनमा छ।