‘म सूर्यसँग सम्भोग गर्छु
आऊ मलाई सम्भोग गर’
हामी दुवैजना वीरगन्जका थियौं। तर, कहाँकी हुन् भनेर थाहा नपाउँदै मैले उनलाई पढ्न थालिसकेको थिएँ। उमेरले उनी कान्छी भए पनि लेखनले मभन्दा जेठी भइसकेकी थिइन्। यसरी मेरो पहिलो परिचय प्रेमा शाहको रचनासँग भयो। त्यसपछि मात्र प्रेमा शाहसँग।
हाम्रो पहिलो भेटचाहिँ काठमाडौंमा २०२३ सालताका आयोजित एउटा गोष्ठीमा भएको थियो। गोरी, दुब्ली, सुन्दर नाकनक्सा र कपाललाई पनि बनाएको। त्यो तत्कालीन मन्त्री शैलेन्द्रकुमार उपाध्यायको मानभवनस्थित घरमा आयोजित साहित्यिक जमघट थियो। उनी कथा र कविताका माध्यमबाट परिचित भइसकेको व्यक्तित्व थिइन्। म भर्खरै यस क्षेत्रमा प्रवेश गर्ने कोसिस गरिरहेको थिएँ।
त्यो भेटमा उनले मप्रति अत्यन्त हार्दिकता देखाइन्। त्यो नि:सन्देह हामी दुवै जना वीरगन्जको हुनुले थियो।
माथि उल्लेखित कविताले त तहल्का नै मच्चाएको थियो। त्यसलाई मान्छेले आ–आफ्नै बुझाइको दायराबाट अर्थ्याए। धेरैले त्यसमा यौन देखे।
तर, मेरो नजरमा त्यो एउटा फ्रायडवादी विद्रोही भाव थियो। आफ्नो परिवेशप्रतिको विद्रोह। एउटा सशक्त नारी चेत। एउटा बेग्लै परिस्थितिको चाहना।
‘एउटा पराक्रमी सन्तान जन्माउन चाहन्छु म, जुन दिनसक्ने सामर्थ्य अरु कसैसँग छैन, केबल सूर्यसँग छ’ भनेकी हुन् उनले। त्यो एकदमै सिम्बोलिक छ।
प्रेमा शाह राजनीतिक मान्छे होइनन्। तर, यदाकदा साहित्यमा एक वा अर्को प्रकारले तत्कालीन परिस्थितिप्रतिको असन्तुष्टि विद्रोहका रूपमा आउन सक्छ। साहित्यकारले विभिन्न माध्यमबाट परिस्थितिलाई अस्वीकार गरिरहेका हुन्छन्। म यसलाई त्यो रूपमा पनि हेर्छु।
कविता त राम्रा छन् नै। तर, कथामा चाहिँ उनी मलाई असाध्यै मनपर्छ। कथामा त उनले एउटा ल्याण्डमार्क नै कायम गरेकी छिन्।
महिला कथाकारका रूपमा चर्चा गर्नुपरेमा प्रेमा शाहको नाम पारिजातपछि आउँछ। त्यसमा फरकै पर्दैन। मेरा समकालीन लेखिकाहरूमा यी दुवै महिलालाई म असाध्यै मान्छु। यी दुवैसँग म व्यक्तिगत तवरले पनि नजिकिन पाएँ। पारिजातमा ‘बोल्डनेस’ त छँदै थियो, अलिक अस्तित्ववादी धार पनि समातेकी थिइन्। उनको दर्शनतिर पकड बलियो भयो। प्रेमाले चाहिँ दर्शनका साथ आफ्ना कथामा यौन मनोविज्ञानलाई पनि समावेश गराइन्।
यसो भनेर फेरि त्यो क्षमतालाई पुरुषहरूसँग तुलना नगर्नु पनि जायज हुँदैन। प्रेमा शाह समग्र साहित्यिक क्षेत्रमै नेपाली कथाकारिताको अग्रणी मध्येकी एक हुन्। २०२० साल आसपासको नेपाली साहित्यका बारेमा चर्चा गर्ने कुनै पनि इतिहासकारले प्रेमा शाहको नाम छुटाउनै सक्दैन।
नेपाली साहित्यमा ‘ट्याबु’ तोड्ने र नयाँपन दिने अग्रणी महिला हस्ताक्षर हुन् उनी। अभिव्यक्ति शैलीदेखि विषयवस्तुसम्म उनको लेखनमा नयाँपन देखिन्थ्यो।
‘पहेँलो गुलाफ’ त सबैभन्दा चर्चितै भयो। तर, उनले लेखेको ‘लोग्ने’ पनि मलाई उत्तिकै मनपर्ने कृति हो। ‘मम्मी’ उपन्यास पनि गजब थियो।
