करिब चार महिनाअघि काठमाडौंको एक परामर्शदातामार्फत अस्ट्रेलियाको विद्यार्थी भिसाका लागि आवेदन दिएका ‘प्रतीक’ को अप्लाइ गरेको पन्ध्र दिनपछि भिसा लाग्यो। भिसा लाग्नासाथ उनी खुशीले गद्गद् हुँदै सबैसँग खुशी साटासाट गरे। यही मौकाको उपभोग गर्दै उनले आवेदन दिएको कन्सल्टेन्सीले पनि फेसबुकमा बधाई दिँदै फोटोसहित स्टाटस लेख्यो– ‘प्रतीकलाई अस्ट्रेलिया पढ्ने भिसा लागेकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना।’
यो स्टाटसमा धेरैले बधाई र शुभकामनाका शब्दहरू छताछुल्ल पारे। प्रतीक पनि सुन्दर भविष्यको कल्पना गर्दै आफ्नो विदेश बसाइको लामो बन्दोबस्तीमा जुटे। भ्याएसम्म सबै साथीभाइलाई भेटघाट गरेर पार्टी समेत दिए। नेपालबाट उड्ने दिनसम्म कसैले पनि उनलाई भविष्यका सम्भावित चुनौतीका बारेमा केही भनेनन् न त उनले पछिल्ला दिनमा सुन्न फुर्सद नै पाए। भिसा लागिसकेपछि हतारहतारमा कलेजको हाजिरी भ्याउनका लागि टिकट काटेर सिड्नी ओर्लिए।
सिड्नीमा तीन महिना बिताइसकेपछि यो पङ्तिकारसँगको भेटमा प्रतीकले भने – “नेपालमा सोंचेजस्तो जिन्दगी यहाँ नहुने रहेछ भनेर बल्ल थाहा पाइयो दाइ। नेपालमा हुँदा भिसा लाग्नुलाई नै सबैभन्दा ठूलो कुरो मानियो। परामर्शदाता, साथीभाइ, आफन्त सबैले भिसा लाग्नुलाई सबैभन्दा ठूलो उपलब्धिको रूपमा देखाइदिए तर अस्ट्रेलियाको नूनिलो पानी चाखेपछि थाहा भयो कि जिन्दगीमा अझ धेरै लडाइँ लड्न बाँकी रहेछ। हेर्दै जाउँ कहाँसम्म सफल भइन्छ।” भर्खर २० वर्ष टेकेका मध्यम वर्गीय परिवारका उनी अहिले हफ्ताको २० घण्टा सरसफाइको काम गरेर तीन दिन कलेज जान्छन्। नेपालबाट एक सेमेष्टरको फिस तिरेर बाँकी यतै कमाएर तिर्ने पारिवारिक सरसल्लाहमा आएको बताउने उनलाई यो कामले आगामी सेमेष्टरको फिस कसरी तिरिएला भन्ने पिरलोले अहिलेदेखि नै सताउन थालेको छ।
अस्ट्रेलिया आएपछि मात्र मन बदलिने प्रतीक मात्र एक्ला विद्यार्थी होइनन्। सामाजिक सञ्जालका भित्ताहरू र अस्ट्रेलियामा नवआगन्तुक विद्यार्थीलाई काम र कोठा खोज्न सहजीकरण गर्ने वेबसाइटहरूलाई नियाल्ने हो भने नयाँ विद्यार्थीका समस्याहरूलाई केही हदसम्म बुझ्न सकिन्छ। एउटा सानोतिनो कामको विज्ञापन आइहालेमा त्यो कामका लागि केही घण्टाभित्रै पचासौँ विद्यार्थीले सम्पर्क गरेका भेटिन्छन्। त्यसैगरी केही महिनादेखि काम नपाएर पीडित बनेका विद्यार्थीहरूका याचना र हारगुहारहरू यत्रतत्र भेटिन्छन्।
