नेपाली कांग्रेसले प्रतीपक्षी नेकपा एमालेसँग गठबन्धन गर्ने निर्णय गरेर सत्ता साझेदार माअोवादी केन्द्रले दुई पार्टीबीच भएको तीन बुँदे सहमति तोडेको बताएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकले माअोवादीको एमालेसँग गठबन्धन गर्ने निर्णयले गत वर्ष नयाँ सत्ता समिकरण बन्दा भएको सहमति तोडिएको ठहर गरेको हो।
'प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति समेत तोकी त्यसलाई आवश्यक पर्ने महत्वपूर्ण कानुनी व्यवस्था सुनिश्चित भैसकेको अवस्थामा हठात माओवादी केन्द्रको एमालेसँग चुनावी तालमेल गर्ने निर्णयलाई हामीले अस्वभाविक रूपमा लिएका छौं,' बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, 'एमाले र माओवादी केन्द्रवीच भएको ६ वुँदे सहमतिले सरकारको वर्तमान गठवन्धन निर्माण गर्दा भएको ३ वुँदे सहमति माओवादी केन्द्रले तोडेको यो बैठक ठहर गर्दछ।'कांग्रेसले संविधान कार्यान्वयन, रािष्ट्रय एकता र विभिन्न जाति तथा समुदायबीचको सद्भाव र विश्वासका आधारमा देशलाई सम्वृद्धि र विकासको मार्गमा अगाडि बढाउने भन्दा पनि विभाजनको मानसिकतालाई प्रोत्साहन गर्दै लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक सद्भाव समेतलाई कमजोर पार्नेतर्फ उन्मुख हुँदै आएको नेकपा एमालेसँग माओवादी केन्द्रले गरेको सहकार्यले देशलाई अनावश्यक रूपमा ध्रुवीकरणतर्फ धकेलेको निष्कर्ष निकालेको छ।बैठकले एमाले- माअोवादीको
लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर पार्दै निरकुंशता र अधिनायकवादलाई प्रोत्साहित गर्ने, सामाजिक सद्भाव र एकतालाई कमजोर गर्दै राष्ट्रिय एकतालाई कमजोर पार्ने, विधिको शासनमा आधारित लोकतान्त्रिक पद्धतिमार्फत् देशमा सम्वृद्धि सृजना गर्दै आम जनताको पहुँचमा पुर्याउने सोचलाई कमजोर पार्ने प्रवृत्तिलाई दृढताका साथ सामना गर्ने बताएको छ। 'यी प्रवृत्तिलाई हामी पराजित गर्ने छौं,' विज्ञप्तिमा भनिएको छ, 'विकसित परिस्थितिवाट नेपाली कांग्रेस विचलित नभई राष्ट्रिय एकता, लोकतान्त्रिक शासन, शान्ति प्रकृया र संविधान कार्यान्वयनमा जिम्मेदारीका साथ अगाडि बढ्न प्रतिवद्ध रहेको स्पष्ट पार्न चाहन्छौ।'अनपेक्षित र अस्वभाविक घटनाक्रमबाट विकसित परिस्थितिमा, मुलकमा प्राप्त उपलव्धिको संरक्षण र सम्वर्द्धन गर्न तथा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराई संविधानको कार्यान्वयन तथा मुलुकमा राजनीतिक स्थायित्व कायम गरी आर्थिक सम्वृद्धिको मार्गमा मुलुकलाई अगाडि वढाउने राष्ट्रिय दायित्व र जिम्मेवारी पुनः अाफ्नो काँधमा आइपरेको भन्दै कांग्रेसले यो दायित्व र जिम्मेवारी पूरा गर्न सबै लोकतान्त्रिक, राष्ट्रवादी र प्रगतिशील राजनीतिक शक्तिहरुका बीचमा आपसी सद्भाव कायम राख्दै सहकार्य र आवश्यकता अनुसार चुनावी तालमेल गरी अगाडि वढ्ने निर्णयसमेत गरेको छ।
गत मंगलबार एमाले र माअोवादी केन्द्रले चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति सार्वजनिक गरेपछि पहिलो पटक कांग्रेस केन्द्रीय समिति बैठक बसेको हो।
यसैबीच बैठकले असोज २७ गतेसम्म प्रदेश र प्रतिनिधि सभाका उम्मेद्वारको टुंगो लगाइसक्ने निर्णय पनि गरेको छ।
'पुनसंरचित ठूलो भूगोल सहितका निर्वाचन क्षेत्र तथा अत्यन्त कम समयावधि भएका कारण यही २०७४ आश्विन २७ गतेभित्र प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका सबै उम्मेदवारहरुको नाम टुंगो लगाई सक्ने निर्णय गर्दछ,' विज्ञप्तिमा भनिएको छ, 'प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार चयन गर्न बरिष्ठ नेता लगायत साथीहरुसँग आवश्यक परामर्श गरि संसदीय समिति गठन गर्न पार्टी सभापतिलाई अधिकार दिने निर्णय गर्दछ।'