संवत्सरको तेह्रौं महिनामा सूर्यले चन्द्रमाको लागि छोडेको हुन्छ अर्थात् उक्त अधिक महिनामा सूर्य अगाडि बढेको हुँदैन। अतः यो तेह्रौं महिना धेरै राम्रो हुँदैन।- ऐतरेय ब्राह्मण, ३.१
ऐतरेय ब्राह्मण ऋग्वेदको ब्राह्मण हो।
वेदको प्राचीन विभाग मुख्य रूपमा दुर्इ छन् – मन्त्र र ब्राह्मण। आरण्यक र उपनिषद् ब्राह्मण अन्तर्गत आउँछन्। आपस्तम्बको कथनअनुसार मन्त्र र ब्राह्मण यी दुवै वेद मानिन्छन्। मन्त्रभागलाई संहिता भनिन्छ र अर्थस्मारक वाक्यलाई ब्राह्मण भनिन्छ।
संवत्सरमा पर्ने बाहौं संक्रान्ति र चन्द्रमासमा समन्वय बनाइराख्नको लागि वैदिक कालमा नै तेह्रौं अधिक महिनाको परिकल्पना गरिएको थियो।
११ वर्षको अन्तरालमा परेको यसपालीको जेठ अधिकमास सुरू भएको आज २१ दिन भयो अबको ९ दिनमा सकिन्छ।
निर्णयसिन्धु, धर्मसिन्धु लगायतका ग्रन्थहरूमा अधिकमासमा के गर्न हुन्छ के गर्न हुँदैन भन्ने कर्तव्य,अकर्तव्यका विषयमा विस्तृत जानकारी गराइएको छ। जुन कृत्य अधिकमासमा वर्जित मानिन्छ त्यो कृत्य बृहष्पती, शुक्रको अस्त, बाल्य,वार्द्धक्यमा पनि वर्जित मानिन्छ। म पाठकहरूलार्इ अधिकमासमा के गर्न हुन्छ के गर्न हुँदैन भन्ने विषयमा अथवा पुरूषोत्तम माहत्म्यमा सबैले हेला गरेको मलमासलार्इ गोलोक निवासी श्रीकृष्णले कसरी पुरूषोत्तम एवं सवै महिनाहरूको प्रमुख हुने वरदान दिए त्यो कुरा गर्दिनँ।
म पाठकहरूलार्इ संक्षिप्तमा के कारणले अधिक एवं क्षयमास हुन्छ, त्यसको प्रभाव कस्तो रहन्छ। अधिकमासको नजिकका महिनामा हाम्रो देश नेपालमा घटेका विगतका केही प्रमुख घटनाक्रमको विषयमा केहि जानकारी गराउने छु।
प्राचीनकालदेखि नै अधिक र क्षय मासको ज्ञान मेदिनीय (भू-मण्डलीय) भविष्य भन्नको लागि धेरै राम्रो आधार मानिन्थ्यो।
ज्योतिषीय संहिता ग्रन्थहरुमा विभिन्न महिनामा अधिक वा क्षय हुनुको फल बताइएको छ।
२०२० को क्षयमास पछि हरेक जेठ अधिकमास पछि अर्को अधिकमास सुरू हुनु अगाडिका करिब ४ महिना नेपालको राजनीति क्षेत्रका प्रधान मानिएका पुरूषहरूको क्षय (हानि)भएको देखिन्छ।
रोगपीडा भवेज्ज्येष्ठे यज्ञदानादिकं बहु।
राजानस्तत्र नश्यन्ति प्रधानपुरुषक्षयः।।
अर्थात् ज्येष्ठ अधिक भयो भने रोगहरुले कष्ट, मानिसहरुमा धर्मभावको विशेष प्रचार, गर्मीको अधिकता, प्रधान पुरुषको क्षय हुन्छ भनिएको छ।
यो भन्दा अगाडि विगतमा नजिकै क्रमशः ६४,५६,४५,३७,१८ तथा १९९९ एवं ८०,६१,१९५३ सालमा पनि जेठ महिना अधिक भएको थियो।
अधिक र क्षयमासका लक्षण
एक अमावस्यादेखि अगाडिको अमावस्यासम्म एक चन्द्रमास हुन्छ, जसमा तीस तिथिहरु व्यतित हुन्छ। संहितामा यही अमान्त मासको फलकथनलाई आधार मानिन्छ।
ज्योतिषका अनुसार वर्षलाई सौरमानद्वारा ग्रहण गरिन्छ, जबकि महिना सौर–चन्द्रमानबाट लिइन्छ। वास्तवमा पृथ्वीले सूर्यलाई गर्ने एक सम्पूर्ण परिक्रमाको समय नै सौर्य वर्ष हो।
हामीलाई थाहा छ कि, एक वर्षमा सूर्य राशि चक्रको एक परिक्रमा पुरा गर्दछ जबकि चन्द्रमा राशिचक्रको बाह्र भन्दा केही बढी परिक्रमा गर्दछ। सूर्यलार्इ एक संक्रान्तिबाट अर्को संक्रान्तिसम्म सरदरमा ३०.४४ दिन लाग्छ जबकी चन्द्रमासमा जम्मा २९.५३ दिन हुन्छ।