किन चुके परामर्शदाता ?यो लेख लेख्ने अवधिमा यो पङ्तिकारले करिब १० जना सिड्नीका नेपाली विद्यार्थीलाई एउटा साधारण प्रश्न सोधेको थियो – “के तिमीहरूले नेपालबाट आउँदा सही परामर्श पायौ जस्तो लाग्छ ?” आठ जनाको छोटो उत्तर थियो – “पाएनौं।” दुई जनाले मात्रै भने– “दुःख पाइन्छ भन्ने थाहा थियो।” विशेष गरी विद्यार्थीले अस्ट्रेलियामा काम पाउन रहेको कठिनाइ, कोठा खोज्ने सकसका साथै काम पाए पनि काम र कलेजको दौडधुपले पार्ने मर्का तथा विदेशी विद्यार्थीले भोग्नुपर्ने असमानताका कुराहरूलाई हल्का रूपमा लिएको र त्यस्ता विषयमा परामर्शदाताले सल्लाह नदिएको बताए। साथै उनीहरूले नेपालमा छँदा परामर्शदाताले जसरी पनि विद्यार्थीलाई भिसा लगाउनका लागि सत्य, तथ्य भन्दा पनि प्रलोभनयुक्त परामर्श दिएको गुनासो गरे।
परामर्शदाताको जिम्मेवारी केवल विद्यार्थीलाई कुनै कलेजमा भर्ना गरिदिएर कमिशन पचाउनु मात्र हुँदैन। उनीहरूको जिम्मेवारी योभन्दा धेरै ठूलो र पवित्र छ। एउटा देशको कलिलो विद्यार्थीलाई सुन्दर भविष्यको सपना बाँडेर मात्र व्यावसायिक जिम्मेवारी पूरा हुँदैन न त सय, हजार वा लाखको संख्यामा विद्यार्थीलाई भर्ना गराएर नै हुन्छ। परामर्शदाताले एउटा विद्यार्थीको क्षमता, हैसियत, सम्भावना, चुनौती, अप्ठ्याराहरू, आगामी बाटाका तगराहरू र तिनले ल्याउन सक्ने सम्भावित समस्याहरू आदि जस्ता विषयमा पनि उत्तिकै रूपमा जानकार भएर विद्यार्थी तथा अभिभावकलाई समेत सचेत बनाएर सल्लाह दिनुपर्ने खाँचो देखिन्छ। तर कमिशन र प्रतिष्पर्धाको प्रलोभनले यस्ता अत्यन्तै संवेदनशील विषयमा विरलै मात्रै विद्यार्थीले बुझ्ने र केलाउने मौका पाएका छन्। जति धेरै विद्यार्थी पठायो त्यति अनुपातमा कमिशन पाइने हुनाले पनि परामर्शदाताले गुणात्मकभन्दा संख्यात्मक हिसाबले परामर्श दिने गरेको जानकारहरू बताउँछन्। परामर्शदाताले आफूले संचालन गरेको कन्सल्टेन्सीले अहिलेसम्म यतिका संख्यामा विद्यार्थीलाई भिसा दिलाएको भनेर रेकर्ड र संख्या देखाउनमा खुब गर्व गर्छन् तर ती भिसा पाएका विद्यार्थीमध्ये कतिले आफूले अध्ययन गरेको विषय र क्षेत्रमा विशेषज्ञता हासिल गरे वा पढाइ सकेर काम पाए वा सफल भए भनेर हिसाबकिताब देखाउने गर्दैनन् किनकि त्यहाँसम्म पुग्दा विद्यार्थी परामर्शदाताप्रति कि त असन्तोष भइसकेको हुन्छ वा टाढा गइसकेको हुन्छ।
