उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आफ्ना भारतीय समकक्षी सुष्मा स्वराजको निमन्त्रणामा भारतको तीन दिवसीय भ्रमणमा आईतबार बिहान प्रस्थान गरेका छन्।
भ्रमणका क्रममा उनले बाह्य मामिलामन्त्री स्वराजसँग पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नयाँदिल्लीमा रहँदा उपप्रधानमन्त्री महराले नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतसँग सामूहिक भेट गरी राष्ट्रसङ्घीय मानवअधिकार परिषद् सदस्यमा नेपालको उम्मेदवारीबारे जानकारी गराउनाका साथै नेपाललाई समर्थन गर्न उनीहरूसँग अनुरोध गर्नेछन्।
मन्त्री महरा नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसङ्घ महाशाखा प्रमुख भरतराज पौड्याल, भारत महाशाखा प्रमुख भृगु ढुङ्गानालगायत छन्। उपप्रधानमन्त्री महरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीलगायतले बिदाइ गरे। उपप्रधानमन्त्री महरा आगामी मंगलबार स्वदेश फर्कने कार्यक्रम छ। रासस