अभिनेता प्रभास, कृति सेनन र सैफ अली खानको बहुप्रतिक्षीत फिल्म 'आदिपुरुष' आगामी जनवरी १२ मा रिलिज नहुने सम्भावना छ। भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार निर्माताहरूले यसको रिलिज मिति सार्ने सोच बनाएका छन्।
अब यो फिल्म गर्मी यामतिर रिलिज गर्ने बताइएको छ। खबरहरूका अनुसार अरू फिल्मसँग जुध्नबाट जोगिने मिति सारिएको दैनिक भाष्करले लेखेको छ।
जनवरी-फेब्रुअरीमा दक्षिण भारतीय ठूला फिल्म रिलिज हुँदै छन्।
चिरञ्जीवीको 'वाल्टेयर वीरैया', नन्दमुरी बालकृष्णको 'वीर सिम्हा रेड्डी', ममूटीको 'एजेन्ट' र थलापति विजयको 'वारिसु' रिलिजको तयारीमा छन्।
यी सबै फिल्मका बीच 'आदिपुरुष' लाई दक्षिण भारतमा धेरै स्क्रिन पाउन मुश्किल हुने देखिएको छ। यही कारण आदिपुरुषको रिलिज मिति सार्न लागिएको अनुमान छ। यसबारे निर्माताहरूले भने कुनै आधिकारिक जानकारी दिएका छैनन्।
केही समयअघि मात्र आदिपुरुषको टिजर सार्वजनिक भएको थियो। एक मिनेट ४६ सेकेन्डको टिजरमा प्रभासलाई रामको भूमिकामा देख्न सकिन्छ भने सैफ अली खानलाई रावणको। कृति सेननले सीताको भूमिका निर्वाह गरेकी छन्।
हिन्दी र तेलेगु भाषामा छायांकन हुने आदिपुरुष ओम राउतले निर्देशन गरेका हुन्। पछि यो तमिल, मलयालम, कन्नड लगायत अन्य भाषामा समेत उपलब्ध हुने बलिउड हंगामाले जनाएको छ।
आदिपुरुष थ्री-डी फिचर फिल्म हो। यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ। यसमा कला, संस्कृति र साहित्यको सही मिश्रण पाउन सकिने फिल्म टोलीले बताएको छ।
आदिपुरुष करिब ५ सय करोड भारूमा बनिरहेको फिल्म भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। तर यति महँगो बजेटको यो फिल्मको टिजरले प्रशंसाभन्दा धेरै आलोचना खेप्नुपर्यो। फिल्ममा प्रयोग भएको भिएफएक्सका कारण धेरैले यसलाई कार्टुन, एनिमेसनदेखि भिडिओ गेमसम्म भने।
भिएफएक्सको गुणस्तर राम्रो नभएकाले यसमा पात्रका अनुहार, शरीरदेखि सबैजसो दृश्य एकदमै नक्कली लागेको टिप्पणी भएको थियो। सस्तो भिएफएक्समा फिल्म बनाएको भन्दै आदिपुरुषका निर्माण टोलीको आलोचना समेत भएको थियो।
त्यस्तै रावण बनेका सैफ अली खानको हुलियालाई लिएर पनि निकै धेरै नकारात्मक टिप्पणी आएका थिए।
नकारात्मक टिप्पणीपछि निर्देशक राउतले आफू दुखी भएको बताएका थिए। उनले यो फिल्म फोनको स्क्रिनका लागि नभएर हलको स्क्रिनका लागि बनाएको समेत बताएका थिए।
यही विवादबीच अहिले फिल्मको रिलिज मिति सार्ने खबर आएको हो। प्रशंसकहरूले भने फिल्मको भिएफएक्समा सुधार गर्न मिति सारिएको अपेक्षा गरेका छन्।