नेपाली चित्रकारितामा हरिप्रसाद शर्मा इतिहास, शङ्करराजसिंह सुवाल संस्कृति, हीरालाल डङ्गोल–हेम पौडेल–जीवनाथ पोखरेल चराले चिनिए। लैनसिंह बाङ्देल खासगरी कुचीमा नीलो रङ चलाए। रमेश खनाल अरूपण, गौतमरत्न तुलाधर पानी र संस्कृति, किरण मानन्धर–जीवन राजोपाध्याय आदि अमूर्तता र सुषमा राजभण्डारी गणेश मुहाराकृतिले चिनिएका छन्। रागिनी उपाध्यायमा राजनीतिक चेत छ। डा रामकुमार भौकाजी मूर्त गाउँघरको परिवेशमा रमाउँछन्। शान्तकुमार राई महिलामा रमाउँथे। थान्का, मिथिला, नेवारी, थारू कलाका आ–आफ्नै चित्र कलाकार छँदैछन्।
गोर्खाली राजा द्रव्य शाहका सन्तान, तत्कालीन मुमा बडामहारानी रत्नराज्यलक्ष्मीका मामाका छोरा शशिविक्रम शाह नेपाली चित्रकारिता स्थापित नाम हो जो पूर्वीय दर्शन खासगरी घोडा चित्रले बढी चिनिन्छन्। भारतका हुसेन पनि घोडामा काम गर्थे। हिन्दू धर्मको विश्वासअनुसार संसार पालनकर्ता मानिएका विष्णुको दसौँ अर्थात् कल्की अवतार सेतो घोडाका रुपमा आएर कलि नाश गर्नेछ।
प्राचीनकालदेखि नै यातायात र लडाइँमा प्रयोग हुने घोडा गति र तीव्रताको विम्ब पनि हो। समुद्रमन्थनबाट प्राप्त दर्जनौँ वस्तुमा उच्चैश्रवा घोडा पनि एक हो। पूर्वीय दर्शनअन्तर्गत ‘अश्वशास्त्र’मा घोडाबारे निकै वर्णन छ।
कलिको आगमन तथा विकृति र विसङ्गतिको व्याप्ति वा तीव्रता देखाउने आदि प्रयोजनका लागि कलाकार शशि शाहले घोडालाई चित्राङ्कित गरेको धेरै वर्ष भयो। उनले तीव्रता र गतिको प्रतीक घोडालाई बलशाली समयको विम्बका रुपमा पनि लिएका छन्। तिनै प्राज्ञ कलाकारको व्यक्तित्व र कृतित्व समाविष्ट गरी नाफाका सदस्यसचिव विपिनकुमार घिमिरेले ‘शशि शाहः कलायात्रा’ (नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, २०७६) कृति प्रकाशनमा ल्याएका छन्।
चित्रकारितामा सत्यमोहन जोशी, चन्द्रमानसिंह मास्के, तेजबहादुर चित्रकारको एक समूह थियो। त्यसपछि स्किब–७१, याग, नेपाल कलाकार समाज, सोमा आदि जन्मे। स्किब (शशि, कृष्ण मानन्धर, इन्द्र प्रधान र वत्सगोपाल वैद्य) का संस्थापकमध्येका शाह पनि एक हुन्। ललितकला महाविद्यालयका शिक्षक, ललितकला क्याम्पसमा अध्यापक, क्याम्पस प्रमुख तथा सिर्जना कलेज अफ फाइन आर्टस्का संस्थापक तथा प्रिन्सिपल शाह नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ पनि भए।
संस्थागत आबद्धता शाहका लगभग यिनै होलान्। भारतको मुम्बईस्थित सर जेजे स्कूल अफ आर्टस्बाट तालिम प्राप्त उनी आफ्नो परिवार र डा हर्क गुरुङबाट कला प्रेरणा लिएर यस क्षेत्रमा आएका हुन्। उनका दाजु गोवद्र्धन त नेपालका प्रथम व्यङ्ग्यचित्रकार नै मानिन्छन्। एकासी वर्षीय शाहका देशविदेशका काठमाडौं, पोखरा, भारत, बङ्गलादेश, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, रुसमा कला प्रदर्शनी भइसकेको छ।