कथामा उनको चित्रण प्रणाली एकदमै राम्रो र बेग्लै छ। दोश्रो उनले छान्ने विषयहरू नयाँ-नयाँ हुन्थे। त्यसपछि प्रस्तुती असाध्यै ‘बोल्ड’ हुन्थ्यो। प्रेमा शाह बेशक बोल्ड लेखिका हुन्।
अहिले त त्यसरी लेख्ने अरु पनि आए होलान्। तर, म त्यो बेलाको कुरा गर्दैछु। त्योबेला त्यसरी लेख्नसक्नु आश्चर्य थियो। अहिले अरुले पनि त्यसरी बोल्ड लेख्न थाले पनि प्रेमा शाहजस्तो हुन गाह्रो छ।
विषय अनुसार अभिव्यक्त गर्न सक्नुपर्छ भन्ने जुनै पनि साहित्यकारको आकांक्षा हुन्छ।अरु धेरै माथि पुग्न सक्दैनन्, तलतलैबाट टुंग्याइदिन्छन्।
प्रेमा शाह चाहिँ विषयले जति मागेको छ त्यति मात्र होइन, अझ माथिसम्मै पुगिदिन्थिन्। यो सबले उनी कथाकारका रूपमा एउटा ‘माइलस्टोन’ हुन्।
फेरि एउटा गजब के थियो भने लेखनमा उनी जति ‘बोल्ड’ थिइन् निजी जीवनमा उत्तिकै घरेलु र संस्कारी।
पहिलो भेटपछि हाम्रो काठमाडौंमा बेलाबेलामा भेटघाट भइरहन थाल्यो। तर, हामी दुवैजना अन्तर्मुखी किसिमका थियौं। उनी त अझ हत्तपत्त कसैसँग घुलमिल नभएर ‘रिजर्भ’ नै बस्थिन्। अलिक ‘मुडी’ चरित्र पनि थियो। तर, हामीबीच त्यहाँ वीरगन्जको नाता थियो, जसले एउटा ‘रुट’ दिइरहन्थ्यो। त्यसैले, हामीलाई नजिक्याउन धेरै काम गर्थ्यो।
वीरगन्जमा जन्म भएपनि उनको लालनपालन र हुर्काइ काठमाडौंको मामाघरमै भएको बताएकी थिइन्। पछि वीरगन्जमा उनको घर पनि देखियो। देखियो के भनौं, असंख्य पटक गएर उनले पकाएको खाइयो।
उनी आफूले नपिएको बेला पनि मेरो निम्ति पेग लगाइदिन्थिन्। मिठा मिठा खानेकुराहरू पकाउँथिन्। उनी बाटिक पेन्टिङ पनि गर्थिन्। त्यसको प्रवर्द्धन कसरी गर्ने भन्ने विषयमा पनि हाम्रा कुराकानी हुन्थे।
त्यो ताका उनको बसाइँ नै वीरगन्ज थियो भने म बेलाबेलामा पुग्थेँ र भेट्थेँ। नारायणी वाङ्मय प्रतिष्ठानको स्थापनामा पनि उनको योगदान थियो।
वीरगन्ज पुगेको बेला हामी दुइजना सँगसँगै हुन्थ्यौं। रिक्सामा चढेर बेपरवाह वीरगन्जका सडकहरू घुम्थ्यौं। विभिन्न कार्यक्रम र भेटघाटहरूमा भाग लिन्थ्यौं।
त्यतिबेला सहरकै सबैभन्दा राम्रो होटल ‘सम्झना’ थियो। हामी प्रायः त्यसै होटलमा गएर लन्च खान्थ्यौं। हामी बीचका कुराकानीहरू साहित्यिक त हुने नै भए। एक अर्काले के लेखिरहेका छौं? भनेर जानकारी लिन्थ्यौं। तर, औपचारिकभन्दा अनौपचारिक कुराकानी बढी हुन्थे। महिला लेखिका र मेरी शिष्याहरूका सन्दर्भ झिकेर उनी जिस्क्याउँथिन्। मेरी एकजना विद्यार्थी उनकी नातेदार रहिछन् जससँग उनैले नजिक्याइदिएकी थिइन्। यसो भनौं न, हामी खुब ठट्टा गर्थ्यौं। म उनका जीवनका कुराहरूबारे सुनाउनुस् भनेर सोध्थेँ। आफ्नो निजी जीवनका बारे चाहिँ उनी धेरै खुल्दिन थिइन्।
बनारसतिर पढ्न गएको बेला उतै एकजनासँग बिहे गरेको तर पछि ती पुरुषसँग संस्कारदेखि लिएर कुराकानीसम्म केहि नमिलेपछि अलग भएको चाहिँ सुनाएकी थिइन्।
उनका अरु सम्वन्धहरू बारे पनि चर्चा हुन्छन्। तर, न मैले यस्ता कुरामा कहिल्यै रुची राखेँ। न उनैले बताइन्। मैले जान्न चाहेको भए पक्कै भनिदिन्थिन् होला। तर, यस्ता कुराको के अर्थ छ?
