नाटक रूपान्तरणका बारेमा बोल्दै स्टेफेन क्लेरी भन्छन् ‘नाटकमा आइपुग्ने हरेक पात्र, दृश्य र शब्दले नाटकमा आफ्नो स्थान पाउन संघर्ष गर्नुपर्छ।’
मण्डला थिएटरमा चलिरहेको नाटक ‘जालिनी’ कथाका कथाकार र नाटककार एकै हुन्। कथा मन पराएर कथाकारलाई नै नाटक लेख्न लगाएका निर्देशक दयाहाङ राई पनि नाटक बनाउने प्रक्रियामै थिए। सँगै ब्रोसरमा नाटककारले ‘ढुङ्गालाई मूर्तिमा ढाल्नुजस्तै हो, नाटकलाई मूर्तिमा ढाल्नु’ भनिदिएर यो लेखलाई सजिलो बनाइदिएका छन्।
एउटा शासकले आफूले गर्ने निर्णयको नतिजा के हुन्छ भनेर सोचेन भने के हुन्छ? गरेका हरेक निर्णय सही मात्र लाग्यो भने? उसलाई आफ्नो विरुद्ध बोल्ने हरेक स्वर शत्रुको लाग्यो भने? उसले आफ्नो हरेक कमजोरीलाई शक्तिको आडमा दबाउन थाल्यो भने? उसले थोरै मानिसको घेरालाई मात्र सुन्यो भने?
जालिनी यसैको जवाफ हो।
नाटकको राजा पात्र घरिघरि हामीले सुन्दै आइरहेका र देख्दै आइरहेका नेतृत्व जस्तै लाग्छन्। उनीहरू आफ्नो निर्णयको बचाउ त गर्छन् तर निर्णय स्वयंले उनीहरूलाई बचाउन सकिरहेको हुँदैन।
यो वाक्य यति बेला लेखिरहेको छु जति बेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका दुई अभिव्यक्तिबाट ‘अरिङ्गाल’ र ‘मौरी’ शब्द ट्रेन्डिङमा आइसकेका छन्।
सँगै यो कुरा म यति बेला पनि लेखिरहेको छु जति बेला नेपालको अदालत आफैंले बनाएका गलत नजिरले थलिएको छ। कार्यपालिका दूरगामी असर नसोची र मानवीय संवेदना नबोकी अभिव्यक्ति दिइरहेको छ। साथै आफू बाहिर उठेका हरेक स्वरलाई सरकार गिराउने खेलको नाम देखिरहेको छ। अनि देशको व्यवस्थापिका हतार हतार कानुन बनाएर पास गर्दैछ।
ती कानुन कति समयसम्म उपयुक्त होलान्? नाटकमा राजाले 'जालिनीलाई कुनै पुरुषको अनुहार हेर्न नदिनू' भन्ने कानुन र अहिले नेपालको व्यवस्थापिकाले बनाएको कानुनमा के फरक छ?
यो आजको सबैभन्दा जटिल प्रश्न भएको छ।
त्यसैले नाटकको थिम लाइन छ ‘चाहे जुन सुकै निर्णय होस् निर्णय गर्दा त्यसको नतिजा र दूरगामी असरलाई मूल्यांकन गरिनुपर्छ।’
नाटकमा राजाले हतारमा धेरै निर्णय गरेका छन्। उनले राज ज्योतिषीहरूको भनाइलाई जस्ताको तस्तै मानेर जालिनीलाई जुन रूपमा हुर्काउने निर्णय गरे त्यो हेर्दा उनको रक्षाको लागि गरेको जस्तो देखिए पनि खासमा राजाकै स्वार्थ त्यसमा देखिन्छ। उनलाई आफू बाहेक कुनै प्रतापी मान्छे नजन्मियोस् भन्नेछ। किनकि ज्योतिषीहरूका अनुसार जालिनीले जसको तस्बिर बनाउँछिन् ऊ प्रतापी बन्नेछ र उनी जे बोल्छिन् त्यो नियम कानुन बन्नेछ।
राजालाई ती दुवै कुरा हुन दिनु छैन। त्यसैले उनी छोरीलाई कुनै पुरुषले नदेख्ने ठाउँमा पुर्याउन अभिशप्त छन्।
सँगै, उनले आफूले दरबार बनाउने निर्णयमा काम गर्न खटिएका मानिसमध्येबाट राजाको निर्णयमा विरोध गर्ने जलजलालाई मृत्युदण्ड दिने निर्णय गर्नुपूर्व अरू नै कुनै निर्णय गर्न सक्थे।
देशभरका खसी-बोका नकाट्नू र जसले काटेर खान्छ त्यो ‘अछुत’ हुन्छ भन्ने निर्णय गर्नुभन्दा पहिला पनि सोच्न सक्थे।
एक अपरिचितलाई प्रधानमन्त्री बनाइहाल्नेभन्दा पहिला सोच्न सक्थे। . . .
