चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले वाम गठबन्धनसँग आगामी चुनावमा तालमेल गर्ने भएको छ।
शनिबार सेतोपाटीसँग कुरा गर्दै जनमोर्चा अध्यक्ष केसीले पार्टीले आधिकारिक निर्णय गरिनसकेको भए पनि मंसिरको संघीय र प्रदेशको चुनावमा पार्टीले एमाले–माओवादी गठबन्धनसँग तालमेल गर्ने बताए।
‘यसअघि पनि तालमेल गर्दै आएका थियौं यसपालि पनि एमाले–माओवादीसँग तालमेल हुने सम्भावना छ,’ केसीले भने, ‘चुनावमा तालमेल गरे पनि हामी उनीहरुसँग पार्टी एकीकरण भने गर्दैनौं।’
उनले दुई पार्टी एक हुनु स्वागतयोग्य कुरा भए पनि नयाँ बन्ने पार्टी साँचो कम्युनिष्ट नहुने बताए। ‘उनीहरुको विचार, भान्सा, पहिरन सबै एकै थियो अलग मात्र बसेका थिए,’ केसीले भने, ‘सबैथोक मिल्नेले अलग बस्नुभन्दा सँगै बसेको राम्रो हो। यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं तर उनीहरुको पार्टी एकीकरण गर्ने गठबन्धनमा हामी भने जाँदैनौं।’
उनले एमाले–माओवादी मिलेर बन्ने पार्टी नाममात्रको एकै कम्युनिष्ट पार्टी हुने बताए। ‘धनसुको केही नभएको मान्छेको नाम धनबहादुर हुन सक्छ, आँखा नदेख्नेको नाम नजरमान हुन्छ, यो पनि त्यस्तै हो, नाम राख्दैमा कम्युनिष्ट भइँदैन, चालचलन र व्यवहारमा हुनुपर्छ,’ केसीले भने।
यसअघि नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालले आगामी चुनावमा तालमेल गर्न गठबन्धन बनाएका थिए। उनीहरुबीच चुनावपछि पार्टी एकीकरण सहमतिसमेत बनेको छ।