उनी पनि मेरो घर आउँथिन्। एकपटक मैले टेलिसिरियलहरू लेख्न थाल्दा वीरगन्जमै त्यसको सुटिङ चलिरहेको थियो। प्रेमा शाह छोरी लिएर आइन्। छोरी बालखै थिइन्। छोरीलाई फिल्ममा खेलाउने कुरा त त्यो बेला पनि भएको थियो। तर, एक त छोरी अलिक केटाकेटी नै थिइन् त्यसमाथि त्यो टेलिसिरियल मेरो कथामा बनेको भएता पनि बनाउनेहरू त अरु नै थिए।
तिनै जल शाह पछि नेपाली रजतपटकी नामी हिरोइन बनिन्। मलाई खुशी लागेको थियो। एकपटक राष्ट्रिय फिल्म अवार्ड दिने बेलामा मलाई निर्णायकमा राखिएको थियो। यसरी त्यो वीरगन्जेली साइनो हाम्रो समयले मात्र नभएर सन्तानका समयसँग पनि उत्तिकै झ्याँगिएको थियो। म लगनखेलस्थित उनको डेरा गइरहन्थेँ। धेरैपटक मलाई खानाको निम्ति आमन्त्रित गरियो। ती सबै बेला छोरी जल शाह पनि हामीसँगै बसेर साथ दिन्थिन्।
प्रेमा शाह मेरो नजरमा अत्यन्त आत्मबल भएकी महिला हुन्। उनले छोरीलाई पिताको नामै नदिएर एक्लैले हुर्काइन् र त्यहाँसम्म पुर्याइन्। त्यो एउटा ठूलो विद्रोह हो। त्यत्रो संगतमा पनि मैले जल शाह र प्रेमा शाह बाहेक उनीहरूका एकजना पनि अर्को कुनै नातेदार कहिल्यै पनि न देखेँ, न त उनीहरूको मुखबाटै सुनेँ।
उनी पछि पनि लेखिरहन्थिन्। यद्यपी, उनको अन्य कथा र कविता बढी चर्चित भए। तर, मलाई उनले लेखेको अर्को कथा धेरै मनपरेको थियो। उनको सबैभन्दा मनपरेको कृति नै मलाई त्यही लागेको थियो। मानिसको पत्थर जम्मा गर्ने रुचीमा आधारित त्यो कथा जमानामै रुपरेखामा छापिएको थियो। अहिले नाम बिर्सें।तर, यौनको सन्दर्भबाट पूर्णत मुक्त त्यस कथाको बारेमा चर्चाधरी राम्ररी भएन।
जीवनको अर्को एउटा विडम्बना के हो भने कुनै पनि व्यक्तिका बारेमा जस्तो चित्र समाजले उभ्याएको हुन्छ उसबाट त्यही नै खोजी भइरहन्छ। त्यही व्यक्तिले अन्य शैलीमा अझ उत्कृष्ठ अर्को सिर्जना गरेको छ भने पनि त्यसको चर्चा नै हुन पाउँदैन।
उनको फ्रायडवादी लेखन देखेरै पछि पनि धेरैले उनलाई लेख्ने ‘अफर’ गरेका रहेछन्। तर, यसरी लेख्न लगाउन खोज्नेले आफ्नो लेखनलाई नै नबुझेर जबर्जस्ती यौन साहित्यतर्फ ढल्काउन खोजेको आभाष भएपछि त्यस्ता प्रस्तावहरू नमानेको कुरा उनले सुनाएकी थिइन्।
त्यसपछि उनी अमेरिका गइन्। उता गएपछि सम्पर्क लगभग ठप्पै भएको थियो।
पाँच वर्षअघि चाहिँ म अमेरिका गएको बेला फोनमा लामै कुराकानी भएको थियो। भेट चाहिँ हुन पाएन।
मेरो अन्तिम कुराकानी नै त्यहीँ हुनपुग्यो।
एकाएक आज प्रेमा शाहकै सहपाठी बेन्जु शर्माको फोन आयो। त्यो फोनबाटै मैले उनको निधनको समाचार पाएँ। म स्तब्ध भएँ। उनीसँगका भेटहरू सम्झिरहेको छु।
(कुराकानीमा आधारित)