आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले मधेश र थरुहट जिल्लामा स्थानीय चुनावका लागि उम्मेदवार पनि मनोनयन हुनै नदिने चेतावनी दिएको छ।
पार्टीका नेता राजेन्द्र महतोले मधेश र थरुहट जिल्लामा उम्मेदवारी मनोनयन हुनै नदिने चेतावनी दिएका छन्।
आईतबार स्थानीय तह दोस्रो चरणको निर्वाचनको मनोनयन हुँदैछ। तर त्यसो भए मुलुकमा रगतको खोलो बग्ने र त्यसको सम्पूर्ण जिम्मेवारी सरकार र ठूला तीन दलले लिनुपर्ने दावी समेत गरे।
नेता महतोले जब्बरजस्त चुनाव गराउन खोजे मुलुक गम्भीर दुर्घटनामा फस्ने पनि औँल्याएका छन्।
शनिवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दैै उनले प्रदेश नम्बर २ लाई मात्रै मधेश नठान्न पनि सरकारलाई सचेत गराए। दुई नम्बर प्रदेशलाई मात्रै मधेश ठानेर स्थानीय तहको निर्वाचन पछिसार्ने सरकारको निर्णय मुर्खतापूर्ण ढंगले आएको बताए।
नेता महतोले मुलुकलाई दुर्घटनाबाट जोगाउने जिम्मेवारी सरकार र प्रमुख तीन ठूला दलको काँधमा रहेको पनि उल्लेख गरे।