न्याय सेवा आयोगले न्यायपरिषद्का सचिव नहकुल सुवेदीलाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पदमा नियुक्ति गर्न सिफारिस गरेको छ।
आज बसेको आयोग बैठकले उनलाई सर्वोच्चको मुख्य रजिष्ट्रार पदमा नियुक्ति गर्न सरकारलाई सिफारिस गरेको आयोग सदस्य तथा महान्यायाधीवक्ता रमण श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।
उक्त सिफारिस सरकारले स्वीकृत गरे उनी पहिलो मुख्य रजिष्ट्रार हुनेछन्। नयाँ संविधान जारि गरेपछि यो पद सिर्जना गरिएपनि पदपूर्ति भएको थिएन।
गएको माघमा उनी न्यायपरिषद्को सचिव नियुक्त भएका थिए। त्यसअघि सर्वोच्च अदालतको सहरजिष्ट्रारको रुपमा काम गरेका थिए।
आज बसेको आयोग बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार नृपध्वज निरौलालाई भने बेपत्ता छानविन आयोगमा र आयोगका सचिव राजनभट्टराईलाई न्यायपरिषद्मा पठाउने निर्णय गरेको छ। निरौला न्यायसेवाका सचिव हुन् भने भट्टराई कानुनसेवाका सचिव हुन्।
उनीहरुको सरुवासंगै कानुनसेवाका कर्मचारीलाई न्यायसेवा र न्यायसेवाका कर्मचारीलाई कानुन सेवामा पठाउने प्रचलन फेरि सुरु भएको महान्यायाधीवक्ता श्रेष्ठले भने।
‘पहिले पनि कानुनसेवाबाट न्यायसेवामा सरुवा गर्ने प्रचलन रहेछ। लामो समयको ग्याप पछि फेरि दुई सेवामा साटासाट भएको हो,’ उनले भने, ‘दुईसेवामा सरुवा नगर्नु भन्ने कानुन छैन।’