अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प अति नै स्वतन्त्र छन्। उनी आफ्नो मनमा आएको कुरा जसरी पनि ब्यक्त गर्छन्। सबै सुतिरहेका बेला राति ट्वीट गरिसकेका हुन्छन्। भाषण गर्ने बेलामा पनि पछिको कुरा किन सोच्नुपर्यो, त्यतिखेरै मनमा आएको कुरा निकालिहाल्छन्। चुनावका बेला उनका सहयोगीहरुलाई कम्ता अप्ठ्यारो परेन्। उनलाई कजाँउन टेलिप्रिण्टरमा पढ्न लगाईयो।
त्यसले उनका सहयोगीहरुलाई केही सुविस्ता दियो तर मनका कुरालाई मुखमा आइसकेपछि उनलाई कस्ले रोक्ने। संसारका कुनै यस्ता देशहरु छैनन् होला जुन डोनाल्ड ट्रम्पको कोपभाजनमा नपरेको होस्, कुनै न कुनै हिसाबले। जे जसो भए पनि उनी संसारका महाशक्तिशाली जो ठहरीए। जति विरोध भए पनि, उडाए पनि उनी निरन्तर आफ्नो तालमा अमेरीकी राजनीतिमा विचरण गरिरहेका छन्। लाग्छ ४ वर्ष उनको विचरणमा थुप्रै कुराले अमेरीकालाई सँगसँगै सहयोगीहरुलाई पनि तलमाथि पार्नेछ।
उनका अगाडि डटेर प्रतिस्पर्धा गर्ने अहिलेको अमेरीकी राजनीतिमा कोही पनि छैन। उनको ओठे जवाफले सबैलाई अवाक् बनाईदिन्छ, उनीसँग सवालजवाफ गर्नुभनेको सिस्नोलाई गलामा माला लगाउनुजत्तिकै हो। उनले हारे पनि जितें भन्छन् जिते भने अझै जित्नुछ भन्छन्। अमेरीकी भोटरहरुलाई उनी मनपर्छन्। जसलाई उनी सपना बाँड्छन् र भोट साट्छन्। ठूल्ठूला कर्पोरेशन र विलेनियरहरु उनका प्यारा छन्, जो पैतिस प्रतिशत ट्याक्स तिर्थे अब २० प्रतिशतमा झरेका छन्।
दुई साताअघि उनले हाकाहाकी इजरायलमा आफ्नो एम्बेसी सार्ने कुरा गरे र जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा स्थापित गर्न खोजे। युएनले यो कुरामा उनलाई सघाएन, उनले युएनको बजेट काटिदिए। नर्थ कोरियालाई त उनी हान्ने गोरूजस्तै फाँफाँफूँफूँ गर्दै हानिहाल्छ कि जस्तो गर्न खोज्छन् तर फेरि पुच्छर लुकाउँछन् र इरान, साउदी, ओमानलगायतका मध्यपूर्वका देशहरुतिर सिङ फर्काउँछन्।
चाइनासँग भने भर्खरको बहरजस्तो न नारिन्छन् न अरुसँग नारिएको देखि सहन्छन्। त्यही भएर चाइनाले उनलाई गोरू तिहारमा पूजा गरेजस्तै गर्यो, केही महिना अघि उनको भ्रमणताका।
भारतमा पनि उनको रूचि राम्रै देखियो। न्यूक्लियर पावरदेखि लिएर क्षेत्रिय सामरिक शक्ति सन्तुलनका लागि भारत अहिले अपरिहार्यजस्तै छ। आफू नसके पनि छोरी इभान्कालाई पठाएर उनले भारतको मन राखे। नरेन्द्र मोदीसँग उनको जम्छ होला।
