बालकथा र बालकविताहरू मैले ३/४ कक्षामा हुदै पढ्न थालेको थिएँ। त्यो समय मुना खुब लोकप्रिय थियो। मधुपर्क र युवामञ्च पनि खुब चल्थे। तर हामी केटाकेटीले युवामञ्च र मधुपर्कका कुरा केही बुझ्दैनथ्यौं।
गाउँमा विद्यालयका किताब त दाइ-दिदीले पढीसकेका पुराना पढ्नु पर्थ्यो, त्यो पनि कतिले त आधा मूल्य हिसाब गरेर पैसा तिरेर। कोर्स बाहिरी किताब कहाँबाट पाउनु! किताब किन्ने भनेको वर्षको एकचोटि हो र कापी तीन चोटि।
किताब नयाँ सेसन सुरू भएपछि वैशाखमा र कापी पहिलो पटक किताबसँगै, वर्षे बिदामा होमवर्क गर्न दोस्रो पटक त तेस्रो दसैँतिहार बिदामा। वर्षे बिदा र दसैँ तिहार बिदा १/१ महिना हुन्थ्यो। पढे जति सबै अभ्यास बुझाउनु पर्थ्यो।
अझ थोरै पठाइ हुनेको त किताबको पाठ पनि सार्नु पर्थ्यो। सामान्य त पढ्नु भनेको त्यत्ति थियो। तर हामी थोरै हिसाबले भाग्यमानी थियौं। हामी मतलब यहाँ दाइ, दिदी र म। एक हामी सरका छोराछोरी थियौं, दोस्रो हाम्रो मामाघर तानसेन बजारमा थियो।
कहिले आमा त कहिले बुवा समय अनुकूल मिलाएर मामाघर जाँदा नयाँ-नयाँ किताब ल्याइदिनु हुन्थ्यो। गाउँमा पुस्तकालय थिएन। मुस्किलले एउटा पुस्तक पसल थियो नारन सरको, त्यही पनि कोर्सका किताब मात्रै पाउने। अन्य पुस्तक त बिक्री भए पो ल्याउनु। अर्को कुरा काठमाडौँबाट गाउँ आइपुग्न दुई दिन लाग्थ्यो र ढिलो गरी आइपुग्थे। आएका पनि भागमा पर्ने संभावना कमै हुन्थ्यो।
मैले ५ मा पढ्दासम्म दुई वटा स्कुल फेरिसकेको थिएँ। स्कुलमा पुस्तकालय हुने कुरा त के, कोर्सका किताब पनि कक्षा कोठाको माथि मसीमा धमिरालाई घर बनाइदिएर राखिएका हुन्थे र सेसन सकिएपछि चैत तिर खाडल खनेर त्यसमै राखेर जलाइन्थे।
कक्षा ६ पढ्न म हाइस्कुलमा पुगेको थिएँ। अझ क्याम्पस पनि थियो भनौं। त्यतिबेला हाम्रो विद्यालयमा पनि पुस्तकालय छ भन्ने सुनें तर हामीलाई छिर्ने अनुमति थिएन या जानकारी भएन। कक्षा ११ मा पुगेपछि, कार्ड बनाएपछि मात्रै छिर्न पाइन्छ भन्थे। त्यो सुनेपछि छिर्ने रहर पनि गरिएन।
कक्षा ९ मा पढ्दा साइन्स पढाउने राम बहादुर सरले प्राक्टिकलका सामान लिन र छोड्न बोलाउनु हुन्थ्यो। ल्याब र लाइब्रेरी एउटै कोठामा हुनाले मैले पहिलो पटक लाइब्रेरी देख्न पाएको थिएँ।
चारै भित्तामा दराजै दराज। दराजभरि किताबै किताब। सुरूमा त छक्क परें, कति धेरै किताब एकै ठाउँमा! खुल्न त एकपटक कृष्ण सरको पहलमा बुक बैँक नेपाल नामको पुस्तकालय पनि खुलेको थियो तर जसले विपन्न वर्गका विद्यार्थीलाई नयाँ तथा पुराना पुस्तक त वितरण गऱ्यो तर म जस्तो बाहिरी ज्ञानको भोको हुनेलाई सम्बोधन गर्न सकेन।
मैले ६ मा पढ्दा दिदी ११ मा पढ्नु हुन्थ्यो। दिदीले र मैले पढ्ने विद्यालय एउटै थियो। दिदीले ल्याएका किताबहरू पढेरै मेरो बाहिरी पुस्तक पढ्ने कुरामा बानी बसेको थियो। मलाई अहिले पनि सम्झना छ। बसाइ, माइतीघर, दोषी चस्मा, शिरिषको फूल जस्ता कथा, उपन्यासका किताब पढ्न थालेको त्यतिबेलाबाटै हो।
