निर्वाचन आयोगले राजनीतिक दलहरुलाई पत्र काट्दै बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्न चेतावनी दिएको छ। आयोगले प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय फोरम र फोरम लोकतान्त्रिकलाई पत्र काटेको हो।
आयोगले दलहरुलाई लेखेको पत्रमा भनेको छ, 'राजनीतिक दलहरू एवं मातहतका संगठनहरू तथा भातृ संगठनहरूबाट विभिन्न राजनीतिक गतिविधिहरूमा बालबालिकाहरूको प्रयोग भएका आचार संहिता उल्लघंनका सूचनाहरू आयोगमा प्राप्त भएको हुँदा उल्लिखित तथ्यलाई मध्यनजर गर्दै केन्द्रीय कार्यालय र मातहतका जिल्लास्थित राजनीतिक संगठन तथा भातृ संगठनहरूलाई राजनीतिक गतिविधिहरूमा बालबालिकाको प्रयोग नगर्न/नगराउन लगायतका आचार संहिताको पूर्ण पालना गर्न/गराउन अनुरोध गरिएको छ।'
आयोगले बालबालिकाको प्रयोग गरेको विषयवस्तु समेतका सम्बन्धमा छानबिन गरी कारवाही गर्न बाजुराका मुख्य निर्वाचन अधिकृतलाई समेत निर्देशन दिएको छ।