सन्दर्भ हो, हरेक दुईवर्षको अन्तरालमा दसैं तिहारको बीचमा सम्पन्न हुने गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको आठौं विश्व सम्मेलनमा जाने क्रममा।
‘दाइ ट्याक्सी खाली हो?’ बनस्थली चोकमा पार्किङ गरिरहेको एउटा ट्याक्सी ड्राइभरलाई सोधे।
उसले आफ्नो मुन्टो अलि वर ल्याएर, खाली त खाली नै हो, कहाँ जाने होला कुन्नी? भनेर अलि त्यस्तै त्यस्तै पाराले जवाफ फर्कायो।
भनिन्छ मान्छेसँग सात पाइला हिड्दा,उसको सातवटा आनीबानी थाहा हुन्छ रे तर मलाई ट्याक्सी ड्राइभरको त्यो एक जवाफले उसको सात होइन सात सय स्वभाव थाहा भइरहेको थियो। तर पनि मैले उसको त्यो पारालाई इंनोर गरेर्र हायात होटल’सम्म जाऔँ न दाइ भनेर हत्तनपत्त पछाडिको सिटमा बसिहाले।
बस्ने बित्तिक्कै एकछिन त म एसएमएसको रिप्लाई दिन व्यस्त भए तर एकमिनेट हुन लाग्दा पनि ट्याक्सी चलाउँदैन त बा। म मोबाइल ब्यागमा राख्दै “दाइ हिड्नुस न छिटो, मान्छे कुरिराछन् भने ’
ट्याक्सी कुदाउनु त कहाँ छ पछाडि फर्केर ‘कति दिनुहुन्छ?’ रे
‘हिड्नुस् न मिटरमा , उठेको जति त दिइहाल्छु नि।’
‘आठसय दिनुस्, नत्र नजाने। अब जाम हुने बेला भयो रे,’ ड्राइभर अलि झर्किएर बोल्यो।
‘हिजो भर्खरै त उ त्यही बालाजुबाट म गएको कतिबेर जाम पर्दा पनि जम्मा चार सय उठेको थियो,’ म नम्र भएर भनेँ। मलाई अबेला भइरहेको थियो। धुलिखेलमा हेल्प नेपाल नेटवर्कले निर्माण गरेको बालआश्रम पनि जानुथियो। डिला खरेलजी लगायत हेल्प नेपाल नेटवर्कका अन्य अग्रजहरु तयार भएर बसिसक्नुभएको थियो।
त्यतिकैमा दिदीको फोन आयो।
‘पुगिस्?’
‘कहाँ पुग्नु, च्याक्सी ड्राइभरसँग किचकिच गर्दैछु। आठ सय ले भन्छ।’
त्यही जान पनि आठ सय... खुरूक्क पुलिसलाई भनिदेन। आजकाल त सिधै फाइन दिन्छ त। दिदीले मलाई जुक्ति सिकाउँदैहुनुहुन्थयो। म पनि हुन्छ हुन्छ भन्दै ‘दाइ पुलिसलाई भनिदिउँ सर्वसाधारण ठगेको, मिटरमा जान नमानेको भनेर। म ट्याक्सीबाट ओर्लेर उसैको झ्यालमा गएर कराउँछु।’
मलाई त उल्टै, फुटपाथको चस्मा लगाएर शान नदिएहुन्छ, ट्याक्सीमा जाने हैसियत पनि हुनुपर्यो नि रे भन्दै ट्याक्सी हुइक्याउँछ।
बल्लबल्ल मिटरमा जाने ट्याक्सी एकछिनपछि भेटेँ।
‘दाइ, छिटो, छोटो र जाम नहुने बाटो जाऔँ है।’
कति नम्र बोल्ने ट्याक्सी दाइ, ‘हुन्छ बहिनी, नआत्तिनुस् न, म तपाईँलाई समयमा नै पुराइदिन्छु। दाइको स्वरमा मिठास थियो। कति आनन्द आएको त्यो ट्याक्सीमा यात्रा गर्न र मनमा ढुक्कपनि भएको थियो कि मलाई दाइले समयमा नै पुराइदिनुहुन्छ भनेर। दाइसँग चाँहि बल्ल ग्रह मिल्यो जस्तो भयो।
‘अनि बहिनी, एनआरएनको कार्यक्रममा जान लाग्नुभएको?’, मसिनो नरम स्वरमा दाइले सोध्नुभयो।
मैले पनि ‘हजुर दाइ बरू छिटो है, मान्छे कुरिराछन् भने’
‘बहिनी चाँहि झैझगडामा नमुस्सिनु नि, मलाई त यीनीहरु कुकुरविरालु जस्तै बाँझ्छन् रे भनेको सुनेर थुइकक जस्तो लागेको छ। भनाभन त छदैथियो अलिअलि हात हातहानाहान गर्दो रहेछ नि त?’
