नाटक समीक्षा
केही कृतिहरूमा समय लेखिन्छ। जब जब त्यो समय आउँछ कृति ब्युँझिन्छन्। त्यसलाई हामी कालजयी कृति भन्छौं।
जर्ज अर्वेललाई हेरौं। डोनाल्ड ट्रम आउनासाथ 'बेस्टसेलर' भएको उनको ‘१९८४’ होस् वा भर्खरै चीनमा प्रतिबन्ध लागेको ‘एनिमल फार्म’। ती किताब बिउजस्तै भएका छन् जुन उपयुक्त मौसममा उम्रिन्छन्।
मलाई ‘ययाति’ त्यस्तै लाग्यो।
म यो नाटक निम्न अवस्थाहरूमा हेरिरहेको छु।
नेपालका प्रधानन्यायाधीश चार-चारवटा जन्ममिति भएको सार्वजनिक भइसक्दा पनि पद नछाडी बसेका छन्। उनी अझ आफूमाथि परेको मुद्दा आफैं हेरेर न्यायिक परम्पराको खिल्ली उडाउँदै छन्।
चुनावी समीक्षा गर्न बसेको कांग्रेस बैठकमा नेतृत्व छाड्ने भन्ने सोच आएकै छैन। दिनदिनै वृद्ध हुँदै गरेका नेताहरू झन् जवान हुँदै गइरहेका छन्। उनीहरूलाई न पदको लालसा सकिएको छ न त सत्ताकै। शेरबहादुर देउवा भर्खरै संसदीय दलका नेता चुनिए।
यी नेताहरु पद हानथापमा जति अगाडि छन्, काम गर्नमा उति सुस्त। पटकपटक चुनावमा बन्छ भनेर बाचा गरिएका दसौं विमानस्थल अहिले पनि निर्माणाधीनै छन्। कर्मचारीतन्त्रको अवस्था उस्तै छ। प्रदेशमा जानू भनेर आदेश आइसक्दा पनि अटेर गरेर बसेका छन्। देशै संघीयतामा गइसक्दा पनि केन्द्रीय प्रशासकहरु आफूसँग भएका अधिकार फुत्किएर जान नदिने पक्षमा छन्। राष्ट्रपतिको कार्यकाल थपिएको छ। सबैलाई आफूले पाइरहेको चिज गुमाउनु छैन। त्यसका लागि जे गर्न तयार छन्।
त्यसरी नै ययातिलाई आफ्नो यौवन कुनै हालतमा फुत्किएर जान दिनु छैन। उनी त्यसका लागि आफ्नो छोराको यौवन बलिदान गर्न तयार छन्। नाटकमा चित्रलेखाले ‘मानिसहरू अचम्मैले शान्त छन्, लाग्छ यताउति केही भइरहेकै छैन’ भनेजस्तै नेपालमा पनि मानिसहरू अचम्मैले शान्त छन्।
मैले वर्तमान नेपालका धेरै पात्र 'ययाति' नाटकको प्रमुख पात्र ययातिमा पाएँ। ययाति त हामीसँगै पो रहेछन्!
ऊ आफ्नो उमेर सदाबहार राख्न चाहन्छ। ऊ चाहन्छ उसको जीवन सधैं हराभरा रहोस्। उसको पराक्रमका हरिया पात कहिल्यै नझरुन्। वरपर मानिस त्यसरी नै घुमिरहून्, जसरी रानीको वरपर मौरी घुम्छन्। उसको यौन इच्छा त्यसरी नै पूरा भइरहोस्। ऊ त्यस्तो शक्तिशाली रहोस्, जसको अगाडि नैतिकताका धुन आफैं बन्द होऊन्। मानवताका मैदान आफैं अतिक्रमण होऊन्। ऊ त्यस्तो होस्, जो ऊभन्दा पहिला कोही थिएन र ऊभन्दा पछाडि पनि कोही हुने छैन।
उसको जीवनको रथ त्यसरी नै दौडियोस्।
तर, ऊ वर्तमानमा छ। उसले बचाउन खोजेको समय भूतकाल हो। ऊ भूतकाललाई वर्तमान हुँदै लम्ब्याएर भविष्यसम्म लैजान चाहन्छ। समयको आधारभूत नियमलाई चुनौती दिन चाहन्छ। वर्तमान बलियो भइरहन उसलाई आउने भविष्यको हेक्का हुनुपर्छ। तीव्र गतिमा हुइँकिएको सवारीलाई बाटोमा आउन सक्ने खाल्डो वा घुम्तीको पनि हेक्का हुनुपर्छ।
नाटकको पोस्टर सम्झिनुभयो होला। त्यहाँ एउटा रथको पाङ्ग्रो आधा भाँचिएको छ। त्यो पाङ्ग्रो गुड्न नसक्ने अवस्थामा छ।
