नेकपा एमालेले स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा सत्ताको दुरुपयोग भएको आरोप लगाएको छ।
'अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलालीलगायतका जिल्लामा राज्यसत्ताको दुरुपयोगबाट जनमतलाई प्रभावित पार्ने कोसिस गरिएको छ', एमालेले विज्ञप्ती जारी गर्दै भनेको छ, 'अछामको साँफेबगर नगरपालिका–७ स्थित सरस्वती मावि मतदान केन्द्रमा हुलहुज्जत गरी मतदान केन्द्र कब्जा गरिएको छ भने डोटीको केआई सिंह नगरपालिकामा पनि त्यस्तै गरिएको छ।'
एमालेले अछामको मेल्लेख, पञ्चदेवल नगरपालिकाको विनायक, बझाङको चैनपुर, कैलालीको बद्रगारियालगायतका ठाउँमा सत्ताको आडमा धाँधली भएको जनाएको छ।
पहिलो चरणको निर्वाचनमा भएको धाँधली छानबिनका लागि संसदीय समिति बनेको अवस्थामा पनि त्यस्तै रवैया अपनाइएको भन्दै एमालेले चिन्ता व्यक्त गरेको छ।
धाँधली गरिएका मतदान केन्द्रमा पुन: मतदानको माग पनि उसले गरेको छ। स्थानीय तहको निर्वाचनले संविधान कार्यान्वयनमा ठोस सहयोग पुगेको उल्लेख उक्त विज्ञप्तिमा भनिएको छ। साथै २ नंम्बर प्रदेशको निर्वाचन सारिएको बाट जनताको लोकतान्त्रिक अधिकार खोसिएको टिप्पणी गरेको छ।