५ नम्बर प्रदेशमा पर्ने रुकुमका ३ ओटा स्थानीय तहमा बुधबार भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
२४ हजार ४ सय ८१ मतदाता रहेकोमा त्यहाँ १९ हजार ७ सय ७९ जनाले मतदाता परिचय पत्र बुझेका थिए ।
जसमा १८ हजार २ सय ५८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत डण्डपानी शर्माले जानकारी दिए।
मतदानमा सहभागी हुनेमा पुरुषको तुलनामा महिला मतदाता बढी रहेका छन्।
९ हजार ९ सय ९७ महिला मतदाताले मतदान गरेका छन् भने ८ हजार २ सय ६१ पुरुष मतदाताले मतदानमा भाग लिएका छन् ।
यसैबीच जिल्लाका ३ ओटै स्थानीय तहमा शान्तिपुर्ण तवरले समयमै मतदान सकिएको थियो।
निर्वाचन आयोगले तोकेको समयअनुसार बिहान ७ बजेबाटै मतदान सुरु भएकामा अधिकांश मतदान केन्द्रमा दिउँसो २ बजेसम्म बिना कुनै अवरोध मतदान सम्पन्न भएको थियो। दिउँसो देखि नै मतदाता आउने क्रम रोकिएपनि समय तालिका अनुसार बेलुकी ५ बजेसम्म नै मतदान केन्द्रहरु खुला रहेका थिए। दिउँसो पानी पर्न सक्ने भन्दै मतदाताहरु समयमै मतदान केन्द्रमा पुगेको र मतदाता संख्या कम रहेका कारण पनि समयमै मतदान सकिएको मुख्य निर्वाचन अधिकृत शर्माले बताए।
यसैबीच बिहिबारबाट ३ ओटै स्थानीय तहमा मतगणना सुरु हुने भएको छ।
यहाँ मतदान सकिए लगत्तै मत पेटिका संकलन गर्न सुरु गरिएको छ।
मुख्य निर्वाचतन अधिृकत शर्माका अनुसार नजिकै रहेका मतदान केन्द्रबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ। तर टाढाको दुरीमा रहेका मतदात केन्द्रबाट पनि मत पेटिका लिएर निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको टोली हिँडिसकेको छ। टाढाको दुरीमा रहेका मत पत्र लिएर आउने टोली बुधबार बीच बाटोमै बास बस्ने जानकारी दिइएको छ।
बिहिबार दिउँसो १ बजे सम्ममा सबै मतदान केन्द्रबाट मत पेटिका संकलन गरी मत गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत शर्माले जानकारी दिए।
मत पेटिकालाई सुरक्षित रुपमा निर्वाचन अधिकृतको कार्यालय सम्म पु¥याउनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी वंशिकुमार आचार्यका अनुसार मत पेटिका संकलनका क्रममा कुनैपनि समस्या नहुने गरी सुरक्षा व्यवस्था मिलाईएको छ । सिस्ने गाउँपालीकाको रुकुमकोट, भुमे गाउँपालीकाको सिमा र पुथा उत्तरगंगा गाउँपालीकाको कोलमा मत गणना गरिने छ ।
१ सय ५५ जनप्रतिनिधि चुनिदैजिल्लाका ३ स्थानीय तहबाट १ सय ५५ जनप्रतिनिधि चुनिदै छन्।
गाउँपालीका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरी उक्त जनप्रतिनिधि चुनिन लागेका हुन् । ३ स्थानीय तहबाट कुल १ सय ६१ जनप्रतिनिधि चुनिनु पर्नेमा ६ जना वडा सदस्य भने यस अघि नै नर्विरोध निर्वाचित भैसकेका छन्।
भुमे गाउँपालीकामा ६ जना र पुथा उत्तरगंगा गाउँपालीकामा १ वडा सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । यसअघि नै जिल्लाका ६ स्थानीय तहमा बैशाख ३१ मा नै निर्वाचन सम्पन्न भईसकेका छन । जिल्लाका मुसिकोट,चौरजहारी,आठविसकोट नगरपालिका र बाँफिकोट, सानीभेरी त्रिवेणी गाउँपालिकामा निर्वाचन पहिलो चरणमा नै भएको हो ।
तस्विर: गणेश खनाल , रुकुम ।