भिसा आयो काम सकियोअधिकांश परामर्शदाताहरूले नेपालबाट अस्ट्रेलियाका लागि विद्यार्थीको भिसा आवेदन गरेर भिसा पाइसकेपछि आफ्नो जिम्मेवारी सकिएको ठान्छन्। अस्ट्रेलियन सरकारको होम अफेयर्सले मार्च २०१८ मा प्रकाशित गरेको तथ्यांकअनुसार अस्ट्रेलियाको उच्च शिक्षाका लागि विद्यार्थी भिसा आवेदन दिने नेपाली विद्यार्थीमध्ये ९१.४ प्रतिशतले भिसा पाएका थिए। त्यसैगरी डिप्लोमाका लागि आवेदन दिनेमध्ये ६१.७ प्रतिशतले भिसा पाए। यही तथ्यांकलाई आधार मान्ने हो भने पनि यति सबै कागजपत्र राम्रोसँग पेश गरिएको र न्यूनतम तोकिएको मापदण्ड पूरा गरिएको खण्डमा अस्ट्रेलियाको भिसा लाग्ने सम्भावना उच्च हुन्छ। अझ अस्ट्रेलियन सरकारको अर्थतन्त्रको प्रमुख हिस्सा अन्तर्राष्ट्रिय विद्यार्थीबाट आउने आम्दानीले ओगट्ने नीति ल्याउनुले पनि यसलाई प्रष्ट गर्दछ।
विद्यार्थीले भिसा पाउनु खुशीको कुरो हो तर यो नै सबथोक होइन। यहाँबाट उनीहरूको जीवनको अर्को पक्ष वा अर्को मोड शुरु भएको हुन्छ जुन सहज भने पक्कै हुँदैन। अधिकांश मध्यम र निम्न मध्यम वर्गका परिवारबाट आएका विद्यार्थीले यही मोडबाट जिन्दगीमा अबका केही वर्ष परिश्रम र लगनका साथ दुःख र पीडा सहेर भए पनि पढाइलाई सक्ने दृढ संकल्प लिन जरुरी हुन्छ। तर त्यस्तो नबुझिकन हामफालेर आएका विद्यार्थीले अस्ट्रेलिया आएर दुःख पाएका अनेक किस्साहरू यत्रयत भेटिने गरेका छन्। यसमा विद्यार्थी पनि सचेत हुनु जरुरी छ तर सबभन्दा पहिलो जिम्मेवारी परामर्शदाताले यस गहन जिम्मेवारीप्रति विद्यार्थीलाई जानकारी गराउनु अपरिहार्य हुन्छ।
अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीका समस्यागत मार्च महिनामा अस्ट्रेलियाको एक पत्रिकाले केही नवआगन्तुक नेपाली विद्यार्थीलाई उद्धृत गर्दै कोठा नपाएर भोग्नुपरेको पीडालाई प्रकाशन गरेको थियो। उक्त समाचारमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अस्ट्रेलिया आउनासाथ कोठा नपाउँदा महँगो शुल्क तिरेर गैरकानुनी रूपमा धेरै विद्यार्थीले एउटै कोठा शेयर गरेर बस्नु परेको उल्लेख गरेको थियो। साथै केही समय अगाडि विद्यार्थीले कोठा नपाएर कलेजको लाइब्रेरीमा सुत्नु परेको तथ्य पनि यहाँका विभिन्न सञ्चारमाध्यमले प्रकाशन गरेका थिए। अन्तर्राष्ट्रिय विद्यार्थीको चाप बढ्दै जाँदा नवआगन्तुक विद्यार्थीले पूर्वतयारीका साथ नआउँदा यस्ताखाले समस्या भोग्ने गरेका छन्।