बाहिरी किताबमा मुनामदन घरमै हुनाले ३ मा पढ्दै पढेको थिएँ। हाम्रो घरमा पनि किताब टन्नै थिए। जति थिए संस्कृत, दर्शन, भाषा, साहित्य, भूगोल, इतिहास र राजनीतिका थिए। मलाई साहित्य बढी मन पर्न थाल्यो। साहित्य एकदम कम अरू चाहिँ एकदम धेरै थिए जो कति अहिले पनि छन्। कति साँघुरो घर, त्यसमाथि घर भित्र अगेनामा बालिने धुवाँले कालो भएर त कति किराले काटेर नष्ट हुँदै गए। जतन गर्न संभव पनि भएन। कुरो आर्थिककै हुँदो रहेछ।
किताबको मोह भने विस्तारै बढ्दै गयो, एउटा पढेर सकेपछि अर्को पढ्न मन लाग्न थाल्ने भयो। कोर्सकै किताब पढ्ने त कुरै हरायो। कनिकुथी होमवर्क सक्यो, किताबमा झुन्डिहाल्यो। त्यसरी विद्यालयको पुस्तकालयबाट मैले धेरै किताब पढेँ।
दिदीदाइले जहाँ ११/१२ र स्नातक पढ्नु भयो, त्यहीबाटै मैले एसएलसी गरेँ। यहाँ सम्बन्ध मैले एसएलसी गर्नुसँग भन्दा पनि अरू अरू किताब कसरी पढेँ भन्नेसँग हो जस्तो भैसकेको थियो।
८ मा पढ्दासम्म मलाई गद्य कविता हुन्छन् भन्ने थाहा थिएन। कविता भनेकै छन्द हो भन्ने थियो। स्कुलका अन्ताक्षरीमा भाग लिनकै लागि भए पनि छन्द घोक्थेँ। बुवाले पनि छन्दकै कविता लेख्नु हुन्थ्यो। गद्य भनेपछि सिधै निबन्ध हो भन्ने बुझ्थेँ। गद्य कविता हुन्छन् भनेर थाहा पाउन पनि मलाई ८ कक्षा पुग्न पर्यो।
८ मा पढ्दा भुपि शेरचन, गोपालप्रसाद रिमाल, ईश्वर बल्लभ, बैरागी काइँला र मोहन कोइरालाका कविता पढेँ। त्यो पनि दाइ दिदीको किताबमा। त्यसपछि गद्य कवितामा पनि तानिन थालेँ।
कुरा यत्तिमा मात्रै सीमित रहेन। किताब पढ्ने भोक त जागिसक्यो, अब पढेका किताब फेरि पढ्न मन लागे के गर्ने भन्ने समस्या थपियो। समस्या थपिएसँगै जिन्दगीले पनि नयाँ बाटो लिए। १० अर्थात प्रवेशिका दिएपछि घरमा भएका साना साइजका किताब पढ्न थालेँ।
महाभारत, रामायणदेखि निर्णयसिन्धुसम्मका ठूला-ठूला साइजका किताब थिए घरमा। तर तिनी पढ्ने हिम्मत कहाँबाट आउनु? धेरैजसो संस्कृतकै थिए। गुरूकुल र घरमा अलिअलि पढेको संस्कृतले ती लामालामा श्लोक त फुटाल्न सकिन्थ्यो तर अर्थ बुझ्न त उही भो। त पनि भाषाटिका सहितका किताब भए पनि सिरानीमा राख्न छाडिएन।
११ पढ्न म तानसेन छिरेँ। कलेजमा लाइब्रेरी त थियो तर चाहे जस्ता किताब खासै थिएनन्। १/२ दिन त छिरियो, पछि जाँगर चलेन। विद्यार्थी जीवन सहरिया बसाइ, पैसा एकदम पुऱ्याएर खर्च गर्नु पर्थ्यो। कोठाको साथी केशब पढन्दास थिए तर म अल्छी।
उनी कोर्सका किताब पढ्थे, म बाहिरी। उनी हरेक समय सम्झाउँथे मलाई, यस्ता किताबमा समय बर्बाद नगर, कोर्सकै किताब प्राक्टिस गर भन्थे। मलाई कलेज टप्नु छैन, पास त म एकचोटि हेरे भैहाल्छु नि भन्थेँ। बरू किताब पढ्ने र किन्ने लत यसरी बढ्दै गयो नि खाजा र तरकारी सस्तोसस्तो किन्ने तर किताब किन्न नछाड्ने बानी भयो।
पढ्ने शिलशिलमा तानसेन भए पनि मन भने गाउँमै हुन्थ्यो। हामीहरू मिलेर क्लब खोलेका थियौँ। क्लबको लेटर प्याड बोकेर साथीहरूसँगै कहिले शिक्षा कार्यालय त कहिले गाविस धाइरह्यौँ। गाउँमा पुस्तकालय हुनुपर्छ भन्ने रहर मलाई मात्रै हैन, गणेशलाई पनि उत्तिकै थियो। गाउँका प्रभुद्ध मानिसँग पनि भेट्यौँ। अनेक गऱ्यौँ, सफल हुन सकिएन।
