अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल प्रेम सम्बन्धमा रहेको हल्ला फैलिएको धेरै समय भइसक्यो। यी दुई कलाकार गुपचुप एकअर्कालाई डेट गरिरहेको खबर उनीहरुकै नजिकका साथीहरुले नै खुलाइरहेका छन्।
यही बेला कट्रिना र विक्कीको विवाहबारे मिडियामा धेरै चर्चा भइरहेको छ। हालै मात्र कट्रिनाको विक्कीसँग विवाह हुने तय भएको र उनीहरुले विवाहका लागि तामझाम सुरु गरिसकेको खबर आएको थियो।
मंगलबार सेलिब्रेटी म्यानेजर रेश्मा सेट्टीको विवाहमा याे जोडी सँगै उपस्थित भएपछि उनीहरुको विवाहको हल्ला एकाएक फैलिएको हो। उनीहरुको विवाह आउँदो डिसेम्बरको पहिलो हप्ता हुने तय भएको बताइएको थियो। एनडिटिभीका अनुसार विवाहको लागि कट्रिना र विक्कीले भारतको सवाइ माधोपुरस्थित सिक्स सेन्सेस फोर्ट बर्वारा नामको दरबार बुकिङ गरेको जानकारी आएको थियो।
उनीहरुले सब्यसाचीले डिजाइन गरेको लुगा विवाहको लागि लिने तयारी गरिरहेको कुरासमेत बाहिर आएको थियो। आफ्नो र विक्की कौशलको विवाहबारे हल्ला सबैतिर फैलिएसँगै कट्रिनाले यसबारे बोलेकी छिन्। उनले अहिले विवाह गर्ने सुरसार नभएको र मिडियामा आएका सबै जानकारी गलत भएको उनको भनाइ छ।
यता भारतको अखबार इटीटाइम्सले भने कट्रिना र विक्कीले यो वर्षको अन्तिमतिर विवाह गर्ने जनाएको छ। एक महिनाअघि इटीटाइम्ससँगको अन्तर्वार्ताक्रममा विक्की कौशलले आफूले चाँडै इन्गेजमेन्ट गर्ने बताएका थिए। त्यहीबेला उनलाई कट्रिनासँगको सम्बन्धबारे प्रश्न पनि गरिएको थियो, जसको जवाफमा उनले हाँस्दै भनेका थिए, ‘यो खबर पत्रपत्रिकाले फैलाएको हो। समय आएपछि छिट्टै इन्गेजमेन्ट गर्छु।’