सन् २०१५ मा अस्ट्रेलियाको मानव अधिकारवादी संगठनले एक सर्वेक्षण गरेको थियो जस्मा अन्तर्राष्ट्रिय विद्यार्थीको मानवअधिकारसम्बन्धी मुख्य समस्याका रूपमा काम नपाउनु, कोठा नपाउनु, जातीय विभेद हुनु, स्वास्थ्य क्षेत्रमा सहज पहुँच नहुनु, सार्वजनिक सवारी साधनमा टिकट मूल्य अधिक हुनु (भिक्टोरिया राज्यबाहेक), आर्थिक अभाव हुनु र सामाजिक रूपमा एक्लो पर्नुलाई उल्लेख गरेको थियो। यो अहिले पनि उत्तिकै प्रासंगिक छ। सामाजिक सञ्जालका भित्तालाई केहीबेर नियाल्ने हो भने विद्यार्थीका समस्याका चाङ देखा पर्छन्। कसैले महिनौँदेखि काम नपाएको, कसैले कोठा नपाएको, कोही मानसिक रूपमा विक्षिप्त बनेको, कसैले सुत्ने समय नपाएको, कसैलाई कलेजको फिसले पिरोलेको त कसैलाई नक्कली सम्बन्धले पिरोलेको आदिआदि।
नेपाली विद्यार्थीका शुरुका समस्याभाषा
अस्ट्रेलिया आउने विद्यार्थी जोकोहीले पनि अंग्रेजी परीक्षा दिएर आएकै हुन्छन्। अझ नेपालबाट आउने विशेष गरेर अंग्रेजी माध्यमका स्कुलमा अध्ययन गरेका विद्यार्थीले अंग्रेजी त आइहाल्छ नि भनेर ढुक्क भएर बसेका हुन्छन्। हो अंग्रेजी त बोल्न र लेख्न आउँछ तर अस्ट्रेलिया आएपछि यहाँको ‘एक्सेन्ट’ तथा सामान्य बोलीचालीमा बोलिने उखान तुक्का र ‘slang’ हरू बुझ्न केही समय लाग्छ। रोचक प्रसङ्गमा मेरा एक मित्रले शुरुमा अस्ट्रेलिया आउँदा एक विदेशी मित्रले ‘How are you going ?’ भन्दा ‘I am going by train’ भनेर उत्तर दिँदा ती विदेशी जिल्ल परेको अहिले सम्झिँदा खुब रोचक लाग्छ। तिनलाई ‘How are you going’ भनेको ‘How are you’ हो भनेर बुझाउने त्यसबखत् कोही थिएनन्। ‘फरमल’ अंग्रेजीमा त्यति समस्या नआए पनि सामान्य बोलिचाली वा ‘इनफरमल’ अंग्रेजीमा अस्ट्रेलियामा हजारौँ यस्ता शब्द र वाक्यहरू छन् जसलाई बुझ्न केही समय पक्कै लाग्छ। विद्यार्थीले त्यस्ता शब्द र वाक्यको तयारी गरेर आउने हो भने यहाँको समाजमा घुलमिल हुन सजिलो हुन्छ। अर्को समस्या भनेको भाषा बुझे पनि हामीले बोलेको भाषा विदेशीले नबुझ्नु हो। एक्सेन्ट नबुझ्दा दोहोरो संवादमा धेरै समस्या पर्न सक्छ जस्ले गर्दा विद्यार्थीहरु समस्यामा पर्ने गर्दछन्। यसका लागि शुद्धसँग र प्रष्ट बोल्ने बानी बसाल्नु पर्दछ। एक्सेन्ट फरक भएर केही फरक पर्दैन तर बोल्दा प्रष्टसँग सुनिने हुनुपर्दछ। यसका लागि विद्यार्थीले आपूmले बोलेको रेकर्ड गरेर सुनेर कमजोरीलाई सुधार गर्न सक्दछन्।
