नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को पाँचौं बैठक काठमाडौमा सुरु भएको छ।
काठमाडौको एक होटलमा जारी बैठकमा नेपालतर्फबाट संयोजक डा. भेषबहादुर थापा तथा सदस्यहरू डा. राजन भट्टराई, नीलाम्बर आचार्य र सूर्यनाथ उपाध्याय सहभागी छन्।
यस्तै भारतबाट संयोजक भगतसिंह कोसियारी सदस्यहरू डा. बिसी उप्रेती र महेन्द्र पी लामा सहभागी छन्। भारततर्फका सदस्य पूर्वराजदूत जयन्तप्रसाद भने अनुपस्थित छन्। स्वास्थ्यमा आएको समस्याको कारण जयन्तप्रसाद उपस्थित हुन नसकेको भारतीय दूतावासले जनाएको छ।
गत भदौमा बस्नु पर्ने बैठक नेपाल भारत दुबैतर्फका सदस्यहरुको ब्यस्तताको कारणले आजबाट सुरू भएको हो। नेपाल-भारतबीच भएका विभिन्न सन्धि सम्झौताहरुको समयानुकुल परिमार्जन गर्न दुई वर्ष अगाडि यो समूहको गठन भएको हो। १९५० को मैत्री सन्धि , व्यापार तथा पारवहन सन्धि र जलस्रोतसम्बन्धी विभिन्न सन्धि–सम्झौतामा छलफल गरी दुबै देशको सरकारलाई सुझाव दिनेगरी नेपाल–भारत प्रवुद्ध समूह गठन गरिएको हो।
आजबाट सुरु बैठकमा नेपालले १९५० को मैत्री सन्धिमा परिमार्जन गर्नुपर्ने विषयलाई अन्तिम रूप दिने गरी तयारी गरेको छ भने भारत पक्षले दुई देशको सीमा सुरक्षा र व्यवस्थापनबारे छलफलको एजेन्डा बनाएको बताइएको छ।