मोबाइलमा फेसबुक चेक गरिरहेकी म उहाँको यो वाक्यले झसङ्ग भए र के रे दाइ भनेर अलि चाख दिएर सोधे?
ट्याक्सी ड्राइभर दाइलाई एनआरएनएभित्र हुने कहिलेकँहिको मनमुटावको बारेमा राम्ररी जानकार भएको देख्दा मलाई अचम्म त लाग्यो नै एनआरएनहरुको कहिलेकाँहिको अपरिपक्क व्यवहारले अलिअलि कमाएको इज्जत कताकता लिलामी भइरहेछ भन्ने कुराको पनि राम्ररी हेक्क भयो।
कुरा बुझ्दा थाहा भयो,दुईवर्ष अगाडि सोल्टी होटलमा एउटा एनआरएन ग्राहकलाई लिएर दाइ जानुभएको रहेछ। ट्याक्सीमा रहेको ग्राहकले फोनमा कुरा गरेको उहाँले सुन्नुभएको रहेछ। ग्राहक “होर, होर,होर.. ल,लल... म पुग्न लागे, साला भाते त्यसले त्यसो पो भन्छ रे। फेरि हातहालालाको स्थिती आएछ, त्यसको टाउकोमा नै बजारेको भए हुन्थ्यो नि। लललल.. म ५ मिनेटमा आइपुगिहाले।” दाइको अनुसार फोन राख्ने वित्तक्कै त्यो ग्राहकले अर्को एकजना मान्छेलाई फोन गरेर , “ ए भाइराजा तपाइँ कहाँ हो, त्यहाँ भनाभन भएछ, अलिअलि हातपात पनि भएछ , म कलंकी आइपुगिसके यसो त्यहाँ गएर स्थिती बुझ्ने हो कि,,,,लल छिटो है ” भन्दै थियो रे।
हामी चाबहिल आइसकेका थियौ तर ठ्याक्कै जोरपाटी मोडिने ठाउँमा जाम पर्यो।
“दाइ यो जामले त बिताउँला जस्तो छ, अब के गर्ने ?” म आत्तिरहेकी थिए।
“खुल्छ होला, नआत्तिनु न , यो त सामान्य जाम हो। हामीलाई त जाममा नै एकदुई घण्टा बस्ने बानी परिसक्यो बहिनी के गर्नु बहिनी देशको जाम देख्दा छोराछोरीलाई विदेश पठाउन मन लाग्छ तर एनआरएन बन्छ कि भनेर पनि पीर लाग्छ।”
दाइ आफैले भनेको बाक्यमा आफै मूर्छा परेर हाँस्दै हुनुहुन्थ्यो। विचरा दाइको मानसपटलमा एनआरएको बारेमा पहिलो छवि नै एनआरएनहरु खाली यहाँकै नेताहरुको जसरी झगडा गर्छन्, लड्छन् भन्ने परेछ।
“दाइ सबै एनआरएनहरु झगडा मात्रै गर्दैनन्, तीनीहरु अपवादहरु हुन्। ती मानिसहरुलाई हेरेर सबैलाई एउटै बाकसामा पनि त हाल्नुहुन्न नि होइन ?” म अलि एनआरएनको पक्ष लिएको जस्तो गर्छु।
“खै बहिनी, म त खाली नराम्रो मात्रै सुन्छु एनआरएनको बारेमा। विदेशमा बसेर पनि एमाले, काँग्रेस, माओवादी भनेर राजनिति गर्छन् रे। भूकम्पमा पनि कति पैसा उठायो रे खै हाम्रो गाउँ पनि ध्वस्त भयो खै केही पाएनौ एनआरएनको हातबाट।”
एनआरएप्रति त्यसरी नकारात्मक हुनुमा दाइलाई अरु केही होइन दुईवर्ष अगाडिको त्यो संवादको झट्का हो र त्यो झगडा गरेको शब्दको झट्का यस्तोसँग गढ्यो कि उहाँले एनआरएनको बारेमा राम्रो सुनाउँदा पनि उल्टो बुझ्न थाल्नुभयो।