कोठाअस्ट्रेलियामा आफन्तहरू वा साथीभाइ छन् भने उनीहरूको माध्यमबाट कोठा खोज्नु सबैभन्दा उत्तम उपाय हो। यदि अस्ट्रेलिया आएपछि कोठा खोजिहालिन्छ नि भनेर आइयो भने कोठा पाउन समस्या हुन सक्छ। यदि कोठा पाइयो भने पनि कमसल र महंगो शुल्क तिर्नुपर्ने हुनसक्छ। यहाँ भाडामा कोठा खोज्न रियल स्टेटमार्फत् जानुपर्दछ। तर रियल स्टेटले कोठा भाडामा दिँदा धेरै कुराको आधारमा छनौट गर्दछ जसमध्ये एक आधार ‘कमाइ’ हो। यसको मतलव जसको राम्र्रो ‘पेस्लिप’ अर्थात् ‘तलब पाएको रसिद’ छ त्यसैले कोठा पाउने सम्भावना बढी हुन्छ। तर विद्यार्थीले आउँदावित्तिकै कामै नपाएको अवस्थामा रियलस्टेटमार्फत् कोठा पाउनु असम्भवजस्तै हुन्छ। त्यसैले उनीहरुले अरुहरूसँग सेयरिङमा बस्नु नै उत्तम उपाय हुन जान्छ।
कोठा शेयर गरेर बस्न पनि सजिलो भने पक्कै हुँदैन। नेपालमा आफूले खाएको थाल समेत नमाझ्दा पनि पौरखीको पगरी भिर्ने नेपालीले यहाँ आएपछि सबै कुरा आफैले व्यवस्था गर्नु पनि कठिन हुन्छ। अरू परिवारसँग कोठा शेयर गरेर बस्दा नियमित रूपमा घर सफा गर्नुपर्ने नियममा बाँधिनु पनि कतिपय विद्यार्थीलाई गाह्रो काम हुन सक्दछ। अनौपचारिक कुराकानीमा यहाँका धेरै परिवारले नयाँ विद्यार्थीहरू सरसफाइप्रति त्यति जागरूक नहुनुले पनि कोठा शेयर गर्न हिच्किचाउने गरेको मैले पाएको छु। समस्या शेयर गरेर नयाँ विद्यार्थीलाई राख्नुमा भन्दा पनि जति सिकाए पनि घर सफा गर्न रुचि नखाख्नुमा रहेको धेरैको गुनासो हुन्छ। यस्तो कुरामा पनि विद्यार्थीहरू सचेत हुनु जरुरी हुन्छ।
कामकाम सबैभन्दा मुख्य हो। उच्च वर्गका विद्यार्थी अपवाद होलान् तर अधिकांश मध्यम र निम्न मध्यम वर्गका नेपाली विद्यार्थी आउने भएकाले काम खोज्नु सबैभन्दा महत्वपूर्ण हुन्छ। नेपालमा परामर्शदाताले विद्यार्थीले हफ्ताको २० घण्टा काम गर्न पाउँछन् अनि २० घन्टा काम गरेर २० डलरको रेटले गुणन गर्दा ४०० डलर त हफ्ताको कमाइ हुन्छ भनेर हिसाब निकालिदिन्छन्। अझ मास्टर्स पढ्न आउने डिपेन्डेन्टले त फुलटाइम काम गर्न पाउँछन् भनेर हिसाब निकाल्छन् र विद्यार्थीलाई मख्ख बनाउँछन्।
सामान्य हिसाबमा सोंचौं – “यदि तपाईंसँग एउटा व्यवसाय वा कम्पनी छ भने तपाईंले हफ्ताको २० घण्टा वा तीन दिन मात्र काम गर्ने कर्मचारी कति राख्नुहुन्छ त ?” उत्तर सहज हुन्छ – “धेरै कम।” त्यसैले पनि हफ्ताको २० घण्टा मात्र काम खोज्नु सहज हुँदैन। यसका साथै धेरै कम्पनीले कर्मचारी नियुक्त गर्दा पहिलो शर्त राखेको हुन्छन् –‘पिआर’ कि ‘सिटिजन’। धेरै कम कम्पनीहरूले मात्र विद्यार्थीलाई काम दिन रुचाउँछन्। अझ पार्ट टाइम मात्र विद्यार्थीलाई काम लगाउने त नगन्य