यो लेख ती महान् पाठकहरूको जाँगरसँग सम्बन्धित छ, जसले मागेर होइन, किनेर पुस्तक पढ्छन्। एउटा पाठकले किनेको केही पैसा कागज फ्याक्ट्रीमा जान्छ। केही पुस्तक छाप्ने प्रेसमा जान्छ। सानो अंश पुस्तक प्रकाशक, पुस्तक पसल र अन्त्यमा केही लेखकको हातमा आउँछ।
त्यो पैसाको लेखाजोखा सम्बन्धित संस्थाहरूले पाठक र सरकारलाई बताउलान्। तर एउटा लेखक भएको ठाउँमा कुनै पैसा आइपुग्दा त्यसले के गर्छ होला, सम्झदा हाँसो उठ्छ। हाम्रो परिवारमा आएको लेखस्वले गरेको काम केही अर्थमा हास्यास्पद र केही अर्थमा गम्भीर छ।
त्यो सानो घटना नघटेको भए सायद यो लेखिँदैनथ्यो। अथवा आत्मकथाको पाटो भएकाले पछि लेखिन्थ्यो। यही बेला सायद यसलाई लेखिन्न थियो।
दाँत दुख्ने हाम्रो पुस्तैनी रोग हो। सायद हाम्रो परिवारको रगतमा स्वस्थ दाँत बन्न आवश्यक आइरनको जन्मजात कमी छ। मेरी आमा अहिले ६४ वर्ष हुनुभयो। उहाँमा कुनै पनि रोग छैन तर दाँतमा समस्या आइरहन्छ।
मेरी दिदीलाई विराटनगर फोन गरेर सञ्चो विसञ्चो सोध्ने हो भने उहाँले भन्ने पहिलो वाक्य हुन्छ, ‘सञ्चै छ’, मलाई के हुने छ र? त्यही दुई–तीनवटा किराले खाएको दाँत दुखिरहेको छ।’ उहाँ दाँत दु:खाइमा यति अभ्यस्त हुनुहुन्छ, मानौँ दाँत दुख्ने कुनै रोग होइन।
मेरो भाइ अच्युत कोइरालाले आफूले अनुवाद गरेका दुईवटा पुस्तकबाट उठाएको रोयल्टी मध्ये अघिकांश पैसा दाँतको उपचारमा खर्च गरिरहेको छ। चालिस वर्ष पनि नपुगेको उसको मुखमा एक–दुई बाहेक प्राकृतिक दाँत छैनन्। प्रत्येक पुस्तक निस्केपछि ऊ नयाँ दाँत हाल्न डेन्टल अस्पताल पुग्छ। जब हाम्रो पारिवारिक भेट हुन्छ, हामी उसलाई मुख आँ गर्न लगाउँछौँ र भन्छौँ, ‘यो डोनाल्ड ट्रम्प, यो आइस्टाइन यो गिजुभाइ र यो चाहिँ नरेन्द्र मोदी।’ घरमा हाँसो फैलिन्छ।
त्यसपछि ऊ भन्छ, ‘तिमीहरूले मलालालाई आइन्स्टाइन भन्न पाउँछौ? वारेन बफेट र बिल गेट्सको ठिक छेउमा बिन लादेन उभिएको छ। लादेनको अपमान गर्छौ?’ मलाई लाग्छ, उसले आफ्ना खाना विश्वका चर्चित मात्रै होइन, कुख्यात व्यक्तिको जीवनीले चपाइरहेको छ।
धेरैलाई लाग्न सक्छ, आख्यान लेख्न भन्दा उसलाई अनुवाद गर्न मज्जा लाग्छ, यही कारण छोटो समयमा धेरै पुस्तक अनुवाद गरिरहेको छ। खासमा जब जब कुनै दाँत दुखेर हैरान हुन्छ, ऊ त्यसलाई फेर्न रात–रातभर अनुवाद गरिरहन्छ। आखिर दाँत दुखेर सुत्न नसकेपछि त्यसलाई पचाउन लेख्नु बाहेक उसँग अर्को विकल्प पनि छैन।
