पाँच नम्बर प्रदेशको पाल्पामा नेकपा एमालेले बर्चश्व कायम गरेको छ। तानसेन नगरपालिकासहित अधिकांश स्थानीय तहमा एमालेले जीतको झण्डा गाडेको हो। १० मध्ये ९ स्थानको परिणाम सार्वजनकि भएको छ। ६ वटामा एमालेले जितेको छ काँग्रेस ३ तहमामात्र सिमित भएको छ।
रामपुरमा भने गणना जारी छ। त्यहाँ एमालेका उम्मेद्वार राजुप्रसाद श्रेष्ठ अगाडि छन्।
तानसेनमा एमालेका अशोककुमार शाहीले ७६७१ मत ल्याएर विजयी भएका छन्। उनले कांग्रेसका अजयमान कर्मचार्यलाई पराजित गरेका हुन्। कर्मचार्यले ५५१७ मत ल्याए। उपमेयरमा समेत एमालेकी लक्ष्मी पाठक विजयी भएकी छिन्।
त्यस्तै पाल्पाको तिनाउ गाउँपालिकाबाट एमालेका अमबहादुर घर्ती, निस्दीबाट मुक्तबहादुर सारु र पूर्वखोलाबाट नुनबहादुर थापा विजयी भएका छन्।
त्यसैगरि रम्भाबाट विष्णुप्रसाद भण्डारी विजयी भएका छन् भने रिब्दीकोटबाट नारायणबहादुर जिसीले जीत हात पारेका छन्। रम्भामा उपाध्यक्षमा एमालेकै राधाकुमारी श्रेष्ठ विजयी भएकी छिन् भने रिब्दीकोटमा एमालेकै लक्ष्मी खनाल निर्वाचित भएकी छिन्।
नेपाली कांग्रेसले पाल्पाको तीन स्थानमा जीत निकालेको छ। पाल्पाको माथागढी गाउँपालिका, रैनादेवी छहरा र बगनासकली गाँउपालिकामा कांग्रेसले जीत हात पारेको छ। कांग्रेसका सन्तोषकुमार थापा माथागढीबाट विजयी भएका छन्।
त्यस्तै रैनादेवी छहरामा नेपाली कांग्रेसका राबहादुर कार्की विजयी भएका छन्। बगनासकली गाउँपालिकामा पनि कांग्रेसकै कृष्णप्रसाद बस्याल निर्वाचित भएका छन्।