विश्वविद्यालयले आयोजना गरेको उत्तरी जापानस्थित होक्काइदोको भ्रमणमा जान २३ सेप्टेम्बर २००८ को बिहानै ६:१५ मा योकोहामा स्टेशन पुग्नु थियो। तर म बस्ने सासायामा डान्चीबाट पहिलो बस समातेर गए पनि साढे छ बजे मात्र पुगिने।
जापानमा समयको पालनालाई अति संवेदनशील विषयको रूपमा लिइन्छ। हाम्रोमा जस्तो जो सबैभन्दा ढिलो आयो उही ठालु, उही व्यस्त भन्ने होइन। त्यसैले अघिल्लै दिन हियोशी गएर बास बसेको थिएँ, केओ विश्वविद्यालयमा अध्ययनरत मित्र राजेन्द्र हमालकोमा।
राति ढिलै पुगियो। सुत्ने बेलासम्म अर्को दिनको एक घन्टा बितिसकेको थियो। बिहान ५:१५ को आलार्म फिट गरेर सुतें। मोबाइलले आलार्म ठोक्दा निद फिटिक्कै नपुगेको। मोबाइलसँग रिसाउँदै त्यसको घाँटी अठ्याएर फेरि सुतें।
कुन दैवी प्रेरणाले हो त्यसको १५ मिनेटमा फेरि जागेछु। मसँग जम्मा ४५ मिनेछ पनि छैन योकोहामा स्टेशन पुग्न।
हतपत अनुहारका रौं खुर्कें। दाँतमा कुचो लगाएँ। गीता पाठ सकें र दुई मिनट ध्यान गरें। चैतको आँधीझैं हियोशी स्टेशन पुगियो।
हतपतको कामै लतपत। स्टेशनमा रेल कुर्दै गर्दा त्यहाँ भएको ऐनामा आँखा पुगे। कपाल बढेर गुण्डो जस्तो देखिँदो रहेछु। कपाल कोर्नु पर्यो भनेको त काइँयो छैन झोलामा। दाँत घोट्ने बुरूसले कपाल यसो देख्ने जस्तो बनाएँ। रेल आइपुग्यो। ट्रेन पास खोज्छु त छैन। हतपत टिकट काटेर छिर्छु भनेको लाइन उत्तिकै लामो। नपुग्दै एक्सप्रेस रेल छुटिहाल्यो। प्रभु नारान! अब छुट्यो होक्काइदोको यात्रा। फर्कने भइयो सासायामा अँध्यारो मुख लाएर।
तीन मिनेट पछि अर्को रेल आइपुग्यो। त्यही रेल समातेर पुरै जसो आशा मार्दै योकोहामा पुग्दा भ्रमण टोलीले दश दिशातिर फर्केर आँखा च्यातिच्याती मेरो व्यग्र प्रतीक्षा गरिरहेको पाएँ। हामी वायूवेगले वाइक्याटको लिमोजिन बस समात्न दगुर्यौं।
बसका गुरूजी पनि आधाभन्दा बढी यात्रु छुट्न लागे भनेर त्यसै गरी आत्तिएका। हाम्रो जुलुस पुग्ने बित्तिकै एकैचोटि दुई-तीनवटा सुटकेश उचाल्दै बसभित्र हुल्न थाले। अनि दमको बिरामी जस्तै हेंकेरपेंकेर गर्दै बसमा चढ्यौं र लाग्यौं हानेदा विमानस्थल।
विमानस्थलमा बोर्डिङ पास लिन पासर्पोट निकाल्न थाले साथीहरूले। मेरोचाहिँ सुटकेसमै थियो। निकाल्छु भनेको त चाबी ठोकेको छ, साँचो कतै भेटिँदैन। साथीहरू भित्रभित्रै कुँडिएर मुखामुख गर्न थाले। प्राध्यापक पार्सनले विद्यार्थी परिचयपत्र निकाल्न भने। धन्य! त्योचाहिँ खल्तीमै रहेछ। उनी आफैं बोर्डिङ पास लिने काउन्टरतिर दगुरे। बोर्डिङ पास पाएपछि लाजले रातो हुँदै साथीहरूबाट आँखा तर्काउँदै गोजी छामछुम पार्न थालें, कतै सुको नलिई हिँडेको त छैन भनेर।
दशा कहाँ यत्तिकैमा सकिन्थ्यो र बाबै। सुरक्षा जाँचबाट भित्र छिर्दै गर्दा आलार्म बज्यो। आफ्नै शरीर छामछुम गर्छु, कतै केही छैन। धातुजन्य पदार्थ, पेटी, घडी, मोबाइल, अहँ कुनै चिज छैन साथमा। सुरक्षाकर्मीले टुप्पीदेखि पैतालासम्म स्क्यान गर्यो तर जता छोयो त्यतै पींपीं गर्छ। जुता खोलेर एक्सरेमा हाल्न भन्यो। नाङ्गा पैताला लिएर फेरि सुरक्षा जाँचका लागि उभिएँ। साथीहरू सबै पारिपट्टि गएर उभिएका छन्। सबैले मै तिर हेरेर फोटो खिचिरहेका छन्। सुरक्षाकर्मीले फेरि स्क्यानर दौडायो। पींपीं गर्न त मरे छोड्दैन त।
साह्रै झोंक छुट्यो आफैंलाई। सुरक्षाकर्मीले नभने पनि पुरा फिल्मी स्टाइलले सर्ट खोलें। अनि पो फेला पर्यो प्रधान शत्रु!
