कौरव र पाण्डवको कहानीमा आधारित 'महाभारत' पहिलो पटक बिआर चोपडाले सानो पर्दामा लिएर आएका थिए। अब निर्देशक फिरोज नाडियाडवालाले फिल्म 'महाभारत' बनाउने भएका छन्।
भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार यस फिल्ममा भारतका चर्चित कलाकारको अभिनय रहनेछ।
यस फिल्मको काम सुरु भइसकेको छ। ४/५ वर्षदेखि फिल्मको स्क्रिप्ट लेखन कार्य भइरहेको छ तर फिल्मको प्रि-प्रोडक्सनमा अझै केही वर्ष लाग्ने बताइएको छ। सन् २०२५ मा फिल्म तयार पारिसक्ने याेजना निर्माण टिमको छ।
निर्माता फिरोज नाडियावालाका अनुसार यो फिल्म हलिउडका 'द लर्ड अफ रिङ्स, गेम अफ थ्रोन्स, स्टार वार्स, ह्यारी पोर्टर'जस्ता फिल्मलाई टक्कर दिनेछ। ३ घण्टा लामो फिल्मको बजेट ७०० करोड भारतीय रुपैयाँ रहने बताइएको छ। 'महाभारत' अहिलेसम्मकै महंगो भारतीय फिल्म बन्नेछ।
हिन्दी र अन्य भाषामा समेत निर्माण हुने फिल्ममा अक्षय कुमार, अजय देवगन, रणवीर सिंह, परेश रावल, नाना पाटेकर, अनिल कपूरलगायत अन्य कलाकारको अभिनय रहनेछ। तर अहिलेसम्म कसले कुन चरित्रमा अभिनय गर्नेछन् भनेर खुलाइएको छैन। निर्माताले दक्षिण भारतीय अभिनेतासँगै चर्चित अभिनेत्रीलाई लिने तयारी गरिरहेका छन्।