नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. रामशरण महतले तत्काल नेकपा माओवादी केन्द्रका मन्त्री बर्खास्त गर्न नहुने स्पष्ट पारेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले मुलुक अहिले चुनावको मुखमा भएकोले यस्तो बेला सरकार फेरबदल र मन्त्रीहरु हटाउने वा थप्ने काम गर्न नहुने बताएका हुन्। महतले भने,‘चुनावको मिति घोषणा भैसकेको छ, अहिले सरकार तलमाथि गर्नहुन्न, यसले अस्थिरता निम्तिन्छ।’
उनले भने,‘सत्तारुढ दल नेकपा माओवादी केन्द्रले यसरी विपक्षी दलसँग चुनावी तालमेल र वाम गठबनधन बनाउने निर्णय गरेपछि मन्त्रीहरु हटाउनुपर्ने विषयमा आवाज उठेको छ, तर कांग्रेसमा अहिले मन्त्रीहरुलाई बर्खास्त गर्नेबारे छलफल नै गरेको छैन, कुनै निर्णय भएको छैन, हामीले अहिले त्यतातिर ध्यान दिएका छैनौं, यदि त्यसो गरियो भने झनै जटिल समस्या आउँछ, चुनावलाई असर पर्छ।’
साक्षात्कारमा बोल्दै उनले माअाेवादीका तर्फबाट बनेका मन्त्रीहरु हटाउने वा नहटाउने भन्नेबारे प्रधानमन्त्रीले निर्णय गर्ने कुरा भएको बताए।
वाम गठबन्धनसँग भीड्नको लागि आफूहरु तयारी अवस्थामा रहेको महतको खुल्ला चेतावनी थियो । उनले भने,‘हामी वाम गठबन्धनसँग चुनावमा भीड्नको लागि तयारी अवस्थामा छौं, अब कांग्रेस एक भएर जान्छ।’ यद्धपी उनले कांग्रेस एक्लै बलियो भएपनि चुनावमा अर्को गठबन्धन बनिसकेकोले आफूहरु पनि एकजुट भएर जानको लागि लोकतान्त्रिक मोर्चा बनाएको स्पष्ट पारे ।