भारतीय टेनिस खेलाडी सानिया मिर्जा र पाकिस्तानी क्रिकेट खेलाडी शोएब मलिकको सम्बन्धविच्छेद बारे हल्ला चलिरहेको छ।
भारतीय सञ्चारमाध्य बलिउड लाइफका अनुसार उनीहरू अलग-अलग बस्दै आएका छन्। सानियाले दुबईको घर छाडेकी छन्।
यसैबीच उनीहरूको सम्बन्धविच्छेदको हल्ला फैलिएको हो। तर यस विषयमा उनीहरूले केही खुलाएका छैनन्। दुवै जना मौन बस्दा उनीहरूबीच खटपट भएको कुरालाई अझ बल पुगेको छ।
सानिया आफैले पनि आफ्नो वैवाहिक जीवनमा सबै ठीक नभएको संकेत गर्दै क्याप्सन लेखिरहेकी छन्।
केही दिन अगाडि सानियाले छोरा इजहानसँग एक तस्बिर सेयर गर्दै लेखिन्, ‘टुटेको मन कहाँ जान्छ र!’
उनको यो पोस्ट सामाजिक सञ्जालमा भाइरल भयो।
सानिया र शोएबको विवाह हुँदा निकै चर्चा भएको थियो। उनीहरूको विवाहलाई दुई देशबीच सम्बन्धको रुपमा हेरिएको थियो। विवाहको १२ वर्षपछि सम्बन्धविच्छेदको खबर बाहिरिँदा प्रशंसकहरू दुःखी भएका छन्।
पाकिस्तानी सञ्चार माध्यमका अनुसार शोएब आयशा ओमरसँग डेट गरिरहेका छन्। आयशा पाकिस्तानी अभिनेत्री तथा मोडल हुन्।
शोएबले आफ्नो इन्स्टाग्राममा आयशासँगको तस्बिर पोस्ट गरेका थिए। जसमा उनले आयशालाई आफ्नो साथी भनेर सम्बोधन गरेका थिए। उनीहरूको निकटताले सबै आश्चर्यमा परेका थिए।
सानिया र शोएबबीच कानुनी प्रक्रिया मिलिसकेपछि आफ्नो निर्णयको घोषणा गर्ने भारतीय सञ्चार माध्यममा उल्लेख छ।
सानिया र शोएबको एक छोरा छन्। ६ महिना डेट गरेपछि सानिया र शोएबले सन् २०१० मा विवाह गरेका थिए।