साथी ओम गौतमलाई हवाइजहाजमा चढ्दा ज्यादा डर लाग्ने समस्या रहेछ। सिड्नीको किङ्स्फोर्ड स्मिथ विमानस्थलको धावनमार्गमा जहाज गुड्न थालेपछि उहाँले आफ्नो समस्याको बारेमा हामीलाई सुनाउनुभयो।
जिमखाना नियमित धाउने ओमजीको शरीर फलामजस्तो छ। उहाँ कुनै समयमा अष्ट्रेलियन सेनामा पनि भर्ती हुनुभएको थियो। ‘यति बलियो मान्छे पनि डराउने हो? म यस्तो लिखुरे मान्छे त डराउँदिन!’ सँगै यात्रा गरिरहेका केशव सापकोटा दाइ ओमजीलाई सान्त्वना दिँदै हुनुहुन्थ्यो।
हामी तीन जनाको यात्राको पहिलो गन्तव्य भारतको मुम्बई थियो। र, मुम्बई जनाको उद्धेश्य थियो- जनवरी २१ तारिखमा हुने मुम्बई म्याराथनमा सहभागी हुने। २२ तारिखमा त्यहाँबाट काठमाडौं जाने र २७ तारिखमा पुन: सिड्नी फर्कने हाम्रो योजना थियो।
हाम्रो हातमा मलेसियन एयरलाइन्सको टिकट थियो। क्वालालम्पुरमा पुगेपछि सोही एयरलाइन्सको अर्को जहाज फेर्नुपर्ने थियो।
जनवरी १८ तारिखको दिउँसो सवा एक बजेतिर प्लेन उड्यो। प्लेन लगभग भरिएको थियो। झ्यालपट्टिको दुई वटा सिटमा केशव दाइ र ओमजी बस्नुभएको थियो। सँगैको बीचको लहरको छेउको सीटमा म बसेको थिएँ। मेरो दाहिनेपट्टिको सीटमा बेंगलोरकी युवती थिइन्।
उनीसँग चिनापर्ची भयो। उनको नाम ऐश्वर्या रहेछ। उनी सिड्नी युनिभर्सिटीबाट इञ्जीनियरिङमा मास्टर्स गर्दै रहिछन्। अहिले युनिभर्सिटी बिदा भएकोले बुवा आमालाई भेट्न जाँदै रहिछन्। एक वर्षपछि पहिलोपल्ट बुवाआमालाई भेट्न जान लागेकोले उनी धेरै उत्साहित देखिन्थिन्। ‘तपाईँलाई थाहा छ?’ हँसिलो अनुहार बनाएर उनले भनिन्, ‘म आउँदैछु भनेर मैले मेरो बुवाआमालाई भनेको छैन नि! म उहाँहरूलाई ‘सर्प्राइज’ दिन चाहन्छु।’
एकछिनमा लञ्च आयो। खाना खाएपछि हामी केशब दाइका रमाइला गफमा लठ्ठीयौ। गफमा भुलिएकोले होला, ओमजी पनि त्यति डराउनुभएको जस्तो देखिनुहुन्थेन। सँगैका अरूलाई 'डिस्टर्ब" होला भनेर हामी सकेसम्म मसिनो स्वरमा कुराकानी गर्दै थियौँ। जतिसुकै सानो स्वरमा बोल्न प्रयास गरे पनि समय समयमा हाम्रो स्वर अलिक ठूलो बन्न पुगिहाल्दो रहेछ।
मेरो सीटभन्दा ठ्याक्कै अगाडि बसेको मुडुलो टाउको भएको अष्ट्रेलियन बेलाबेलामा पुलुक्क हामीतिर फर्कन्थ्यो। हामी कुरो बुझ्थ्यौँ र पुन: संयमित बन्न पुग्थ्यौँ।
जहाज उडेको करिब चार घण्टाजति भएको थियो। जहाज अष्ट्रेलियाको पश्चिमी सिमाना पार गरेर हिन्द महासागरतर्फ बढ्दै थियो। त्यत्तिकैमा देब्रेपट्टिको इञ्जिनबाट अनौठो आवाज आउन थाल्यो। यो आवाज क्रमश: बढ्दै गयो। आवाज बढेसँगै हाम्रो मुटुको धड्कन पनि बढ्दै जान थाल्यो।
हवाइजहाज हल्लनु स्वभाविक प्रकृया हो। मौसमको कारणले हवाइजहाज हल्लँदा खासै डर हुँदैन। पाइलटलाई अब जहाज हल्लँदै छ भन्ने कुरा पहिले नै थाहा हुन्छ र सोही अनुसार उनले सबैलाई सूचित पनि गरिसकेका हुन्छन्।
यात्रुहरू पनि सीट बेल्ट कसेर मानसिक रूपमा तयार भएर बसिसकेका हुन्छन्। तर, त्यतिखेरको स्थिति फरक थियो। हामीलाई कुनै पूर्व सूचना थिएन। र, त्यो आइरहेको आवाज सामान्य पनि थिएन। जहाजभित्र ट्र्याक्टरको जस्तो आवाज आइरहेको थियो र जहाजको कम्पन पनि बढिरहेको थियो। पखेटामा वा इञ्जिनमा केही गडबडी भयो होला भन्ने मलाई शंका लाग्यो। केशव दाइ र ओमजीलाई हेरेँ। दुवैजनाको अनुहार मलिन र हतास थियो। ओमजीलाई जाडो अनुभव भएछ, केशब दाइको ज्याकेट मागेर लगाउनुभयो।
