कोरोनाको महामारीसँगै सुरु भएको लकडाउनले सबैलाई फुर्सदिलो बनाएको छ। मलाई भने यही फुर्सदिलो अवसरको सारथी केही पुस्तक बन्न पुगे, जस मध्ये एक थियो निलम कार्की निहारिकाद्वारा लिखित मदन पुरस्कार विजेता पुस्तक 'योगमाया'।
अन्य अवस्थामा पढ़ाईले गर्दा पाँच सय पानाको उपन्यास आफ्नो समय र लगाव दुवै दिएर पढ्ने वातावरण बनेको थिएन। पुस्तक बिट मार्दै गर्दा यसकी वास्तविक पात्र योगमायाले मेरो मनमा उब्जाएका विचारका बारेमा केही लेख्ने जमर्को गरेकी छु।
पुस्तकको प्रारम्भिक चरणमा जब योगमायले आफ्नी भाइबुहारीलाई आफू बालविवाहको बन्धन तोडेर जन्मघर भागेको वृतान्त सुनाउँछिन, म भित्र एउटा तरङ्गनै उत्पन्न हुन्छ। देश नै राणा शासनको आगोको चरम उत्कर्षमा बलिरहेका बेला समाज कुन अवस्थामा थियो, हामी अहिले अनुमान मात्र लगाउन सक्छौँ।
त्यसको वास्तविक स्वरुप अनुभूत गर्न मुस्किल नै पर्छ। जुनबेला १० वर्ष उमेर भित्र छोरीको विवाह भैसक्थ्यो, श्रीमानको घरको बुहार्तन र अत्याचार पुर्वस्थापित नियम जस्तै थिए, जसलाई हरेक महिलाले चाहेर होस् या नचाहेर भोग्नुको अर्को विकल्प थिएन। त्यो बेलामा भर्खर किशोरावस्था प्रवेश गरेकी एक बालिकाले गरेको त्यो विद्रोह क्रान्तीको सुरूआत नै मान्नु पर्छ।
उनले चालेको त्यो कदमको फलस्वरूप उनले भोगेको अपहेलना, त्यसपछिका पृष्ठहरूमा स्पष्ट पढ्न पाइन्छ। त्यसैबेला मैले सम्झिएँ, शारीरिक होस या मानसिक, घरेलु हिंसाबाट त आज पनि असंख्य महिलाहरू प्रताडित छन। यो विषयमा उनीहरूले कसैलाई भनिहाले पनि आउने पहिलो प्रतिक्रिया 'बुहारी भएपछि अलिकति सहनु पर्छ' नै हो।
जुन योगमायाले पनि धेरै सुनिन्। भनेपछि के फरक रह्यो र १०० वर्ष अघिको त्यो समय र अहिले हामी हुर्किदै गरेको समयमा? सुधार हुँदै नभएको पक्कै होइन, भएका छन्, तर अझै कतिपय स्थानमा सामाजिक संरचनाकै कारण थुप्रै महिला त्यसको शिकार बन्न बाध्य भएका छन्।
संयोग नै भनौँ, मैले योगमाया पुस्तक पढी सक्काएकै दिन पूर्व मिस नेपाल शृङ्खला खतिवडाको एउटा लेख प्रकशित भयो जसमा उनले आफूले यौन हिंसा भोगेको र त्यसको कारक समाजका पढेलेखेकाहरू भनेर बुझिने व्यक्तिहरूले गरेको नकरात्मक टिप्पणीहरूको विषयमा चर्चा गरिएको थियो।
योगमायाको कथाबाट भर्खरै प्रेरित भएकि मलाई उनको लेखले फेरि सोचमग्न बनायो। एक जना प्रख्यात सामाजिक अभियन्ता महिला त मानिसहरुको गलत धारणाको शिकार हुन पुग्ने हाम्रो सामाजिक परिवेशमा, सामन्य महिलाले के के भोगेका होलान्? यही कारण हो, आजसम्म पनि दुर्व्यवहार सहेका महिलाहरू आफै अपराधी जस्तैगरि पीडा लुकाएर बस्न बाध्य छन् वा भनौँ हाम्रो समाजले यसरी बाच्न विवश बनाइएको छ।
एक महिलाले आफूले भोगेका समस्या खुलेर राख्न समेत सहज वातावरण बनाउन सकेका छैनौँ भने के उपलब्धि भयो योगमायाले सय वर्ष अघि विजारोपण गरेको सामजिक क्रान्तिको?
सय वर्ष छोटो समय पक्कै होइन। विश्वयुद्धले ध्वस्त बनाएका जापान र जर्मनी जस्ता देशले योभन्दा छोटो समयमा गरेको प्रगती हाम्रै अघि छर्लङ्ग छ। तर हामीले भने अझै पनि महिलाहरूलाई एउटा सामान्य नागरिक सरहको स्थान दिन सकेका छैनौँ।
कानुनीरूपले धेरै अधिकार सुनिश्चित हुँदाहुँदै पनि हाम्रो विद्यमान सामाजिक संरचना र हाम्रा सामजिक मूल्यमान्यताको उचित संयोजन हामीले तय गरेका नीति नियमहरूमा प्रकट नहुँदासम्म कानुनले पनि समाजमा आफ्नो स्थान बनाउन नसक्ने रहेछ।
योगमायाजीको साधनानै समानता थियो। उहाँ समाज अगाडि बढ्नका लागि जातिय, लैंगिक र वर्गिय विभेद अन्त्य हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो। परम्परागत सोचको विरुद्ध लाग्दा धेरै ठाउँबाट तिरस्कृत हुनुभयो तर आफ्नो सत्मार्गबाट कहिल्यै विचलित हुनु भएन।
योगमायाहरू आज पनि छन, कोही आवाज भएका छन् भने धेरै आवाज विहीन छन् तर उठ्न खोज्ने आवाजलाई निस्तेज पार्न खोज्ने तत्व पनि उत्तिकै छन्। स्मरण रहोस्, हामी सय वर्ष अघि योगमायाले चाहेको परिवर्तनको खोजीमा अझै भौतारिइरहेका छौँ।
अब पनि विभेदको पर्दा नउघार्ने हो भने ती योगमायको त्याग व्यर्थ जानेछ। योगमायाहरू जन्मिरहने छन्, त्याग गरिरहने छन् तर परिवर्तन अर्को सय वर्षमा पनि देखिने छैन। सबै समस्याको जड सोच हो र समाधान पनि सोच परिवर्तनमै रहेको छ।
त्यही परिवर्तन नै हो आफ्नो घर, परिवार र समाजका निम्ति आफ्ना इच्छा, चाहना, सपना र अधिकारको समेत आहुती दिने आधुनिक योगमायाहरूको चाहना।