‘गाजलु ती ठूलाठूला आँखा तीर बनी बसे यो दिलैमा...’
मेरो मोबाइलमा गुलाम अली, यसरी फिलमा डुबेर गाइरहेछन्। सायद उनी कुनै गहिरो खाल्डो भित्रबाट गाइरहेछन्। तर यहाँ सुन्ने कानहरू छैनन् बस् मेरा शिवाय। मलाई पनि त सुन्न मन छैन।
हावा यसरी निसास्सिएको छ कि मानौँ हावा अहिले हिटलरको ग्याँस च्याम्बरभित्र छ। म आफ्नै कोठामा छु। गुलाम अलिलाई त्यती दु:ख दिन मन लागेन। बन्द गर्दिएँ उसको सोलो पर्फर्मेन्स। आखिर के नै पो अर्थ हँुदो रहेछ र सुन्नेले नसुनिदिएपछि। भन्नेले नभनिदिए पछि। पर्खनेले नपर्खिदिएपछि। झन् के नै पो अर्थ हुँदो रहेछ र, साथै रहेर सुन्नुपर्ने मान्छे नभइदएपछि।
कोठामा मैले फेरेको सासको आवाज कुनै भयंकर हुरीझैँ लागिरहेछ। बाथरुमको धारा टुटीबाट घरीघरी पानीमुनि राखेको बाल्टिनमा टुप्लुक.. टुप्लुक... गरिदिन्छ। सँधैभरी अस्तित्व संकटमा पर्ने भित्तेघडी अहिले आफ्नो उपस्थितिको दावी गरिरहेछ टिक! टिक! टिक!
सम्पर्क भन्ने अजीवको चिजले हामीसँग डिभोर्स गरेको थियो। हुन त सम्बन्ध नजिक रहेर मात्र कहाँ सुमधुर हुँदो रहेछ र! सम्बन्ध पनि आफ्नो सौन्दर्यको आयाम फेरिरहन रुचाउँदो रहेछ। हुन त रसहीन जिन्दगी कसलाई पो मान्य हुन्छ र? हरेक चिजले आफ्नो औचित्य खोज्दोरहेछ। औकात खोज्दो रहेछ। अस्तित्व खोज्दो रहेछ। यही पेरीफेरीमा हामीबाट कतै दुर भइदियो सम्बन्ध। सायद उसलाई हामीले साँधुरो बनाइदियौँ या महत्त्वहीन।यही कारण उसले हामीसँग विद्रोह गर्यो।
बोतलबाट पानी घोप्टियो। शायद समुद्र पुग्ने उसको चाहना बुँदागत रुपमा पेस गर्यो मलाई। मेरो कविता छापिएको पेपरको कटिङ थियो। जसलाई भिजाउँदै गयो र ओछ्यानमुनि लुसुसु छिर्यो। बस् छिरिरहन दिएँ। रित्तो बोतललाई म छेउमा राखिदिएँ सम्मान साथ। तिमी नहुनुले के नै पो अर्थ राख्दो रैछ र! पहिले पनि उस्तै थिएँ र आज पनि उस्तै भएँ! सारहीन, अर्थहीन। बस् पहिले र अहिलेको बीचमा जे नहुनुपथ्र्याे उही भइदियो। सपना जन्मियो। आकांक्षा थपियो।
कल्पनाहरू पनि यति सुन्दर भएर आइदिए कि जस्तो मैले कुरुप चिज केही पनि देखिनँ दुनिँयामा। तर आज सब मर्यो! के नै रैछ र जिन्दगी ! समुन्द्रले छालहरु उचालेर जति नै उर्लिए पनि आखिरीमा आफ्नो पुरानो आकारमा झर्नै पर्छ। घाम जति नै चर्किलो लागे पनि अोिरी साँझमा पश्चिम डाँडामा ओझेल पर्नैपर्छ। दियो जति नै चकमसहित बलेपनि तेल सकिए पछी आखेरी निभ्नै पर्छ।
तिमीलाई थाहा छ? यी सब म भएँ नि! आखिरी हुनु त पर्ने नै थियो। यतिकै के–के सोच्दासोच्दै भुसुक्क निदाएछु। बिहान उठ्दा जिउ गरुङ्गो भइरहेको थियो। कताकता दुःखेको थियो। उठेँ र पाटनतिर बरालिएँ।
केही बिहानहरु यस्ता पनि हुन्छन् जुन बिहानीमा चराहरूले उदासीका गीतहरू गाउन बन्द गरिदिन्छन्। जीवनका केही साँघुरा गल्लीहरू यस्ता पनि हुन्छन् जुन गल्लीहरूले रिक्तता र निरसतासँग डिभोर्स गर्छन्। केही खाली बेन्चहरू यस्ता पनि हुन्छन जुन बेन्चहरूले आफू तृप्त भएको पत्तै पाउँदैनन्।
म हिँड्दाहिँड्दै कतै ठोक्किन्छु र लड्छु। तर मलाई पीडा हुँदैन। मजा लाग्छ । र कामना गर्छु– सँधै यस्तै ठोक्काइको सामना गरिरहन परोस्।