सुटकेसको चाबीको साँचो जनैमा बाँधेको रहेछु। सुरक्षाकर्मीले हाँस्दै मलाई भित्र पठायो। भित्र छिरेपछि चिनियाँ साथी रूवानको कुरा सुन्दा त म तीनमात्र होइन पन्ध्र छक परें। हाते झोलामै उसले चक्कु राखेको रहेछ स्याउ काट्न सजिलो हुन्छ भनेर। स्क्यानरले त्यत्रो चक्कु फेला पारेन। मेरो जनैमाथि त्यत्रो आक्रमण। हरे शिव! मेसिनले पनि गरिब देशकालाई मात्रै खेद्ने!
हानेदाबाट होक्काइदोको कुसिरो विमानस्थल पुग्न १ घन्टा ३५ मिनेट लाग्नेमा मौसमी गडबडीले थप आधा घन्टा विमान आकाशमै डुलिरह्यो। कुसिरो ओर्लँदा मौसम उदास र बादल गमक्क परेर बसेको थियो। हाम्रा लागि आएको बसकी पथप्रदर्शिका निकै फरासिली र हास्यचेतले भरिपूर्ण रहिछिन्। हुन त जापानमा अधिकांश गाइड महिला नै भेटिन्छन्।
पुरूषहरूको तुलनामा अङ्ग्रेजी पनि राम्रो भएका, खुलेर बोल्न सक्ने र सहयोगी पनि महिला नै देखिन्छन्। उनको जापानेङ्ग्रेजीमा हामी अलमलिँदा प्राध्यापक यामाजाकीले व्याख्यात्मक जापानेङ्ग्रेजीमा पुनर्व्याख्या गरेर सुनाउथे। हामी त झन् ट्वाँ। यामाजाकी वातावरणीय अर्थशास्त्रको प्राध्यापक हुन्। उनलाई त प्रत्येक वाक्यैपिच्छे ठट्टा गर्नु पर्छ। स-सानो कुरालाई पनि हँसाउने पाराले अभिव्यक्त गर्छन्। थुप्रै सेमिनार आयोजना गरिरहन्छन्। उनले बोलेको अङ्ग्रेजी अरूले बुझ्लान् तर उनी आफूबाहेक अरूले बोलेको अङ्ग्रेजी मुश्किलैले बुझ्छन्। सेमिनारमा सहभागीहरूले एउटा प्रश्न सोधिरहेका हुन्छन्, तर उनले अर्कै जवाफ फर्काइरहेका हुन्छन्।
बिहानै कोठामा दालभात गोदेर हिँड्ने बानी लागेको। त्यो दिन १२ बजेसम्ममा जहाजमा एक कप हरियो चियाबाहेक पेटमा केही परेको थिएन। आन्द्राहरू छुत्ती खेल्न र तिघ्राहरु काम्न लागेका थिए।
बाह्र बजे आकान ताल पुगेपछि बल्ल ‘आकानो मोरी, होटल हाना युका’मा भोजनको प्रबन्ध भयो। जापान आएदेखिकै अनुभवको कुरा गर्ने हो भने यो नै सर्वाधिक विविधिकृत परिकार पाइने होटल थियो। शाकाहारीका लागि पनि थुप्रै विकल्प। होटल उस्तै कलात्मक।
कुसिरो विमानस्थलदेखि आकान तालसम्मको डेढ घन्टा लामो बसयात्रामा मानव बस्ती अत्यन्तै कम देखिए। घना हरियालीयुक्त चुरेको उचाइका डाँडाहरू, बाक्ला बुट्यान, विशाल फाँटमा देखिने फाट्टफुट्ट गाई गोठ र बस्तुलाई खुवाउन मेसिनले पेलेर राखिएका घाँस देखिए। यो क्षेत्र सिमसार र राष्ट्रिय निकुञ्ज पनि रहेछ।