यस्तो सोच्दै गर्दा मलाई फेरि पनि हाम्रो विगत र वर्तमानका ‘राजा' हरूको सम्झना आउँछ। उनीहरूले पनि धेरै थोक गर्न सक्थे। गरेनन्। नगर्नु पर्ने धेरै थोक गरे।
नाटकमा लोक शैलीको कथावाचन प्रयोग गरिएको छ। नाटक सुरु हुने बेलामा बज्ने झ्याम्टासहितका बाजाहरूले लोकको कथा हो भन्ने बताउँछन्। कथा एक वृद्धाले युवतीलाई सुनाउँछिन्। त्यसले दुई युगको कथा भनेको छ। शासन गर्ने र शासन भोग्नेको कथा।
तर वृद्धा अरू कथावाचकजस्तो राजाको निर्णयको बचाउ गर्दिनन्। उनको आवाजमा कसैप्रति झुकाव देखिँदैन। बरु रजस्वला हुँदा नदी तर्न नहुने नियमको विरोध गर्छिन्। यही नदीको पानी खाएर जीवन बिताएकाहरूलाई कसले सिकायो होला यो देश त्यो देश, वारिपारि भन्ने प्रश्न गर्छिन्।
उनी लोक कथाका पुराना कथावाचक भन्दा सचेत र बलवान् छिन्। कथावाचकले वाचनमा गरेको हस्तक्षेप सुन्दर छ। कथा सुन्ने नातिनी पनि चुपचाप सुनिरहेकी छैनन्। उनी तर्क गर्छिन्। आफ्नो कुरा सुनाउँछिन्। प्रश्न गर्छिन्।
नाटकको सुरुमै वृद्धा र युवतीबीच भएको संवाद सांकेतिक छ। त्यहाँ हजुरआमा भन्छिन् ‘यी राजाहरूको मूर्ति। यहाँ कुनै पनि महिलाहरू छैनन्।’
कथावाचकले कथामा भएका पात्रहरूको विश्लेषण। यस्तो आवाज परम्परागत कथावाचकमा विरलै भेटिन्छ।
यसैले स्वरूपमा परम्परागत शैलीको नाटक भए पनि यसका पात्र प्रगतिशील छन्। पुराना कथामा जसरी राजालाई देवत्वकरण गरिन्थ्यो यहाँ उसलाई निर्णय गर्न नसक्ने एक कमजोर व्यक्ति बनाइएको छ।
नाटक सांकेतिक पनि छ। यसमा प्रयोग भएको मकुण्डो सबैभन्दा ठूलो विम्ब हो। यसले पुरुष प्रधान समाज प्रतिविम्बित गर्छ। जालिनीले नदेखून् भनेर दरबारमा सबै मकुण्डो लगाएर उभिएका छन्। छोप्नेलाई लाग्छ मकुण्डोले सबै छोप्छ। तर मकुण्डोको पनि आकृति हुन्छ। नाटकमा मकुण्डोको रूपमा सिधै मकुण्डो नदेखाएर त्यसलाई टाउकोमा लगाउने टोपीमै देखाइएको छ। उनीहरूले हरेकपल्ट टोपी लगाउँदा पहिला अनुहार छोपेर टाउकोमा लगाएको दृश्य कलात्मक छ।
अनि राजाले सुशासनका लागि नयाँ प्रधानमन्त्री छानेपछि उसले जनताको निशानी भनेर खन्ने सामग्री दरबारमा सजाएको कुरा विम्बात्मक छ। शासकले देखिने कुरामा ध्यान दिनु तर त्यसले लक्षित समूहलाई खासै फरक नपर्नु। उनीहरूको प्रतिनिधित्व भएको जस्तो पनि देखिनु तर त्यसले कसैको जीवनमा कुनै फरक नपर्नु। दरबार दरबार नै रहनु, हली हली नै रहनु। यस्तो अहिले पनि भइरहेको छ। पहिला पनि भइरहेको थियो।