नेपालमा पनि उनले कम्ता गर्न खोजेका छन्। सयौँ मिलियन डलर सहयोग लगायत थुप्रै कुरामा उनले नेपालसँग यात्रा शुरु गरेका छन्। तर यहाँ उनका लागि सहयात्री भनौं वा उनको स्वभाव सुहाँउदो नेतृत्व थिएन। तर अब त्यसमा पनि उनी ढुक्क हुन्छन् होला। उनीजस्तै हलमा नारिने खालका आउन लागेको छन्, नेपालमा पनि। खड्ग ओलीसँगको जोडी भने निकै नै दमदार होलाजस्तो छ ट्रम्पको।
खड्ग ओलीको गफले साराका सारा त्राहिमाम बनिसकेको अवस्था छ। नेपाली भोटर पनि अमेरीकी भोटरले डोनाल्ड ट्रम्पलाई छानेजस्तै यसपाली खड्ग ओलीलाई छाने। उनको लोकप्रिय वाम गठबन्धनको नाराले विपक्षी काँग्रेसलाई सोत्तर पार्यो। ओलीको चुट्किलाले संसारभरका नेपालीलाई आकर्षित गरेको छ।
शक्तिशाली ट्रम्पले नर्थ कोरीयालाई जसरी तर्साउँछन् नेपाललाई पनि भारतले त्यसै गर्न खोज्छ। तर नर्थ कोरियाका किमजस्तै ओलीले भारतलाई त झन् तर्साएका तर्सायै छन्। भलै नर्थ कोरियासँग न्यूक्लियर पावरको ध्वाँस छ। तर ओलीको त बोलि नै न्यूक्लियर बराबर छ जस्तो, भारतका लागि। अचेल भारतीय कर्पोरेट मिडिया टाइम्स अफ इण्डिया, हिन्दूस्तान टाइम्स, इण्डियन एक्सप्रेस आदिमा आउने लेख हेर्दा आफ्नो प्रिय मायालुसँगको विछोडको पीडाले सताएको पात्रजस्तो देखिन्छ भारत।
रिसाएकी मायालुले अर्कोलाई कर्केआँखाले हेरेको कसरी सहने र। त्यतिखेर त्यो नाकावन्दी थिएन, अब आएर थियो रे। नगर्नुपर्ने थियो, गरिएर गल्ती गरिएछ भनेजस्तो। तर अब सेकेण्ड चान्सको लागि भारतले त्यसको कयौं गुणा बढी माया गर्नुपर्ने हुन्छ, तर पनि यकिन गर्न कठीन नै हुन्छ।
मायालुसँग विश्वास डग्मगाएको बेला जो छ। मायालुले मुण्टो अर्कोतिर फर्काएको अवस्था।
ओली बोल्ने कुरामा ट्रम्पसँग पनि हार्ने होइन् जित्ने नै पो हुन कि जस्तो। चुलामा ट्याक्क थिच्दा ग्याँस र पूर्व-पश्चिम रेल कुदाउँने ओलीको कुरा र ट्रम्पको अमेरीकाका इन्फ्रास्ट्रक्चर भत्किइसकेको छ, बाटोघाटो खराब छ ठूलठूला प्रतिमाहरु ठड्याउनुपर्छ र त्यो मैले चुनाव जितेपछि सबै हुन्छ भन्थे तर अहिले कुरामा मात्र सिमित छ। साह्रै कम बजेट विनियोजन भएको छ, त्यसले ट्रम्पको सपना पूरा गर्न करिब असम्भव छ।
आफूलाई फाईदा हुने कुरामा रिपब्लिकन नेताहरुको प्रसंसा र आफूले सहयोग कम पाउने वा नपाउलाजस्तो भएमा तिनीहरुको उछितो ट्रम्पले जसरी काट्छन ओलीको विपक्षी पार्टीहरुप्रतिको कटाक्ष र वाम एकताका कुरामा झण्डै उस्तै ठाउँमा हुन कि जस्तो लाग्ने।
जे होस हामी अमेरिकामा बसेका नेपालीहरुले र नेपालमा रहेका नेपालीहरुले एकै बेलामा जोस, उमंग र गफका मामलामा उस्तै खालका हलमिल्ने गोरुजस्ता नेताहरु भेटेका छौँ। यिनका कुरा अनुसार योजना मिलाउने हो भने पक्कै फरक पर्नेछ। त्यो फरक यहाँ अमेरीकामा भन्दा पनि नेपालमा बढी देखिनेछ।