साढे १२ बजे आकान तालको आनन्द लिन फेर्रीरक्रुजमा चढ्यौं। आकान तालभित्रै स-साना चारवटा टापूहरू रहेछन्,निकै मनोहर। तीमध्ये एउटामा आकान तालको अद्वितीय उपहार ‘मारिमो’ वनस्पतिको अक्वारियम रहेछ। मारिमो पानीभित्र हुर्कने त्यस्तो वनस्पति रहेछ जुन एउटा बेसबलको आकारको बन्न १५० वर्ष लाग्दो रहेछ। विभिन्न साइजका मारिमोहरू एकदमै गोलाकार रूपमा हुर्कने रहेछन्। न त जरा न डाँठ न पात। पानीमा तैरिरहेको कस्तो अद्भूत वनस्पति। त्यसको जीवनचक्र रोचक र आयू शताब्दीयौं लामो हुने रहेछ। लेउ जातको वनस्पति बढ्दै गएर फुटबल जत्रो हरियो डल्लो हुँदै जाने अनि वृद्धि रोकिएपछि त्यो डल्लो फुकेर खिइँदै गएर मर्ने रहेछ। मौसम निकै अनुकूल थियो। बीचबीचमा घाम, बीचबीचमा बादल, अनि घामछायाँ। तालको बीचको एक टापूबाट श्रीमतीलाई फोन गरें र प्रत्यक्ष प्रसारण सुनाएँ। थुप्रै पटक तस्बिर लिनका लागि क्यामेराको टुप्पीमा दबाएँ। तालमा यात्रा गर्दै गर्दा एउटा कविता लेखें -'आकानको नृत्य घामको गीत'।
एक घन्टाको जलयात्रा कति छिटै सकिएछ। त्यहाँबाट बास बस्ने होटल पुग्न बसमा डेढ घन्टाको यात्रा। बसमा बसेपछि खाना खाएकाजति भाते निदमा भुसुक्क निदाए भने रमजानको बेला भएकोले मुस्लिम साथीहरूले होटलबाट ल्याएको खानाका ठूला
ठूला पोकाकै सिरानी हालेर निदाए। मचाहिँ मेरा साथीहरु (कापी कलम) सँग भाव विनोदमा लागें।
बास थियो होटल तोक्यू इन कुसिरोमा। आ-आफ्नो कक्षमा गएर परिधान बदलेपछि कुसिरो पब्लिक युनिभर्सिटी अफ इकोनमिक्सका प्राध्यापक कोवायासीबाट सिमसार कन्भेन्सन र पूर्वी होक्काइदोको सिमसार क्षेत्रको संरक्षण’ विषयमा प्रवचन सुन्यौं। बेलुकी खानाको व्यवस्था थियो अर्कै होटल (प्रिन्स होटलको टप अफ कुसिरो) मा। त्यसको सत्रौं तलाको विशाल भोजन कक्षमा मुश्किलले गुजारा गर्न मिल्ने खानेकुरा टिपेर प्रिन्स होटलको स्वादानुभूति गरियो। थाकिएको थियो। केही लेख्ने आँट आएन।
छोरीहरूलाई होटलको भव्यताका फोटा पठाएँ। उनीहरूले दालभात खाँदै गरेको याहू मेसेन्जर कलबाट हेरेर घुटुघुटु थुक निलें। भोको छु भन्यो भने प्रिन्स होटलको सराप लाग्ला भन्ने डर!
(नेपाल सरकारका सहसचिव डाक्टर भूसालको यसै साता सार्वजनिक भएको यात्रा संस्मरण ‘कोको पहाडमा भोको यात्री’ को पुस्तक अंश।)