साथै मकुण्डोको उद्देश्य जालिनीलाई पुरूषत्वबाट बचाउन खोजिएजस्तो लाग्छ। तर त्यसले फेरि पनि पुरूषत्वलाई नै बढावा दिएको छ। उनी कसैको असली अनुहार देख्नै र चिन्नै नपाई बाउको तस्बिर बनाऊन् र त्यसपछि राज्यले प्रतापी राजा पाऊन्। त्यसको लागि राजाको आदेशअनुसार मकुण्डो उनलाई सुरक्षित र स्वतन्त्र बनाउन मकुण्डो र जालिनी दरबार बनेको छ। त्यसले स्वतन्त्रता नाममा स्वतन्त्रता हनन भएको छ। खुसी दिन दरबार बनाउने नाममा उल्टै खुसी दरबारमा सीमित भएको छ। यति सीमित कि दरबारबाट बाहिर केही पनि देखिँदैन। यदि राजालाई आफ्नी छोरी स्वतन्त्रतै छोड्न मन भएको भए उनलाई बाहिर जान दिन सक्थे। उनलाई मानिसको वास्तविक अनुहार देखाएर त्यहाँबाट असल व्यक्ति छान्न लगाउन सक्थे।
यति बेला सौरभ कार्कीको एउटा कवितांश सम्झिन्छु:
मेरो दाजु मेरो हैन
म हिँड्ने बाटोको रक्षा गर्छ . . .
मलाई नहिँड्न भन्छ र मेरो रक्षा गर्छ।
ढुङ्गाबाट मूर्ति बन्ने क्रममा नाटक थिम, विम्ब र कथावाचनमा सबल देखिए पनि ठाँउ-ठाँउमा चोइटिएको छ। कतै छिनो भुत्ते भएको जस्तो देखिन्छ।केही ठाँउमा 'फिनिसिङ' पुगेको छैन। कतै मूर्तिकारले अल्छि गरेको जस्तो लाग्छ।
केही स्थानमा पात्रको आडमा लेखक वा निर्देशक सिधै बोलेको जस्तो भान हुन्छ। ती वाक्यले कथालाई गति दिन भूमिका खेलेका छैनन्। तर पनि संवादमा छन्।
कथावाचक वृद्धाले ‘उनीहरूको मनमा पनि नदी छ’ भनेको जस्तो संवाद उनको पात्रको लागि सहज हैन। नाटकमा सिद्धान्त छिराउन खोज्दा कथाभन्दा बाहिर गएको जस्तो लाग्छ। कुनै बेला पात्रलाई लेखक र निर्देशकले 'इम्पोज' गर्न खोजेको जस्तो देखिन्छ। नाटकको सिद्धान्त संवादमार्फत पात्रको गहिराइमा पुगेपछि आफैं निर्माण हुने हो भन्ने नाटककारले ख्याल गरेका छैनन्। त्यसलाई सिधै सुनाउन खोज्दा संवाद बढाउनकै लागि पात्रहरू कुराकानी गरेको जस्तो लाग्छ। विशेष गरी नाटकको सुरुवातमा वृद्धा र नातिनीबीचको कुराकानीमा।
यस्तै कथा भन्ने शैलीमा थोरै 'इनोभेसन' खोजिएको भए पनि 'पर्फेक्ट' देखिँदैन। साथै 'स्टेप बाइ स्टेप' गएकाले कथालाई जसरी पनि देखाउने भन्ने भान पर्छ। नाटक दृश्यको माध्यमबाट बन्ने हो। कथा त ध्रुवसत्य परियारको किताबमै पढ्न सकिन्थ्यो। दृश्य के-के भयो सबै देखाउन लागिपरेका छन्। दृश्य फट्केर कुनै दृश्य भएको र कुनै दृश्य अगाडिको 'सबटेक्स्ट'का रूपमा देखाउन सकिने ठाउँ हुन्थ्यो। 'टेक्स्ट'मा धेरै काम गरिएकाले नाटकमा एकदमै विरलै मात्र 'सबटेक्स्ट' भेट्न सकिन्छ।
नाटक तुलनात्मक रूपमा अलि 'क्राउडेड' लाग्छ। धेरै दृश्य दरबारभित्र देखाएर अन्तिम दृश्य बाहिर देखाएको भए वा यस्तै केही गरेको भए दृश्यमा अर्थ खोज्न सकिन्थ्यो। दृश्य बाहिर र भित्र धेरैपल्ट हुँदा हुने जटिल रंग संयोजनमा नाटक चुकेको छ। र धेरै कुरा स्टेजमा देखाउने लोभमा नाटक फसेको छ।
