ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ को लागि विकासतर्फ पौने तीन अर्ब रुपैयाँ विनियोजन गरेको छ। शनिबारदेखि सुरु भएको पहिलो नगरसभामा महानगरका प्रमुख चिरीबाबु महर्जनले प्रस्तु गरेको नीति तथा कार्यक्रम र बजेटमा विकास निर्माण (पुँजीगत) को लागि २ अर्ब ७९ अर्ब रुपैयाँ विनियोजन गरेका छन्।
कुल ३ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको महानगरको बजेटमा चालु (प्रशासनिक) तर्फ भने ४३ करोड १२ लाख रुपैयाँ बिनियोजन गरिएको छ। प्रतिशतको हिसाबले महानगरले ८६ प्रतिशत पुँजीगत र १४ प्रतिशत चालु खर्चको लागि बजेट विनियोजन भएको छ।
महानगरभित्र पूर्वाधार विकास तथा सम्पदा संरक्षणलाई केन्द्रविन्दु मानेर बजेट ल्याइएको मेयर महर्जनको भनाइ छ।
जनतालाई सेवा सुविधा दिने, दिगो विकास गर्ने दीर्घकालिन लक्ष्यसहित बजेट तथा कार्यक्रम तर्जुम्मा गरिएको महर्जनको भनाई छ।
महर्जनले महानगरभित्रका व्यवस्थापनदेखि पूर्वाधार निर्माण, निर्माणको तयारी तथा संरक्षणको लागि बजेट विनियोजन गरिएको बताए। उनका अनुसार जनतालाई छिटो छरितो सेवा सुविधा उपलब्ध गराउनको लागि नीति तथा कार्यक्रमले निर्देश गरेको र पुरा गर्न सकिने खालका कार्यक्रममात्र समेटिएको छ।
बजेटको स्रोतको रुपमा आन्तरिक आम्दानी १ अर्ब २२ करोड रुपैयाँ प्रक्षेपण गरिएको छ। नेपाल सरकारको सशर्त अनुदान, अनुदान, विदेशी अनुदान तथा विभिन्न कार्यक्रमबाट गरी अन्य स्रोत सहजै जुट्ने मेयर महर्जनले विश्वास व्यक्त्त गरेका छन्।