स्थानीय तहको निर्वाचन भएको तीन महिना बितिसक्दा पनि वडा कार्यालय स्थापना हुन नसक्दा अमरगढी नगरपालिकाका सेवाग्राहीलाई सास्ती भएको छ ।
११ वडा रहेको अमरगढी नगरपालिकाका हालसम्म १ वडाको मात्रै कार्यालय स्थापना भए पनि व्यवस्थापन भने हुननसकेको जन निर्वाचित प्रतिनिधिको भनाइरहेको छ । सो नगरपालिकामा व्यवस्थित रुपमा एउटा पनि वडा कार्यालय स्थापना हुनसकेको छैन, भने भित्री मधेशमा रहेको परशुराम नगरपालिकाका १२ वडामध्ये ८ वडाका कार्यालय स्थापना भएका र बाँकी चारवटा वडाका कार्यालय भने चाँडै स्थापना गरिने परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले जानकारी गराए।
नगरपालिका जस्तै कतिपय गाउँपालिकामा पनि वडा कार्यालय स्थापना हुनसकेका छैनन् । भागेश्वर गाउँपालिका– ५ सिराडमा कार्यालय कुन स्थानमा राख्ने भन्ने विषयमा स्थानीयस्तरमै विवाद आउँदा कार्यालय राख्न नसकेको जनाइएको छ । वडा कार्यालय स्थापना नहुँदासम्मका लागि गाउँपालिकाको कार्यालयबाट नै सेवा दिइरहेको छ । कतिपय स्थानमा पुरानै भवन हुँदा सेवा सुचारु भएका छन् भने नयाँ घोषणा गरिएका वडामा कार्यालय राख्न समस्या भएको छ । आलिताल गाउँपालिका, गन्यापधुरा, नवदुर्गा र अजयमेरु गाउँपालिकामा थप भएका वडामा कार्यालय स्थापना गर्न समस्या भएको छ ।
अमरगढी नगरपालिकाको भवनमा कोठाको अभाव हुँदा सेवाग्राहीलाई मात्रै नभइ वडा अध्यक्षलाई समेत कामकाज गर्नका लागि समस्या हुने गरेको छ । वडा अध्यक्ष चौतारामा बसेर काम गर्न बाध्य भएका जनप्रतिनिधिको भनाइ छ ।
अमरगढी नगरपालिका उप प्रमुख संगिता भण्डारीले भने वडा कार्यालय स्थापनाका लागि निर्णय गरिसकेकाले तत्काल वडा कार्यालय स्थापना गर्नका लागि पहल शुरु भइसकेको बताए।
परशुराम नगरपालिकामा रहेका दुर्गम वडामा कार्यालय स्थापना गरी कामकाज शुरु गर्नुपर्ने र जनताले घरदैलामा नै सेवा पाउनुपर्ने सर्वसाधारणहरुको भनाइ रहेको छ।( रासस )