नै हुन्छन्। त्यसैले गर्दा विद्यार्थीले बिहान, बेलुकी वा रातीको काम खोज्न बाध्य हुन्छन्। किचन ह्याण्ड, क्लिनिङ, सेल्स असिस्टेन्ट, बारटेण्डर आदिजस्ता क्षेत्रमा यस्ता काम पाउने सम्भावना बढी हुन्छ। अस्ट्रेलियाको राम्रो पक्ष भनेको यहाँ कामलाई ठूलो र सानो भनिँदैन। आफ्नो अनुकूल नहुँदासम्म जस्तो काम पनि गर्न तयार रहेर आफ्नो क्षेत्रको काम खोज्न जारी राख्नु नै उत्तम हुन्छ। आफ्नो क्षेत्रको काम नपाउने वेलासम्म वा पढाइ जारी रहुञ्जेल जुन क्षेत्रको काम भए पनि गर्छु भनेर उच्च मनोवल बनाएर आउने विद्यार्थीले यहाँ आएर दुःख गरेर पढाइ सकेपछि आफ्नो क्षेत्रमा सजिलैसँग लागेका उदाहरणहरू प्रशस्तै छन्।
सामाजिक सञ्जालले छरेको भ्रम६ दिनसम्म काम र कलेजको दौडधुपले लखतरान परेको ज्यानलाई केही आराम गर्न २१ वर्षे ‘रमेश’ आइतबारका दिन सिड्नीको ‘बोण्डाइ बिच’ जान्छन् र त्यहाँ गएर समुद्री किनारको केहीबेर शयर गरेपछि केही फोटोहरू आफ्नो सामाजिक सञ्जालमा हाल्दै स्टाटस लेख्छन् – ‘Life’s beautiful moment: Enjoying at Bondi Beach’। यो स्टाटसमा उनका साथीभाइ, इष्टमित्रले लाइक गर्दै बधाइ र शुभकामनाका सन्देशहरू पठाउँछन् र नेपालमा रहेका धेरै साथीभाइले यही फोटोको आधारमा विदेशको सुन्दर तस्वीरलाई मनमा सजाउँदै विदेशिने सपना देख्छन्। न त उनका साथीभाइले उनले हफ्ताको ६ दिन भोग्नुपरेको दौडधूपको कथा सुन्छन् न त सुन्न इच्छुक नै हुन्छन्। सामाजिक सञ्जालले भित्राएको यो एक विकृति पनि हो। सत्य योभन्दा धेरै कठोर हुन्छ। सत्य बुझेर अनि मनन् गरेर विदेशिने सपना देखियो भने दुःखलाई पनि मनोवलको रूपमा परिणत गर्न सकिन्छ।
अभिभावकीय दायित्वडाक्टर पढाउन चाहने अभिभावकले आफ्ना छोराछोरीलाई राम्रोसँग एमबिबिएस पढोस् अनि राम्रोसँग पास गरोस् भन्ने चाहना राख्छन्। एमबिबिएसमा नाम निकाल्नु त एउटा खुड्किलो पार गर्नु हो भने त्यसपछिको पढाइको महत्व र जिम्मेवारी पनि उनीहरूले राम्रैसँग बुझेका हुन्छन्। त्यसैगरी सेकेन्ड लेफ्टीनेन्टमा नाम निकाल्नुलाई पनि एउटा खुड्किलो पार गर्नु जस्तै मानिन्छ र ट्रेनिङ सक्नु पनि कम चुनौतीपूर्ण हुँदैन। यी त केवल उदाहरण मात्रै हुन्। अन्य क्षेत्रमा पनि लगन र परिश्रम नभई सफल भइँदैन भन्ने मानसिकता धेरैमा हुन्छ। तर अस्ट्रेलिया पढ्नका लागि पठाउने अधिकांश अभिभावकको अपेक्षा भने भिन्न खालको देखिन्छ। छोरा, छोरी विदेशिएको केही समयपछि नै पैसा कमाउला र पैसा