ययाति हुइँकिइरहेको रथमा बसेको उँचो शिर पनि हो, र टुक्रिएको रथको पांग्रा पनि हो।
ययाति सधैंभरी ययाति भइरहन सक्दैन। यो कुरा नेपालका ययातिहरूलाई पनि थाहा छ।
ययातिको विकल्प भेटिँदैन। ययातिहरू गैरययातिलाई आफूजस्तै बनाउँदै जान्छन्। नबने सिध्याउँदै जान्छन्।
एकपल्ट सम्झिनुहोस् नेपालका पार्टीका बूढा नेता र युवा नेताहरूलाई। वा, सम्झिनुस् भर्खरै अधिकृत बनेका जवान र रिटायर्ड भएका सचिवलाई। जताततै ययाति नै ययाति छन्। उनीहरू आफ्नो सिस्टममको ययातिलाई चिन्छन् तर सिस्टमले उनीहरूको आँखा थुनिदिन्छ। उनीहरू पुरु बन्छन्।
हामीकहाँ ययातिको 'मास प्रोडक्सन' भइरहेको छ।
नाटकको दृश्य खुल्दा दरबारको पिलर देखिन्छ। ती पिलर कुनै ढलेका छन् त कुनै कुच्चिएका छन्। मैले सिंहदरबारको रेट्रोफिट गर्न ठिक पारिएको भवनका पिलर सम्झिएँ।
राजा सुत्ने ओछ्यानमा माथिल्लो पिलरदेखि फैलिएर आएको एउटा लामो रातो सारीको लर्को छ। त्यो पलङको वल्लो छेउसम्मै आइपुगेर घुमेको छ। ती ययातिले आफ्नो सञ्जिवनी यौवनले जोडेका धेरै महिलाको आँसुका लर्का हुन्, जो रानी बनाउने आवेगमा जोडिँदै गए। ती पीडाका पहाड हुन्। त्यहाँ आएर कयौं सारी जोडिए। कयौं कुमारीत्व मैलिए। ती सबै अहिले पनि जोडाइरहेका छन्।
मैले भूकम्प पीडितहरूको बर्खा, हिउँ र जाडो झेलेका छानोका लहर सम्झिएँ। ती सबै छानोह आपसमा गाँसिँदै गाँसिँदै थपिएका छन्। राजनीति गर्नेहरूले हरेकपल्ट आउने चुनावमा अपडेट गरेका तर कहिल्यै पूरा नगरेका प्रतिबद्धताको पहाडमा थिचिएका छन् ती। पटकपटक थिलथिल भएर पनि थपिइरहन्छन्।
ययातिहरू हरेकपल्ट तिनलाई बेवास्ता गरेर आफ्नो दुनो सोझ्याउन लागिपरेका छन्। आफ्नो घेरा बलियो पार्नमै सीमित छन्। नाटकमा सम्बन्ध राखिरहेका बेला श्रीमतीले रंगेहात समात्न लागेको थाहा पाएर आत्तिएको ययातिलाई सर्विष्टा भन्छे, ‘चिन्ता नगरिसेला महाराज हजुरका दासीहरूलाई यस्तो संकट धेरैपल्ट आइपरेको छ।’
मैले अदालत सम्झिँए। अदालतमाथि पनि त यस्तो संकट धेरैपल्ट आएको हो। अख्तियार सम्झिएँ। अनुगमन भ्रमण सम्झिएँ। खोज पत्रकारहरूलाई सम्झिएँ। अवस्था जस्ताको तस्तै छ। ती सबै ययातिहरूका सामुन्ने दासीजस्तै भइसके जसलाई अब बानी परिसकेको छ। त्यसैले त उनीहरू त्यसविरुद्ध बोल्न सक्दैनन्। केवल 'म्युट' भइदिन्छन्। ययातिका सुसारेजस्तै।
यहाँ एउटै कुरा छ, र त्यो हो यौवन। यौवन र सत्ता एउटै देखिन्छन्। उसले छोरोबाट यौवन लिन खोजेको केवल यौवनको लागि हैन। ऊ सत्ता नै चाहन्थ्यो। शक्ति पनि चाहन्थ्यो।
बिहे गरेर फर्किएपछि ययातिको छोरो पुरू दरबारको खोपीमा आउँछ र भन्छ, ‘भित्ताको पनि कान त हुन्छ भन्छन्। तिनीहरूको आवाज हुने भए यहीँ बस्न हुन्थ्यो।’
उनले त्यस्तो भन्दै गर्दा मैले बालुवाटार र राजदरबारका भित्ता सम्झिएँ। तिनीहरू पनि बोल्न पाउने भए के के भन्थे होलान्?