अतियथार्थवादी कलाकार स्पेनका साल्भाडोर डालीबाट प्रेरित उनका कला शुरुमा मुलुकका सामाजिकार्थिक समस्या, विकृति, विसङ्गतिमा केन्द्रित थियो। उनी पछि परावस्तुवादी, अमूर्त अभिव्यञ्जनावादतिर डोरिए। घोडाको चित्रण गर्दा उनका रेखाङ्कन, संरचना, अनुपात, रङ संयोजन सीपमा बेजोड छ। ‘हरेक मान्छेको आत्मामा घोडा छ। घोडाको गुण–आफू मर्ने बेलामा मात्र ऊ थाक्छ। घोडा बलको प्रतीक हो र सबैभन्दा बलवान् समय हो ...हामी घोडा झैँ हुुनुपर्दछ किनकि त्यो दौडमा थाक्दैन। यदि त्यस्तो हुन सकेन भने आजको समयमा हामी बाँच्न सक्दैनौँ’, शाह भन्छन्।
घोडालाई गति र अथकताको मात्र विम्ब नमानी उनले हरिया, नीला, प्याजी, काला घोडाका माध्यमबाट सफलता, खुशी, उल्लास, दुःखको भाव सिर्जना गरेका छन्। गतिशील, तेजिला, शक्तिशाली घोडाहरुले पीडा, डर, त्रास र चिन्ता भाव पनि दिएका छन्। यसरी उनी आफ्नो मौलिक पहिचान दिई घोडाका माध्यमबाट कल्की र गति मात्र नभई विकृति, विसङ्गति, असमानता आदि सबै विषयमा कुँदेका छन्।
खासगरी सेता, काला, नीला, पहेँला रङको संयोजनबाट उनले ‘दशावतार’, ‘समुद्र मन्थनको केही रुप’, ‘ब्रह्मा, विष्णु र महेश’, ‘रामायण’, ‘शरशय्यामा भीष्मपितामह’, ‘अज्ञाततिर सिँढी’, ‘उडिरहेको चङ्गा’, ‘नील रात’, ‘सूर्यका सात घोडाहरु र दुःखी भिक्षु’, ‘ब्ल्याक हर्स एण्ड वल्र्ड ट्रेड सेन्टर’, ‘घोडामाथि हतियारधारी बुद्ध’, ‘राजदरबार हत्याकाण्ड’ आदि चित्राङ्कन गरेका छन्।
विद्यालय जीवनदेखि नै उनले खाली समय रेखाचित्रमा ध्यान दिएका थिए। कालो मसी र नीबबाट आफ्नै विभिन्न रुप, समुद्र मन्थन, शेषश्यामा विष्णु, घोडाका विभिन्न रुप पनि रेखाङ्कन गरेका छन्। रोचक घिमिरेको ‘रचना’ पत्रिकामा निरन्तर समसामयिक व्यङ्ग्यचित्र छापिँदै आएको छ। ‘शशिका चित्रहरु समाजमा व्याप्त विकृतिमाथि सूक्ष्म रुपबाट प्रतिक्रिया जनाउँछन्। उनका चित्रहरुमा अन्याय र अत्याचारबाट थिचिएका पात्रहरुको चित्रणम विद्रोहको आभास दिइएको हुन्छ। खास गरी घोडाको स्वरुपमा चित्रण गरिएका विविधताले दिने प्रभाव नै उनमा रहेको विशेषता मानिएको छ’, कलाकार तथा लेखक घिमिरेले भने।
कृतिले शाहका बारे अझ बढी अनुसन्धान गर्न ढोका खोलिदिएको छ। स्थापित कलाकारलाई चिनाउने लेखकको यो प्रयास प्रशंसनीय छ। शाहका प्रतिनिधिमूलक चित्रहरुले कृतिलाई गहकिलो बनाएको छ। कृृतिमा एक अङ्ग्रेजी लेख पनि छ, जसको भाव नेपालीमा आइसकेकाले नराखेको भए हुन्थ्यो। नाफा जस्तो संस्थाबाट प्रकाशित कृतिमा पनि वर्णविन्यासमा अनगन्ती अशुद्धि हुनु राम्रो होइन।