आज म तिमीसित ठोक्किएर लडेँ। थाहा छैन। घुमिरहने घडीको काँटाले के–के घुमाइरहन्छ। चलिरहने बतासले के–के उडाइरहन्छ। हिँडिरहने नदीले के–के बगाइरहन्छ। मलाई त यो मात्र थाहा छ कि मलाई हेरिरहेका मेरा तस्विरहरूले मलाई नै के–के बताइरहन्छ। जसको भाषा मैले बाहेक दुँनियामा अरुले बुझ्न सक्दैनन्।
सरी डियर काँडा! मैले तिमीलाई चाहँदाचाहँदै पनि फूलसँगै टिपेर ल्याउन सकिनँ। कारण तिमीले रगताम्य पार्न सक्थ्यौ मैले फूल दिएको हत्केलालाई। प्रतिशोधको कारण, तिरस्कारको कारण। जुन हत्केलामा मैले जिन्दगी लेख्नु छ फूलका हरफहरूले।
यो भन्दैमा तिमीले अपमानित महसुस नगर्नू। म पनि एउटा काँडा न हुँ। एउटा काँडाले अर्को काँडालाई कहाँ अस्विकार गर्न सक्छ र? जहाँ अपनत्व जोडिएको हुन्छ। जहाँ अनुभूति जोडिएको हुन्छ। जहाँ दुवै तिरस्कृत हुनुमा उही समाजशास्त्रले काम गरेको हुन्छ।
तरै पनि कहिलेकाहीँ आफ्नो अस्तित्वको लागि अरूको अस्तित्वलाई कुल्चनु पर्दोरहेछ। निमोठ्नु पर्दोरहेछ। नकार्नु पर्दोरहेछ। थिच्नु पर्दोरहेछ। आज यही धर्मसंकटको बीच एउटा अस्विकृतलाई अस्विकार गरेको छ अर्को अस्विकृतले। जसले जीवनभरी नै घृणाको कठघरामा उभिएर दुनिँया नियाल्नुपर्यो।
मध्याह्नभरी त्यतै बरालिएँ। माथि आकाशमा लट्टाइसँग डिभोर्स गरेको चंगा निस्फिक्री घुमिरहेछ। मानौँ ऊ कसैलाई खोजिरहेछ शुन्यतामा, जो हराइगएको थियो। ऊ यती माथि पुगेको छ कि लट्टाइसँग त्यती धागो छँदै थिएन। सम्बन्ध भन्ने कुरा त मात्र साङ्ली रहेछ, पिंजडा रहेछ, कारागार रहेछ। कहिलेकाहीँ खुल्ला भएर जीउनको लागि साँघुरो सम्बन्ध तोड्नु पर्दोरहेछ।
चङ्गालाई थाहा छ– एकदिन त ऊ अवश्य खस्ने छ। खस्दाखस्दै रुखका हाँगामा अल्झियो भने ऊ बतासले सुस्तरी छोइनेछ र पातहरूसँगै हल्लिरहनेछ र रल्लीरहनेछ। ऊ कुनै मान्छेको अगाडि पनि त खस्न सक्छ। यदि खस्यो भने फेरी उड्न पाउने छ उसले। यदि नदीमा खस्यो भने बग्दैबग्दै जानेछ। अनन्तसम्म। यदि अल्झिहाल्यो भने कतै पानीको बहावले हिर्काइमाग्ने छ र भिजिरहने छ निरन्तर।
जहाँ खसे पनि मज्जाले खस्ने छ। खुसी साथ खस्ने छ। आखिरी उसले रोजेको बाटो नै थियो यो– एकदिन त कहिँकतै खस्नु नै छ।
जिन्दगीलाई जोखिम लिएर जीउनुमा कम मजा नहुँदो रहेछ। दसैँ आएको भन्ने कुरा चुडिँएको चंगाले बताइरहेथ्यो। जम्माजम्मी साठी सत्तरीवटा दशैँ मनाउँछ जिन्दगीले। सबै दशै उतिकै महत्तवपूर्ण र अविस्मरणीय हुनुपर्छ भन्ने छैन। एउटा मात्र दशैँ यस्तो होस् जसले आफूलाई जीवित छु भन्ने महसुस गराओस्। सायद त्यो दशैँ छुटिसकेको हुनसक्छ बचपनमै या आउनेछ पछि। तर दशैँहरू जस्तो होउन् पछि आफ्नै चिहानमा बसेर मुल्यांकन त गर्ने नै छु।
यसपालि यस्तै भयो। लड्दैलड्दै भीरको बीचमा पुगेर अड्किएको छ दशैँ। तर आशावादी छु। एकदिन अड्किएको दशैँ छेउमै फुल्ने छ सुनाखरी। सुनाखरीसँगै म पनि फुल्ने छु। सबैभन्दा बढी सौन्दर्य त अप्ठ्यारोहरूमा हुँदो रहेछ। काँडामाथि उभिएर पनि साँच्चिकै मुस्कुराउनुमा हुँदोरहेछ। हारहरूमा हुँदो रहेछ। जसले आफूलाई नजिकबाट चिन्नमा सहयोग गर्छ। हार्नु भनेको त जीवनलाई बुझ्नु हो रहेछ। आफैँलाई बुझ्नु हो रहेछ। आफ्नो शक्तिलाई बुझ्नु हो रहेछ।
सोच्दैछु एउटा पराजित मान्छेले उत्सव या खुसीहरू कसरी मनाउँछ होला? सायद मैले मनाए जसरी नै मनाउँछ।