आज विश्व भौगोलिक सूचना प्रणाली (GIS) दिवस हो।
भू-सूचना प्रणालीमार्फत् बैज्ञानिक, सामाजिक तथा स्थानीय तथ्यांकहरु प्रयोग गरी स्थानीय निकायका योजना तथा कार्यक्रम निर्माण गर्न सजिलो हुन्छ। विश्वका धेरै देश यसबाट लाभान्वित भएका छन्।
भर्खरै सम्पन्न नेपालको विकेन्द्रिकृत शासन प्रणाली केन्द्रदेखि स्थानीय तहसम्ममा विभाजित गरिएको छ। जसमा ७ सात प्रदेश, ७७ जिल्ला, ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तह छन्। नेपालमा पनि भू–सूचना प्रणाली उपयोग गरी स्थानीय तहको योजना निर्माण प्रक्रिया अझ बढी व्यवस्थित तथा वैज्ञानिक गर्न सहयोग पुग्ने देखिन्छ।
भू-सूचना प्रणाली के हो ? यो भौगोलिक तथ्यांकमा आधारित एक बैज्ञानिक प्रणाली हो। यसले भौगोलिक तथ्यांक संकलन, अद्यावधिक, विश्लेषण, व्यवस्थापन तथा प्रस्तुति गर्न सहयोग गर्छ। भू-सूचना प्रणाली एउटा सफ्टवेयर मात्र नभई पृथ्वीको भू–भाग तथा यससँग सम्बन्धित विभिन्न तथ्यांकको विश्लेषणात्मक प्रयोग हो।
यसको प्रयोग विभिन्न क्षेत्रमा गरिन्छ जसको सहयोगबाट स्थानीय, क्षेत्रीय, देशीय, अन्तर्देशीय, महादेशीय तथा सम्पूर्ण भूगोलका सूचना पाउन सकिन्छ।
यो प्रविधिले के कुरा कहाँ छ ? यो के हो ? भूगोलमा के कति परिवर्तन भयो ? कस्ता-कस्ता तहका भौगोलिक संरचना तथा तिनका पारस्परिक सम्बन्ध छन्? यस्तो नभएको वा भएको भए के हुन सक्थ्यो भन्ने जस्ता प्रश्नको उत्तर वैज्ञानिक तथा तथ्यपरक ढंगले दिन्छ।
नेपालमा भू–सूचना प्रणालीको प्रयोगत्रिभुवन विश्वविद्यालयको भूगोल विभाग, कीर्तिपुरमा भू–सूचना प्रणालीको पाठ्यक्रममा समावेश गरेपछि गैर सरकारी संस्थाहरुले यसको प्रयोग गरी लाभान्वित भएका थिए। वर्तमान अवस्थामा मन्त्रालय, विभाग, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संघसंस्था, विश्वविद्यालय तथा शैक्षिक निकाय, निजी क्षेत्र तथा व्यापारिक प्रतिष्ठान, परामर्शदाता कम्पनीले यो प्रविधि प्रयोग गर्दै आएका छन्।
वन तथा वनस्पति मापन, वन्यजन्तु तथा यिनका वासस्थान मापन, प्राकृतिक श्रोतको अवस्था अध्ययन, जल विद्युत उत्पादनका लागि स्थान छनोट तथा प्राकृतिक उच्च जोखिमयुक्त स्थान पहिचान, सेवा केन्द्रको अवस्थिति, भू–उपयोग, जनसंख्याको वितरण, विकासका पूर्वाधार अवस्थिति, खानी तथा भूगर्भ अध्ययन, प्राकृतिक श्रोत, नदीनाला, ताल तलैया, पारिस्थितिकीय प्रणाली अध्ययन, प्राकृतिक भूगोल प्रकार (तराई, भावर क्षेत्र, दुन, उपत्यका, पहाड, हिमाल, चट्टान), पर्यटकीय स्थल जस्ता विभिन्न विषय तथा क्षेत्र सम्बन्धि वैज्ञानिक अध्ययन गरी योजना निर्माणमा उपयोग गरेको पाइन्छ।
डब्लु डब्लु एफ नेपालले सन् १९९८ देखि नेपालको वन–वनस्पति, वन्यजन्तु, राष्ट्रिय निकुञ्ज, वन कार्वन मापन, बाघ-गैंडा गणना, भू–जलाधार, भौतिक पूर्वाधार जस्ता विधामा भू–सूचना प्रणालीको प्रयोग, तालिम तथा प्राविधिक सहयोग गर्दै आएको छ।
भू–सूचना प्रणालीको प्रयोग स्थानीय निकायमा कसरी ?भू–सूचना प्रणालीको विशेषतानै स्थानीयस्तरमा छरिएर रहेका विभिन्न तथ्यांक तथा सूचना एकत्रित गरी आफ्नो सिमाना भित्रका मानवीय र प्राकृतिक संसाधनको नक्सांकन गरी, स्थानीय जनतासँग प्रत्यक्ष संलग्न भएर वैज्ञानिक योजना बनाउनु हो।
यसको सहयोगबाट स्थानीय निकायले आफ्नो क्षेत्रका वस्तुस्थितिको विस्तृत अध्ययन विश्लेषण, भू–उपयोगको नक्सा अद्यावधिक बनाउने, उक्त तथ्यांकको आधारमा अल्पकालीन तथा दीर्घकालीन योजना निर्माण गर्न सक्छन्। आफ्ना सेवा केन्द्रहरु तथा प्राकृतिक श्रोतको वैज्ञानिक तथा न्यायिक वितरण गर्न उपयोग गर्न सक्छन्।
जंगल, मानव, वन्यजन्तु, खोलानाला, खेतीयोग्य जमिन, भौतिक पूर्वाधारको विवरण तथा अवस्थिति हेरी अल्पकालीन तथा दीर्घकालीन प्रक्षेपण गरेर योजना बनाउन सकिनेछ।
प्रत्येक स्थानीय निकायमा प्रविधि ईकाई (IT) सँगै भू–सूचना प्रणाली स्थापना गर्न सकिन्छ। यसका लागि अहिले निःशुल्क प्रदान गरिएका वा इन्टरनेटमा सहजै प्राप्त गर्न सकिने सफ्टवेयर प्रयोग गर्न सकिन्छ। यस्ता सफ्टवेयर GRASS GIS, Quantum GIS, Generic Mapping Ttools, ArcGIS Explorer Desktop, Diva GIS, SAGA GIS हुन् जो स्थानीय निकायले आफ्ना कम्प्यूटरमा राख्न सक्नेछन्।
Google Earth Pro पनि निःशुल्क पाईने सफ्टवेयर हो। भूगोल, प्राकृतिक श्रोत व्यवस्थापन, वातावरण विज्ञान, वन विज्ञान, इञ्जिनियरिङ, सामाजिक विज्ञान अध्ययन गरेकाले यो प्रविधि चलाउन सक्छन्। यी माथिका विषय पाठ्यक्रममा भू–सूचना प्रणाली समावेश छ।
साथै यसका लागि चाहिने अति आवश्यक तथ्यांकहरु नेपाल सरकारको नापी विभाग, डब्लु डब्लु एफ नेपाल, GIS portal अन्य सम्बन्धित वेबसाइटहरुबाट पनि प्राप्त गर्न सकिन्छ।