एकदिन कामको सिलसिलाले ब्यालेन्स मिडिया ग्रुप अफ कम्पनिजमा थिएँ, बानेश्वर। संयोगवश राजन सिम्खडा दाइसँग भेट्ने मौका मिल्यो। दुई व्यक्तिको उर्जा मिल्यो भने थोरै समयमा पनि धेरै कुराकानी भइहाल्ने रै छ।
उहाँसँगको छोटो भेटमा नै हामी कृषि, शिक्षा, देश सबैमा गफिन भ्यायौँ। छुटिने बेलामा उहाँ आफैले लेख्नुभएको किताब उपहार दिनुभयो 'हिँडे पुगिन्छ'। यो सुन्दा सरल तर गर्न निकै कठिन छ। हुन पनि हो, हिँडे त पुगिहालिन्छ नि।
किताब पढेपछि महसुस भयो, उहाँसँग गफ गर्न त अझै धेरै बाँकी नै रहेछ। किताबको समीक्षा गर्ने वाचा गरेको हुनाले, अल्छी भैसकेका औँलाहरुलाई 'लेखे त सकिन्छ' भन्दै प्रेरणा प्रदान गरेको छु।
पारिवारिक पृष्ठभूमिबाट सुरुआत गरिएको यो किताबे निकै सराहनीय छ। आफू जहाँ पुगेपनि आफ्ना पूर्खा र्बिसिनु हुँदैन, लेखकले यसरी वंशावली इतिहास समेटेर पूर्खाको मिहेनतलाई सम्मान गरेको पाइन्छ। आफ्ना समस्त अनुभव, जीवन संघर्षलाई निकै सकारात्मक ढंगले प्रस्तुत गरिएको छ।
देश विदेश घुमेका ठाँउहरु, पोर्टरदेखि गाइड हुँदै बहुव्यवसायीसम्मका यात्राहरुका हरेक मोडमा पाठक पनि सँगसँगै भएको अनुभूति दिलाउन लेखक सफल भएका छन्। किताब सरल भाषाशैलीमा लेखिएको छ, बीच-बीचका गीतका टुक्काहरुले पाठकलाई ताजापन दिएको छ।
किताबको केही भाग व्याख्यात्मक रुपले अघि बढेको छ भने पर्यटन क्षेत्रको विषयमा विश्लेषणात्मक आयाम देखिएको हुनाले लेखकको पर्यटन प्रतिको लगाव प्रष्टै देख्न पाइन्छ। देश समृद्ध बनाउनुमा व्यवसायीको भूमिका र आत्मबल निकै बलवान हुने सन्देश दिएको छ। किताबको अन्तिम तिर हरेक शब्द भित्र लुकेको देश प्रतिको चिन्ताले यसलाई नकारात्मक वा कसैमाथि दोष नथोपरी आफै समृद्धतर्फ लम्किने कुण्ठा बोकेको पाइन्छ।
किताबमा दर्शाइएका पर्यटन क्षेत्र विकास गर्ने योजनाहरु निकै जुझारु र युवा तथा आउँदो पिढीँका लागि प्रेरणादायी छन्। शब्द शब्दको उर्जा यस्तो छ मानौँ एउटा सानो कोठामा गुम्साएर राखिएको कणहरु जसले मौका पाउने बित्तिकै बिस्फोटनका साथ फैलिनेछन्।
कुनै कृति पढेपछि त्यसलाई आलोचनात्मक सुझाव दिनु लेखकप्रति पाठकको स्नेह हो जसले लेखकलाई आफ्ना आउँदा कृतिहरुमा निखार ल्याउन मद्धत गर्छ। त्यसैले एक हितकारी पाठकका नाताले यो किताबलाई पनि आलोचनात्मक दृष्टिकोणले हेर्नु मेरो धर्म मानेँ।
लेखकले आफ्ना जीवनका अनुभवहरु सुनाउँदै गर्दा आफ्ना गल्ती, कमि-कमजोरी, आफूले लिएका गलत निर्णयहरु र तिनबाट आफूले सिकेका पाठलाई पनि समेट्न सकेको भए अझ प्रेरणादायी हुने थियो।
मान्छे जन्मिसकेपछि परिवेश अनुसार आफूले नचाहँदा नचाहँदै या नबुझी गल्ती गर्छ र अरुलाई चोट समेत पुर्याएको हुन्छ। अन्जानमा अरुलाई दिइएको चोटहरु आफूले महसुस गर्न सकियो भने एक बौद्धिक खुड्किलो पार गरिन्छ।
धेरै संघर्षपछि सफलताका कथामा, विगतमा गरिएका गल्तीहरु पनि समेटिए भने आउँदो पिढीँलाई पाठ बन्न सक्छन्। समग्रमा किताब निकै सकारात्मक र उर्जा प्रदायिक छ। लेखकका शब्द शब्दमा देशको माया र अवस्था सुदृढ गर्ने इच्छाशक्ति चुलिएको पाइन्छ।
दार्शनिक पाटोलाई नछोइ तुलनात्मक अध्ययन गर्दै दर्शाइएका लगभग सबै पर्यटकीय सम्भावनाहरु व्यवहारिक छन्। 'नजिकको तिर्थ हेला' भनेझैँ हामी अझै हाम्रा अमूल्य प्राकृतिक धनहरुको पहिचान गर्न सकेका छैनौँ।
विकासका साथै अध्यात्म र पौराणिक इतिहासलाई समेत साथ लिएर अघि बढ्ने हो भने पक्कै पनि हाम्रो देशले पर्यटनबाटै काँचुली फेर्न सक्ने सामर्थ्य राख्दछ। लेखकको निरन्तर संघर्ष र यात्राले हिँडे पुगिन्छ है भन्ने मिठो सन्देश दिएको छ।
यस किताबले मेरो अस्थिर मनलाई अर्जुनदृष्टिका साथ अघि बढ्न प्रेरणा दिएको छ। आफ्नो अनुभव, विचार, योजना र जीवन यसरी साटेकोमा दाजु राजन खतिवडालाई धन्यवादका साथै बधाइ तथा आउँदा दिनहरुका लागि शुभकामना व्यक्त गर्दछु।
तपाई जस्तो जागरिलो, निस्वार्थ र निडर स्वभावका देशप्रेमीको अहिले निकै खाँचो छ। यहाँको उत्तरोत्तर प्रगतिका साथै हाम्रो यहाँमाथिको आशा पनि बढ्दै जानेछ, धन्यवाद।