आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न विद्यार्थी संगठनका पदाधिकारीहरू उम्मेदवार सिफारिस भएका छन्।
नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा एमाले निकट अनेरास्वीयुका विद्यार्थी नेताहरु सिफारिस हुँदा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरु सिफारिसमा परेका छैनन्।
नेविसंघ अध्यक्ष नैनसिंह महरलाई नेपाली कांग्रेस डडेल्धुराले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य दुवैको लागि सिफारिस गरेको छ।
एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेल्धुराले उनलाई समानुपातिकमा सिफारिस गरेको हो। २ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराले उनलाई क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सिफारिस गरेको हो।
महर नेविसंघ डडेल्धुराका पूर्वअध्यक्ष तथा डडेल्धुराबाट निर्वाचित कांग्रेस महासमिति सदस्यसमेत हुन्। प्रतिनिधिर प्रदेशसभा दुवैमा सिफारिस हुने महर एक मात्र विद्यार्थी नेता हुन्।
कांग्रेसबाट नेविसंघकी उपाध्यक्ष उर्मिला थपलिया धादिङ क्षेत्र नम्बर २ (ख), नविन राई ओखलढुङ्गा १ नम्बर क्षेत्रबाट, तेज बानियाँ सिन्धुपाल्चोक २ नम्बर क्षेत्रको प्रत्यक्षतर्फ सिफारिस भएका छन्।
नेविसंघका ८० भन्दा बढी पदाधिकारी प्रतिनिधिसभा र प्रदेशसभाको उ उम्मेदवारका लागि सिफारिस भएको प्रवक्ता युपी लामिछानेले सेतोपाटीलाई बताए।
त्यसैगरी अनेरास्ववियुकी अध्यक्ष नविना लामा नेकपा एमालेबाट प्रदेशसभाका लागि काभ्रे क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सिफारिस भएकी छन्।
लामा अनेरास्ववियूकी २२ औं अध्यक्ष हुन्। उनी १२ वर्षको उमेरदेखि निरन्तर राजनीतिमा छिन्। ०६० सालको स्ववियू निर्वाचनमा बानेश्वर क्याम्पसको सचिव पदमा निर्वाचित हुँदै लामाले राजनीतिक यात्रा अगाडि बढाएकी थिइन्।
प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले सर्लाही क्षेत्र नम्बर १ बाट अनेरास्ववियू नेतृ राधिका खतिवडा, झापा क्षेत्र ४ को (क) बाट तुलसीराम मैनालीलगायतलाई सिफारिस गरेको छ।
अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ भने आगामी निर्वाचनका लागि सिफारिसमा परेका छैनन्।
माओवादी केन्द्रनिकट विद्यार्थी संगठन (अखिल क्रान्तिकारी)को अध्यक्ष रहेका उनले आगामी निर्वाचनमा अन्य आकांक्षीलाई बाटो खोलिदिनका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रस्ताव आए पनि अस्वीकार गरेको बताए।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आफ्नो संगठनका कोही पनि पदाधिकारी सिफारिस नभएको उनले जानकारी दिए।