यो वर्ष अच्युतले ‘बुक हिल पब्लिकेसन्स’ बाट ५ वटा पुस्तक अनुवाद गर्ने कन्ट्याक्ट पाएको छ। र, मलाई थाहा छ, यसले पाउने अधिकांश पैसा बाँकी दाँत फेर्न र फेरेका दाँतको स्याहार गर्नमा खर्च गर्नेछ। नयाँ दाँत फेर्दा जति खर्च हुन्छ, त्यसलाई प्राकृतिक जस्तै बनाइरहन त्यो भन्दा बढि खर्च गर्नुपर्छ। जति दाँत दुखेर उसलाई सुत्न गाह्रो हुन्छ, नेपाली साहित्यले राम्रो भाषा र शैलीमा अनुवाद भएका विश्व चर्चित पुस्तक पाइरहने छ।
शुक्रबार साप्ताहिकको सबैजसो जिम्मेवारी बोकेर पनि ऊ एक वर्षमा ५ वटा पुस्तक अनुवाद गर्न सक्षम हुनेछ। उसलाई विश्वास छ, बाँकी रहेका दाँत दुखेर ऊ सुत्न सक्ने छैन। यही रनाहमा उसले ती काम सक्ने छ। हरेक पीडाको विशेष अर्थ छ भनेर ज्ञानीहरूले भनेको कुरा म उसका पुस्तक हेरेर र उसले गर्न लागेका कामबाट अनुभव गर्न थालेको छ।
भनिरहनु नपर्ला, पारिवारिक विरासतमा पाएको यो रोग मैले पनि पाएको छु। म पनि धेरै पटक रातभर सुत्न नसकेर आँखा मिच्दै अफिस पुगेको छु। मैले पनि भाइलाई पच्छ्याउँदै ‘उनी’ निस्किएपछि एउटा दाँत फेरेँ। जसलाई हामी ‘उनी’ दाँत भन्छौं। ‘जुकरबर्ग क्याफे’ निस्किएपछि अर्को दाँत फेरेँ जसलाई हामी छोटकरीमा ‘क्याफे’ दाँत भन्छौँ।
केही महिनादेखि दुईवटा दाँतले आफ्नो करामत देखाएर हैरान बनाइरहेका थिए। यी दुबै दाँतलाई हामीले ‘प्रेमालय’ नाम दिएका छौँ। मेरी अबोध आमासमेत मेरो न्याउरो अनुहार हेरेर भन्नुहुन्छ, ‘के आज पनि ‘प्रेमालय’ दुख्यो कि क्या हो? कुन चाहिँ दुख्यो? हामी यस्ता कुरामा कतिसम्म अभ्यस्त भैसकेका छौँ भने दाँतलाई प्रेमालय भन्दा पनि हाँस्दैनौँ।
अब माथि उल्लेख गरेको गाँठी कुरातिर आउँछु। जसको कथा रुन्चे हाँसोमा भन्नुपर्ने हुन्छ। पैसा अभावका कारण प्रेमालय ननिस्किँदै दुईवटा दाँतको दुखाइ सहि बसेको थिएँ। केही साता यता यो भयंकर भएर आयो। लेख्छु भनेर जिम्मा लिएका कुरा लेख्न नसक्दा कतिपय महत्त्वपूर्ण मानिस समेत गुमाउनु पर्ने अवस्थामा पुगेपछि म गएको बिहीबार नेपालको नाम चलेको डेन्टल अस्पताल पुगेँ। त्यहाँ म नियमित जान्छु, चेक गराउँछु।
रमाइलो कुरा, अघिल्लो पटक जुन डेन्टिस्टुसँग उपचार गराएको हुन्छ, पछिल्लो पटक जाँदा डेनटिस्ट विवाह भएर अस्ट्रेलिया पुगेको खवर सुन्छु, अर्को पटक अर्की डाक्टरले अमेरिकामा जागीर पाएर अर्को गोलाद्र्धका दाँतहरू स्याहार गरेको सुन्छु। सधैं एउटीले मेरो दाँत हेरिदेओस् भन्ने चाहाना अपुरो नै रहन्छ। यस्तो लाग्छ, मेरा दाँत, त्यसका एक्सरे र रिप्लसेमेन्टको अनुभवका आधारमा कसैको विवाह भइरहेको छ, कसैको भिसा लागिरहेको छ। मेरा ‘क्याफे’ र ‘उनी’हरू केवल कलेजका प्राक्टिकल मात्रै बनिरहेका छन्।
