मुस्लिमहरुको रमजान महिनामै स्थानीय चुनाव हुने भएपछि मुस्लिम उमेद्वारहरु ब्रतबस्दै चुनाव प्रचारमा खट्दै गरेकाछन्।
गुलरिया नगरपालिका वडा नं ६ मा काँग्रेसबाट वडा सदस्य पदका उम्मेदवार मोहम्मद अयुव हलुवाईले व्रत (रोजा) सँगसँगै निर्वाचन प्रचारप्रसारलाई पनि तिव्रता दिएका छना्।
'व्रतका बेला प्रचारप्रसार गर्न कठिन छ तर पनि लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा होमिएका हौँ,' उनले भने,'जनप्रतिनिधिविहीन स्थानीय तहमा प्रतिनिधि ल्याउन ब्रत बसेरै भए पनि लागि परेको छौं।'
सोही वडामा काँग्रेसबाट खुला महिला सदस्यका उम्मेदवार रेखा राईनलाई पनि रोजा र निर्वाचन भ्याईनभ्याई छ। दिनभरीको ब्रतमा भोको पेटका कारण उनी विहानै प्रचारप्रसारमा हिड्छिन्।
बीस वर्षको अन्तरालमा हुन लागेको स्थानिय तहको निर्वाचनले ल्याएको उत्साहले सबै थकान भुलाएको उनले बताए।
मुस्लिम महिला भएर खुला पदमा उम्मेदवारी पाएपछि गृहिणीको काम त्यागेर भएपनि प्रचारप्रसारमा हिडेँकी छु, रेखाले भनिन्। 'घरको चुलोचौको र वर्ष भरिको परम्परा थाँती राखेर निर्वाचनमा होमिएकी हुँ।' उनले भनिन्। रासस