बल्लबल्ल जाम खुलेर होटल पुगियो। मिटरमा जम्म तीनसय चानचुन उठेको रहेछ। ब्यागमा सयका जम्मा दुईवटा नोट र अरु सबै पाँचसय र हजारका रहेछन्। दाइलाई पाँचसय दिए, फिर्ता गर्न पैसाहरु खोज्दैहुहुन्थयो मैले भैगो दाइ रमाइलो तरिकाले ल्याइदिनुभयो बाँकीको पैसाले चिया खानु भनेर म ट्याक्सीबाट ओर्लिए।
नौ बजे भेट्ने भनेर साढे नौ बजे बल्ल पुगे म त्यहाँ। म लगायत हेल्प नेपाल नेटवर्कको टोलि धुलिखेलमा अवस्थिर्त हेल्प नेपाल नेटवर्क चिल्ड्रेन्र्स होममा’ लागियो। एकदमै सुन्दर ठाउँमा बनेको त्यो चिल्ड्रेन्र्स होम र चिल्ड्रेन्र्स होम भित्रको सुविधा खानपान, सरसफाइ देखेर म त दंग भए। त्यो ट्याक्सी ड्राइभरलाई सम्झिए, यता आउने ग्राहक चाँहि विचराले बोकेका रहेनछन्। यो चिल्ड्रेन्र्स होम बनाउन विदेशमा बस्ने कयौँ नेपालीहरुको एक एक डलरको पनि योगदान छ , ती कयौँ नेपालीहरु एनआरएको सदस्य होलान् पनि नहोलान् पनि तर यस प्रोजेक्ट लगायत देशमा अन्य विकासको कार्यमा पनि उनीहरु अग्रसर भएको पाइन्छ, केही उपवादहरुलाई छोडेर हेर्ने हो भने। यो कुरा ट्याक्सी ड्राइभर दाइले बुझ्नु जरुरी छ जस्तो लाग्यो।
हाम्रो टोलिमा पूर्व अर्थमन्त्रि शंकर प्रसाद कोइरालापनि हुनुहुन्थयो। टोलिले एउटा माइक्रोवेभ चिल्ड्रेन होमलाई हस्तान्तरण गरियो र साथै डिला जी र शंकर कोइराला ज्यूले पनि सहयोगस्वरुप केही रकम हस्तान्तरण गर्नुभयो। हामी खाना खाएर फर्कदै हायत होटल फर्कदै थियौ, हामीसँगै जानुभएको एकजना एनआरएन दाजूको मोबाइलमा फोन आयो – उहाँ पनि, ए होर लौ खत्तम भएछ त। ठूलै झडप भएछ कि क्या हो... एएए... अँ..अँ,, ओके, सिट् , होर, फेशबुकमा लाइभ नै गरिदिएछन्, भिडियो पनि दिए रे .... हामी आउँदै छौ, ललल म आधा एक धण्टामा आइपुग्छु। बरु जानुस् स्थिती सामान्य पार्नुस् है।” उहाँले फोन राखेलगतै हामी सबै उहाँ बसेको सिटमा फर्केर के भएछ , भन्दा उहाँले केटाहरु फेरि झगडा गरेछन्, हातहानाहान भयो रे।
मैले विहानको ट्याक्सी ड्राइभरलाई सम्झिए र उत्तिनैखेर त्यही हामी सबै सवार माइक्रोको ड्राइभर दाइलाई पनि हेरे। उहाँ कान ठाडा ठाडा पारेर हाम्रो कुरा सुन्दै हुनुहुन्थ्यो र फोनमा बोल्दै गर्दा चभबचखष्भध mष्चचयच बाट एनआरएन दाजूलाई बढो चाखदिएर हेर्दै हुनुहुन्थ्यो।
उहाँले त्यतिखेर त केही बोल्नुभएन तर यो चाँहि पक्क थियो कि उहाँले कुनैदिन कुनैठाउँमा यो संवाद अरु ग्राहकलाई अवस्य सुनाउँनुहुनेछ र एनआरएको इज्जत फेरि एकचोटि लिलाम हुनेछ।