‘के भएको?’ कुर्सीमा ढल्केपछि मैले मुख आँ गरेँ। माउथ मिररले मुखभित्र उनी दाँत ठ्याकठुक पार्दै थिइन्। ‘अलि कमजोर छन्। माथिल्लो प्रेमालय साह्रै दुखेको छ।’ सायद उनले मेरो उत्तर सुन्न त्यो प्रश्न सोधेकी थिइनन्। किनभने मिरर मुख बाहिर निकालेकी थिइनन्। यसो गर्दा मैले बोलेका कुरा मेरा कानले समेत अर्कै सुनिरहेका थिए।
‘अहो, दाँत सफा गर्ने बेला भएको रहेछ। अहिले सफा गरिदिऔँ?’
मैले उत्तर दिनुअघि उनले मुखबाट मिरर निकालिन्। यसको उत्तर सायद उनी सकारात्मक चाहन्थिन्। ‘अहिलेको मुख्य समस्या माथिल्लो ‘प्रेमालय’को हो। एकवर्ष पनि भएको छैन सफा गरेको। ‘क्याफे’ फेर्नुअघि मेरा आगामी कृतिहरूलाई डा. अनामिकाले राम्रैसँग केमिकल पानीले नुहाइ दिएकी थिइन्।
बल्ल मेरो भाषामा उनको ध्यान गएछ। मज्जाले हाँसिन्। उनी हाँस्दा उनले बोकेको डेन्टल ड्रिलले मेरो टाउकोलाई हिर्काइ रहेको थियो।
उनी हाँसुन्जेलको समयमा मैले मेरो घरका दाँतका रोगीहरूको कथा सुनाएँ। मेरा भाइले विश्वका चर्चित व्यक्तिलाई कसरी मुखमा च्यापेर हिँडेको छ, त्यसको गौरव गाथाको वर्णन गरेँ। त्यसपछि मेरा कृति पढ्न पाठकले खर्च गरेका आम्दानीहरूले कसरी उनका सिनियर डाक्टर साथीका प्राक्टिल पूरा भएर अस्ट्रेलिया–अमेरिका पुगे, त्यसको वर्णन गरेँ। पीडाको कथा भए पनि मेरो प्रस्तुतिको शैली सुनेर उनी हाँस्दै गइन्।
हाम्रो घरमा लेखक जन्मनको कारण जति भन्दै जान्थेँ, उनी डल्लो परिपरि हाँस्थिन्। कुरा सकिन लाग्दा मलाई महसुस भयो, मेरा दाँतको उपचार उनको औषधिमा कम उनका हाँसोमा बढी छ।
‘भनेपछि प्रेमालय राख्न आउनुभयो।’ उनको हाँसो रोकिन मानिरहेकै थिएन। ‘तत्काललाई यो दुखाइबाट बच्न आएको। रोयल्टी आएपछि प्रेमालय परिवर्तन गर्ने हो।’
त्यसपछि हाँस्दै उनले मेरो मुखभित्र मिररलाई ठोक्काउन थालिन्। मुख सुन्निएर पाउरोटी भएका थियो। अन्ततः दाँतको उपचार भयो।
सोचेँ, भाइले पो अरूले लेखेका कुरालाई अनुवाद गरेर धेरै पुस्तक निकालिरहेको छ। म सिर्जनात्मक कुरा मात्र गर्छु भनेर अड्डी लिएको लेखक, वर्षमा दुईवटा पुस्तक कसरी लेख्न सक्छु? त्यसरी हतारको सिर्जना कस्तो हुन्छ?