पठाउला भन्ने आश गरेर बस्नु पनि धेरै हदसम्म विद्यार्थीहरूको निराशाको कारक बन्ने गरेको छ। कमसेकम पढाइ सक्ने वेलासम्म कसरी आर्थिक, मानसिक र अन्य पक्षबाट आफ्ना छोराछोरीलाई सहयोग गर्न सकिन्छ भन्ने मानसिकता नहुनुले पनि यसलाई समस्याग्रस्त बनाएको देखिन्छ। यसप्रति अभिभावक र हाम्रो सिंगो समाजको धारणा बदलिनु जरुरी छ किनकि अस्ट्रेलिया आउने सबैजना धनी, सम्पन्न र खुशी हुन्छन् भन्नु गलत बुझाइ हो।
अब त अत्ति भोअचेल अस्ट्रेलियामा सामाजिक संस्थाको हिसाब गरिसाध्ये छैन। कत्ति छन् कत्ति। तर विद्यार्थीलाई दुःखमा सहयोग गर्ने संस्था भने निकै कम छन्। विद्यार्थीहरू दुःखले छट्पटाएको खबरहरू आउँदा पनि लाचार बनेर बस्नुपर्ने बाध्यता समुदायको लागि हीतकर पक्कै होइन। विद्यार्थीहरू अस्ट्रेलिया आउँदा जति रकम कलेजको फिसका लागि खर्च गर्छन् त्यसको केही प्रतिशत मात्र रकम उनीहरूको हीतका लागि छुट्याउने हो भने धेरैले राहत पाउन सक्छन्। परामर्शदाताहरू जति मोटाउँदै गएका छन्, त्यति नै विद्यार्थीप्रतिको कर्तव्यका लागि दुब्लाउँदै गएका छन्। एनआरएनहरू जति व्यवसायिक बन्दैछन्, विद्यार्थीका समस्याका मामिलामा त्यति नै अव्यवसायिक देखिँदैछन्। नेपाली दुतावासले जति विद्यार्थीका समस्यालाई सम्बोधन गर्नुपर्ने देखिन्छ, त्यति मात्रामा गरेको देखिँदैन। पीडित विद्यार्थीलाई राहत दिनका लागि परामर्शदाता, सामाजिक संस्था, नेपाली दुतावास सबैले केही सोंच्ने वेला आइसकेको छ। करिब ६ लाख अन्तर्राष्ट्रिय विद्यार्थीको छाता संगठन CISA (काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्टस् इन अस्ट्रेलिया) मा विद्यार्थीका समस्याका चाङ छन्। आफ्नो क्षेत्राधिकारभित्र पर्ने सके जति विद्यार्थीका समस्यालाई सम्बोधन गर्ने प्रयत्न गरिरहेको छ तर नेपाली विद्यार्थीको समस्याका लागि नेपाली समुदाय, संघ, संगठन र प्रत्येक सरोकारवाला नउठ्ने हो समस्या अझै बढ्ने निश्चित छ।
अन्त्यमादुःख संसारभरि छ। दुःख नगरी सुख पाउँछु भन्ने कल्पना गर्नु व्यर्थ हो। कतिलाई स्वदेशमैँ केही गर्छु भन्ने सपना होला, कतिलाई विदेशमा गएर राम्रो शिक्षा दीक्षा लिन्छु भन्ने सपना होला। जस्ले जहाँ जसरी गरे पनि दुःखसँग जुध्ने प्रतिवद्धता भएका मानिसहरू नै कालान्तरमा सफल हुन्छन्। त्यस्तै प्रतिवद्धता, मनोवल र संकल्पका साथ यो कंगारूको देशमा आउनुहोस् – यहाँ तपाईंजस्तै मिहिनेती हातहरूलाई अनेकौं अवसरहरूले पर्खिरहेका छन्।