स्नातक पढ्न सरकारी क्याम्पस छिरियो। संगत पनि पढन्दास र राजनीति चासो भएका साथीसँग भयो। सके किनेरै पढ्ने नत्र क्याम्पसको पुस्तकालय छिरेरै पनि पढ्न थालियो। क्याम्पसमा एउटा पुस्तक ल्याएर बढीमा १५ दिन राख्न पाइन्थो। तर मेरो साथी हिरामणी र म अर्को दिन नै बुझाउन लैजान्थ्यौं।
पुस्तकालयका सर भन्नु हुन्थ्यो, 'के हो, तिमीहरू किताब लैजादै नपढी फर्काउंदै गर्छौ के हो!' हामी हाँस्थ्यौं। किताब पढ्न साथी पनि चाहिने रहेछ। साहित्य र संस्कृत मात्रै पढेको म अब अरू क्षेत्र रोज्न थालें। कारण त्यतिबेलामा मेरा साथी (अग्रज) गिरिराज ज्ञवाली पनि खत्रा पढन्दास हुनुहुँदो रहेछ।
हिरामणी पनि त्यस्तै भोक भएको मान्छे। पहिले रहरले पढिएका किताब विस्तारै चुनौतीले पढिने रहेछ। कसैले मैले त यो किताब पढें नि भन्दा आफूले पढ्न नपाएकोमा छट्पटी हुने। पुराना किताब पुस्तकालयमा पनि पाइने तर बजारमा आएका नपाइने। त्यसका लागि फेरि किन्नै पर्यो।
क्याम्पस छाडेँसँगै पुस्तकालय जाने ढोका बन्द भए। स्नातकपछि म काठमाडौं छिरेँ। त्यहाँ केही समय बरालिएँ। कहिले शंखमूल त कहिले थापाथली। कहिले न्युरोड त कहिले रत्नपार्क। पुस्तक किन्ने अवस्था थिएन। जागिर थिएन दाइसँग किताब किन्न पैसा ल्याउनु भन्ने कुरा भएन बरू नयाँ आइडिया आयो।
दिनमा रत्नपार्कमा बेच्न राखेका किताब पढ्ने। बिहान साँझ बानेश्वर चोकमा। आज पढ्न सुरू गरेको पुस्तक भोलि पूरा गर्ने। नसके पर्सी पूरा गर्ने। त्यसरी पनि मैले धेरै किताब पढेको छु। केही समय त्यसरी नै हल्लिएपछि म फेरि बुटवल हानिएँ जागिर खान। अब त के टेन्सन? महिनाको एक हजार रूपैयाँ किताब किन्न छुट्याइयो।
सूरूमा त ३/४ वटा किताबभन्दा किन्न सकिएन। पछि बुटवल बजारका गल्लीहरू घुम्दै जाँदा साझाको डिपो भेटेँ। साझाले एक हजार रूपैयाँको किताब लगे २५% छुट दिने। कनिकनी १०% छुटमा किताब किन्ने समस्याबाट मुक्त भएर झोलाभरि किताब पाइने, त्यो पनि २५% छुटमा। त्यो क्रम पनि चलीरह्यो।
फेरि स्नाकोत्तर पढ्न काठमाडौँ छिरेँ। त्यो समय किताब कम मान्छे र समाज बढी पढियो। पुस्तक निकालियो आफैले पनि। दुई वर्ष काठमाडौंमा हल्लिएर फेरि बुटवल फर्किइयो। बुटवल फर्किने समय किताबको मोह हराएको थियो। जिन्दगीमा केही गर्न पर्छ भन्ने हुटहुटीसँगै कताकता नैराश्यता पनि थियो।
जिन्दगीमा अदृश्य त्यस्तै केहीले सताइरहेको थियो। बुटवल फर्केपछि रमेश सर, दिलीप भाइ र मित्र रामचन्द्रसँग भेट भयो। किताबका खत्रा किरोहरू। उहाँहरुसँगको संगतले फेरि पठनमा फर्किएँ। साथीहरूले तैले त यो पढिस् होला नि भन्दा छैन भन्न साह्रै गाह्रो लाग्ने।
यो पुस्तकमा यस्तो छ भन्ने कुरा गर्दा आफू औंलाका नङ टोकेर बस्न पर्ने। किताब नपढेको मान्छे र एक्लो। अन्धकारमा डुबेको कालो रङ जस्तो। आफैलाई चिमोटेँ। छामेँ, के म निदाइसकेको हुँ?