दाहिनेतिर हेरेँ। ऐश्वर्याको अवस्था झन् खराब भइसकेको रहेछ। उनी त अगाडिपट्टिको सिटमा टाउको अड्याएर रोइरहेकी रहेछिन्। ‘डराउनु पर्दैन,’ मैले सान्त्वना दिनको लागि भनेँ, ‘एकैछिनमा यो पक्कै रोकिन्छ। पाइलटहरू पक्कै पनि केही गर्दै होलान्। नभए नजिकै कुनै एयरपोर्टमा ‘ल्याण्ड’ गराइहाल्छन्।’
त्यत्तिकैमा एयर होस्टेसहरू हतार हतार गर्दै ओहोरदोहोर गर्न थाले। समस्या कस्तो हो भनेर थाहा पाउन हामीले उनीहरूको अनुहारमा हेर्यौँ। तिनीहरू भयभीत र अन्यौलग्रस्त देखिन्थे। एउटी २२-२३ वर्ष जति उमेरकी देखिने एयरहोस्टेसको अनुहार त झन् रूनै लागेको जस्तो देखिन्थ्यो। मामला पक्कै पनि गम्भीर छ भन्ने हामीले अन्दाज गर्यौँ।
त्यत्तिकैमा 'इमर्जेन्सी ल्याण्डिङ' मा के गर्ने भनेर 'डेमोन्स्ट्रेशन' सुरु भयो। परिचारिकाहरू अगाडि उभिएर बेल्ट कसरी कस्ने र टाउको अगाडिको सिटतर्फ झुकाएर कसरी निहुरने भन्नेजस्ता तरिकाहरू सिकाउन थाले। हरेक विमान उड्नुभन्दा अगाडि यस्तो 'डेमोन्स्ट्रेशन' हुने गर्दछ।
ठूला विमानहरूमा यस्तो 'डेमोन्स्ट्रेशन' अचेल सिट अगाडिको स्क्रिनमा देखाउने गरिन्छ भने साना विमानहरूमा कर्मचारीहरूले प्रत्यक्ष रूपमा देखाउने गर्दछन्। तर यहाँ त मध्यआकाशमा यो भइरहेको थियो। मलाई लाग्यो- पक्कै पनि अब प्लेन कतै 'ल्याण्ड' गराइँदै छ र त्यो 'रफ ल्याण्डिङ' हुनेछ।
यति सबै हुँदासमेत जहाजका क्याप्टेनले कुनै 'एनाउन्स्मेन्ट' गरेका थिएनन्। सबै यात्रु अब भयभीत र निराश हुन थालिसकेका थिए। यो सबै शुरु भएको करीब १०-१५ मिनेटपछि बल्ल क्याप्टेन बोले। उनले सुरुमा मौसमको कारण जहाजमा केही समस्या आएको बताए। तर त्यो पत्यारलाग्दो थिएन। हामी सिट अगाडिको मनिटरमा हेरिरहेका थियौँ र हवाइजहाज भर्खरै आएको रूट तर्फै फर्किरहेको देखिँदै थियो। कतै 'ल्याण्ड' गराउन खोजेको होला भन्ने लाग्यो।
त्यसको केही छिनपछि क्याप्टेनले जहाजमा केही प्राविधिक समस्या आएकोले यसलाई अष्ट्रेलियाको एलिस स्प्रिङ्ग्स तिर फर्काउन लागेको बताए। यतिखेरसम्म आवाज आउन बन्द भएको थियो। शायद उनले समस्या आएको उक्त इञ्जिन बन्द गराइसकेका थिए। स्क्रिनले एलिस स्प्रिङ्गस पुग्न १ घण्टा ४५ मिनेट लाग्ने देखाइरहेको थियो।
इञ्जिनबाट आवाज आउन बन्द भएकोले अब बाँचिन्छ भन्ने आशा धेरै बढ्यो। करिब ४५ मिनेटपछि चालकले एलिस स्प्रिङ्गस एयरपोर्टमा 'नर्मल ल्याण्डिङ' हुने बताए। मनिटरमा हेर्दै अब कति समयमा 'ल्याण्ड' हुँदैछ भनेर हामी 'काउण्ट्डाउन' गर्दै थियौँ। अन्तत: एक घण्टा पैँतालीस मिनेटको डरै डरले भरिएको प्रतीक्षापछि विमानस्थल नजिकै प्लेन आइपुग्यो।
एयर्पोर्टमा दमकल, एम्बुलेन्स र पुलिस प्रशस्तै देखिए। तर सोचेभन्दा सजिलोसित प्लेन 'ल्याण्ड' भयो। सबै यात्रुले लामो समयसम्म ताली बजाए। जान्नेहरूले सिट्ठी फुके।
हामी तीनैजनाले मोबाइल 'अन' गरेर घरमा खबर गर्यौं। प्लेनमा चढ्नसमेत डर मान्ने ओमजी त्रासले अझै पनि कालोनीलो नै हुनुहुन्थ्यो।
उता ऐश्वर्या घुँक्क घुँक्क गर्दै थिइन्। एकैछिनमा उनले पनि मोबाइल निकालिन् र बुवाआमालाई रूँदै खबर सुनाइन्।
यसरी बुवाआमालाई खबर नगरिकनै घर पुगेर 'सरप्राइज' दिने उनको योजना यसपटकलाई सफल भएन।