जालिनी दरबार बनाएको दृश्यलाई त्यति धेरै भद्धा र लामो किन? त्यो नाटकको सबभन्दा महत्त्वपूर्ण घटना भएर पनि उक्त दृश्य सबभन्दा बलियो दृश्य बन्नबाट चुकेको छ।
विद्रोह गरेको एक पात्र देखाउन गलेर थकित भएको पनि देखाउन सकिन्थ्यो। उसलाई शारीरिक रूपमा गलाउनु कुनै जरुरी थिएन। त्यसैले पनि ऊ पसिना आएर गलेको त छ तर मानसिक रूपमा गलेको देखाउन नाटक असमर्थ भएको छ।
सन्देशवाहक आएर कुनै महिलाले दरबार बनाएको ठाउँमा विद्रोह गरी भनेको भए र राजाले दरबारमा उक्त दरबारमा बोलाएको भए कति राम्रो हुन्थ्यो! जलजला र राजाबीच थप वादविवाद हुन सक्थ्यो। दरबार बनाएको ठाउँमा राजा नै पुग्नु जरुरी थिएन कि?
ध्वनीको प्रयोग धेरै ठाउँमा 'लाउड' लाग्छ। मुड देखाउनेसँगै कतिपय समयमा यसलाई 'स्टोरी टेलिङ'को माध्यमकै रूपमा प्रयोग गर्न सकिन्थ्यो। एन्टन चेखबले ध्वनीको माध्यमबाट सेटिङ गराउन कोठाभित्र भएका दृश्यमा पनि बाहिर रुख काटिरहेको आवाज मिसाएका छन् 'चेरी अर्काड' नाटकमा।
यहाँ पनि राजा र छोरीबीच कुराकानी भइरहेको बेला पर कतै दरबार बनिरहेको आवाज सुनाउन सकिन्थ्यो। त्यसले नाटकको गहिराइ बुझ्न झनै मद्दत गर्थ्यो।
साथै धेरै स्थानमा ध्वनी 'गुगल सर्च'का आधारमा खोजिएको थाहा हुन्छ। नदी बगेको आवाज देखाउने प्रयत्न सुन्दर भए पनि कतिपय बेला त्यो आवाज धारो झरेको जस्तो पनि सुनिन्छ। साँघु भएको स्थानमा पात्र छन् भन्ने उनीहरूले बताएपछि मात्र थाहा हुन्छ।
अन्तिममा, एक कथाकार नाटक लेखक तर्फ उन्मुख हुनु सुखद संकेत हो। निर्देशक र कथाकारबीच यस्तै खाले समन्वय हुन सके यसले पक्कै पनि नेपाली नाटकलाई फाइदा पुग्नेछ।
यो नाटकले धेरैलाई सचेत गर्छ।
शासकलाई आफ्नो निर्णयको जालमा नपर्न। जनतालाई बनेको प्रधानमन्त्री नै सबै थोक हो भनेर नबुझिहाल्न। छोरीलाई आफू कसरी हुर्किइरहेको छु भनेर प्रश्न गर्न। छोरालाई आमाको लागि जोखिम उठाउन।
अनि पात्रहरूलाई आफ्नो अभिनय र डायलग डेलिभरीमा अझै गहिराइमा पुगेर काम गर्न। प्रकाश व्यवस्थापकलाई 'प्रब्स' कम भएको स्टेजमा स्टोरी टेलिङ गर्दा लाइटको महत्त्व बुझ्न। ध्वनी व्यवस्थापकलाई अलि रचनात्मक भएर काम गर्न। नाटककार र निर्देशकलाई स्टेजमा आइपुग्ने दृश्य र पात्र किन आएका हुन् भन्ने विषयमा अझै गहन काम गर्न।
र, मलाई नाटक हेरेर फर्किएपछि कसैले कस्तो लाग्यो भनेर सोध्दा ‘ठिकै लाग्यो/राम्रै लाग्यो’ भनेर सामान्यीकरण नगर्न।