तर यो मौनता धेरै दिन टिकेन। हाम्रो अड्डा हुन्थ्यो हिमालय बुक हाउस। माधव अंकल पनि पढन्दास्। देश तथा छिमेकी भारतका पठन रूचि हुनेहरूको सम्पर्क केन्द्र। धेरै समय त्यही भुलियो। केही किताब त्यही बसेर पनि पढें।
कहिले नगदमा र कहिले खातामा लेखाएर पनि फेरि दैनिक एउटा पुस्तक पढ्ने बानीको सुरू भयो। त्यति मात्रै भएन, पठन संस्कृति र विमर्शको लागि अनौपचारिक संस्था- पाठक मञ्च बुटवल पनि खोल्यौँ।
त्यो पठन, ती छलफल र पाठक मन्चको आँगनको विमर्श र मौसमलाई चटक्क छाडेर एकदिन म चिल गाडी चढेँ। किताबमा पढेका मुराकामीको देशमा। अचेल स्मृतिमा तिनै दिन आउछन्। यादभन्दा बढी भोक र प्यासले सताउँछ। कहिले त अझै पनि कोही मान्छे पाइए किताब मगाउछु। अनेसास केन्द्रीय अध्यक्ष प्रकाश दाइले पनि नेपाल गएको छेकमा धेरै पुस्तक बोकेर आउनु भएको छ मेरै लागि।
त्योसँगै अरू भेटहरूमा पनि उपहार पाइरहन्छु, नतमस्तक छु। परदेश बसाइमा मैले पुस्तक जतन गर्न सकिनँ। केही साथीहरूलाई उपहार स्वरूप दिएँ। केही मसँगै थिए।
जुलाइको महिना थियो। चरम मानसिक र आर्थिक संकटमा थिएँ। कोरोना ग्रस्त संसारले जापानलाई अछुतो राख्ने कुरै भएन। त्यसमा हामी आप्रवासी झन् पीडित भयौं। जुलाई जापान आएको पनि ३ वर्ष बितिसकेको थियो। खै दिमागमा के कुराको आगो सल्कियो, अब जापान बस्दिनँ भन्ने भएछ।
मनमा आवेशको हुरी चलेछ। एक्लै बर्बराएँ। पढेर के हुन्छ? के छ यी जाबा कागजका खातमा? अचानक राति खै के मुड भयो, अहिले सम्झदा आफै चकित पर्छु। केही लत्ता कपडा अरू सामान सहित किताबहरू पनि फोहोरको कन्टेनरमा लगेर फालीदिएछु।
कहिलेकाहीँ दिमागमा नकारात्मक कुराले प्रश्रय पाउछ र उसकै जित हुन्छ। पुस्तक जसले मलाई ज्ञान दिएको थियो, तिनैलाई मैले फालेँ! घोर पश्चाताप लाग्छ। कही गएर क्षमा पूजा गर्न मिल्छ भने एकचोटि भन्न मन छ- माफ गर सरस्वती, कहिले काहीँ मानिसमा पागलपन सवार हुँदो रहेछ।
त्यो समय २/३ महिना त्यसैगरी गुज्रियो। विस्तारै लयमा फर्किएँ। र फेरि पढ्न थालें। आजकाल कहिले पिडिएफ तिर भौतारिइरहन्छु। अभाव त अभावकौ संग्रहालय हो जिन्दगी। पुस्तकालयमा गएर रोजीरोजी र पुस्तक पसलमा गएर छानी छानी पढे जस्तो त कहाँ हुन्छ र परदेशमा! यहाँ त समय पढ्नु छ, काम पढ्नु छ।
बा-आमासँगै छोडी हिडेका रहर र सपना पूरा गर्नु छ। कहिले काहीँ एक्लै बसेर ती दिनहरू सम्झन्छु। जुन दिन मैले पुस्तकालय कस्तो हुन्छ भन्ने देखेको पनि थिइनँ। म जस्तै सुदूर गाउँका अन्जान मस्तिष्कहरूलाई पुस्तकालय खोलर देखाउनु छ, यस्तो हुन्छ पुस्तकालय। यहाँबाट निशुल्क रोजी रोजी ज्ञान लिनु है भन्न मन छ।