मंसिरमा हुने प्रदेश र केन्द्रीय चुनावमा तालमेल गर्ने सहमति गरेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले नेपाली कांग्रेससँग पनि तालमेल गर्ने बताएका छन्।
समाजवादी फोरमका संसदीय दलका नेता अशोक राईले फोरम–राजपाले कांग्रेससँग पनि तालमेल गर्ने बताए। ‘कार्यदल छलफल गर्दै छ, हामी गठबन्धन त कसैसँग गर्दैनौं तर चुनावी तालमेल भने कांग्रेससँग पनि गर्छौं,’ राईले भने।
राजपा नेता मनिष सुमनले सेतोपाटीसँग कुरा गर्दै फोरमसँग तालमेल गर्नुका पछाडि मुख्य दुई कारण रहेको बताए।
‘पहिलो कुरा तेस्रो चरणको स्थानीय निर्वाचनमा जनताले हामीलाई दिएको मत हो,’ सुमनले भने, ‘जनतामात्र होइन नेता कार्यकर्ताले पनि दुबै पार्टी मिल्नु पर्छ भनिरहेका थिए।’
सुमनले फोरमसँगको तालमेल अर्को कारण कांग्रेसको नेतृत्वमा बन्ने लोकतान्त्रिक गठबन्धन भएको बताए। ‘अब हाम्रो बलियो अवस्थामा भयौं यसले कांग्रेससँगको गठबन्धन गर्दा हामीलाई झन् सजिलो हुन्छ,’ सुमनले भने।
उनले फोरमसँगको तालमेलले चुनावमा कांग्रेससँगको गठबन्धन नरोकिने बताए। कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका लागि कार्यदल समेत बनिसकेको छ। ‘कार्यदलको बैठकमा दुबै पार्टी प्रतिनिधि जानुहुन्छ, तर उहाँहरूको धारणा साझा हुन्छ,’ सुमनले भने।
उनले फोरमसँगको अहिलेको चुनावी तालमेलले चुनावपछि दुई पार्टी एकीकरणको दिशामा जाने बताए।
‘चुनावअघि समय अभावका कारण त्यो विषयमा छलफल हुन्न तर चुनाव पछि हामी दुई पार्टी एकीकरणको विषयमा पनि छलफल गर्छौं,’ सुमनले भने।