पुरूलाई आफ्नो वंशको पराक्रम पनि चाहिएको छैन। ऊ केही लिन चाहेको छैन, र पनि ऊसँग जबरजस्ती मिसिएको छ। उसलाई ययातिको पुत्र हुनुको बोझ छ। उसलाई पुर्खाको बाटोमा हिँड्नु छैन, तर पनि विवश छ। जसरी धेरै नेपालीलाई बाउजस्तै डाक्टर वा इन्जिनियर हुनुको बोझ छ। जेठानजस्तै भ्रष्टाचारी वा छिमेकीजस्तै ठेकेदार बन्नुपर्ने बोझ छ। पैसा कमाउनुपर्ने बोझ छ, विदेश जानुपर्ने बोझ छ। हाम्रो समाजमा बढ्दै गरेका यी बोझ र पुरूको काँधमा थोपरिएको पुर्खाको गौरवको बोझ मिल्छन्।
ययाति बन्न नचाहने पुरूहरू पनि त नेपालमै रहेछन्। हामी दिनदिनै पुरूहरूको पनि 'मास प्रोडक्सन' गर्दै छौं।
ययाति र हामी धेरै मिल्छौं। त्यहाँ सम्बन्धहरू स्वार्थका छन्। यहाँ पनि सम्बन्धहरू स्वार्थका छन्। उनीहरू जे देखिएका छन् ती हैनन्। यहाँ जे देखिएका छन् ती पनि हैनन्। त्यहाँ पुरूको यौवन बाबुले लुट्छ, यहाँ युवाको यौवन नेताहरूले लुट्छन्। ययातिलाई बुढ्यौली स्वीकार छैन, यहाँ पनि त्यस्तै छ।
ययाति भन्छ, ‘आफ्नो यौवन पाउँछु भने म उसलाई राज्य पनि दिन तयार छु।’ यहाँ पनि राष्ट्रिय हितका निर्णय गर्दा धेरैपल्ट त्यसै भनिए होलान्।
त्यहाँ एक पात्र चित्रलेखा छिन्, जो बुहारी बनेर आएकै दिन दरबारको खोपीमा महारानीको पोतेबाट झरेका मंगलसुत्रको रत्न र विषको बट्टा भेट्छिन्। यहाँ ऊजस्तै धेरै बुहारी छन्, जो घर भित्रिएकै दिनदेखि दाइजोको निहुँमा कुटिन्छन्।
एउटा दृश्यमा चित्रलेखा सुसारे स्वर्णलतालाई भन्छिन्, ‘एउटा कथा सुनाऊ न स्वर्णलता।’
स्वर्णलता जवाफ दिन्छिन्, ‘कुन कथा सुनाऊँ? कथा त आँखैअगाडि बनिरहेका छन्।’
हाम्रो अगाडि पनि त कल्पनै गर्न नसकिने कथाहरू बनिरहेका छन्। हरेक दिनको समाचार पढ्नुहोस् त।
यसरी वर्तमानसँगको सान्दर्भिकता त्यहाँका पात्रमा स्पष्ट देख्न पाइए पनि नाटक कमजोरीहरूबाट मुक्त भने छैन।
नाटकको लेखकीय स्वरूप संवाद प्रधान भएकैले दृश्यहरू धेरै फेरबदल हुँदैनन्। लामा लामा संवाद भएकाले तथा पात्रहरू एकदमै कम भएकाले सम्भवत: मञ्च सजावट अलिक कमजोरजस्तो लाग्छ। जे गरिएको छ त्यसले सांकेतिक रूपमा मूल्य त बोकेको छ तर पात्रहरूको 'मुभमेन्ट' निश्चित छैन। कुन स्पेस कुन प्रयोजनका लागि प्रयोग भएको हो भन्ने स्पष्ट खुल्दैन। सेट डिजाइन अझै कलात्मक बनाएको भए दर्शकले आँखामा दरबार देख्न सक्थे।
ययाति नाटक लेखनका रुपमा पनि चर्चित भएको कृति हो। ठूलो र चर्चित कृतिमा काम गर्दा निर्देशकलाई काम देखाउने थोरै ठाउँ हुन्छ। यो नाटकमा पनि निर्देशकको उपस्थिति एकदमै कम देखिन्छ। नाटक असाध्यै सपाट भएकाले त्यस्तो लागेको हो। सेटमा गरिएको प्रयोग बरु कुनै दृश्यका स-साना मोमेन्टमा गर्न खोजिएको भए अझै प्रभावकारी हुन्थ्यो।
र, जाँदा जाँदै बुहारीको मृत्युपछि उनको शवमाथिबाट बिछ्यौनासम्म फैलिएको यौवनको निशानी बोकेर स्टेजबाट बाहिरिँदै गर्दा ययातिले वाचन गरेका यी कविताका पङ्ति:
म नरहेको एकै छिनपछि . . .
कसले भोग्ला बाँकी यौवन
सय वर्ष भोगेर नअघाइने यो यौवन . . .
यो जर्जर बुढ्यौली पश्चात्तापमा निस्किएको छ।
जर्जर बुढ्यौलीमा पुगेका नेपाली ययातिहरू कसको मृत्यु कुरिरहेका होलान्? उनीहरू कहिले यसरी पश्चातापमा निस्किएलान्?