यसैकारण चन्द्रमाको बाह्रौं परिक्रमा पूर्ण हुनलाई २९.५३×१२ अर्थात् ३५४.३६ दिन नै लाग्छ। यसप्रकार सौर्य वर्षको तुलनामा चन्द्रवर्षमा प्रतिवर्ष लगभग दश दिनको अन्तर हुन जान्छ जुन प्रति तेस्रो वर्षमा ३२.२ महिना पछि एक पुरै चन्द्रमासको बराबर हुन पुग्छ।
यसै कारण प्रति तेस्रो वर्षमा एक चन्द्रमास अधिक मानिन्छ। जसले सूर्य र चन्द्रमाको गोचरमा सन्तुलन बनिरहन्छ। यस अधिक मासमा ६० तिथिहरु हुन पुग्छ।
यसमा वर्षभित्र हुने चाडपर्व र ऋतुहरुको सम्बन्ध जोडिएको हुन्छ। यदि यस्तो गरिएन भने हाम्रो चाडपर्व र ऋतुहरु पनि प्रायः बाह्रै महिनाहरुमा मुस्लिम धर्मको चाडपर्व जस्तै घुमिरहन्छन्।
त्यसैले ज्योतिष सिद्धान्तानुसार महिना त्यो नै हो, जसमा सूर्यको संक्रान्ति हुन्छ।
अतः जुन दुई अमावस्याहरुकोबीच संक्रान्ति हुँदैन त्यो मलमास तथा जब ग्रहगतिवशात् दुई संक्रान्तिहरु हुन्छन् त्यो क्षयमास हुन्छ। भास्कराचार्यले सिद्धान्त सिरोमणी ग्रन्थमा यसलाई एकदम स्पष्टसित भनेका छन् -
असंक्रान्तिमासोऽधिमासः स्फुटः स्याद्
द्विसंक्रान्तिमासः क्षयाख्यः कदाचित्।।
अधिकमास लाई नै मलमास, पुरुषोत्तम वा अधिमास पनि भनिन्छ। यो एक निश्चित नियमभित्र रहेर हरेक तेस्रो वर्षमा हुन्छ। त्यस्तो केही निश्चित र विश्वसनीय नियम हामी मलमास वा क्षयमासकोलागि बनाउन सक्दैनौं। अर्थात् यसको स्थितिको गणितद्वारा यो सिधै दिन गनेर बुझ्न सकिन्छ। यसैकारण भास्करले यसलाई कहिलेकाही हुने भनेका छन्। वास्तवमा ग्रह तीव्रतम गतिको समय आफ्नो कक्षमा पृथ्वीको नजिक बिन्दुमा र न्यूनतम गतिको समय मन्दोच्च वा पृथ्वीबाट आफ्नो कक्षको दूरतम बिन्दुमा हुन्छ।
अधिक र क्षयमासको गणना सदैव स्पष्ट मानबाट गरिन्छ। अतः अधिकमास त क्रमशः प्रति तेस्रो वर्ष हुन्छ तर क्षय मास कहिले कहिले मात्र सम्भव हुन्छ।
सूर्यगति वृश्चिक, धनु, मकर राशिहरुमा क्रमशः
तीव्रतरबाट तीव्रतम हुने कारण जब पनि क्षयमास सम्भव हुन्छ, त्यो यिनीहरुसित सम्बन्धित महिनाहरु अर्थात् कार्तिक, मार्गशीर्ष, पौषमा नै हुन्छ। भास्कराचार्यले भनेका छन्-क्षयः कार्तिकादित्रये नान्यतः स्यात्।
सामान्यतयाः मार्गशीर्ष र पौष क्षय हुन्छ। कार्तिक क्षय र अधिक जुन पनि हुन सक्छ। माघ कहिले पनि अधिक वा क्षय हुँदैन र शेष आठ महिना मात्र अधिक हुने योग्यता राख्दछन्।
जुन साल क्षयमास हुन्छ, त्यो सालमा दुई अधिकमास नियमित हुन्छ। यी अधिकमास क्षयभन्दा तीन महिनाको भित्र अगाडि वा पछाडि हुन्छन्। क्षयभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ।
अधिक र क्षयमासको प्रभाव मेदिनीय (भू-मंडलिय) प्रसंगमा महत्वपूर्ण स्थान राख्दछ। क्षयमास घटित हुनुभन्दा पूर्व नै यसले आफ्नो कुप्रभाव देखाउन सुरु गर्दछ, जब कि अधिकमासको फल सामान्यतया सम्बन्धित वर्षहरूमा नै घटेको देखिन्छ। कहिलेकाही यी विकृतिहरुको फल वर्षमा बीउको रुपमा रहेर भावि घटनाक्रमको आधारभूमि तयार गर्न सक्छ जुन आउने वर्षमा यथासम्भव प्रकट हुन्छ।
उदाहारणको लागि जस्तै माथिको श्लोकमा जेष्ठ अधिक हुँदा प्रधानपुरूषको क्षय हुने भनिएको छ।
यो भन्दा अगाडि नजिकै ६४ सालमा जेठ अधिक थियो त्यस पछि ६७ सालको वैशाखअधिक सुरू न हुँदै ६६ चैत ७ गते शनिबार नेपालको राजनीति क्षेत्रका अभिभावक मानिएका चर्चित कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको निधन भएको थियो।
६४ भन्दा अघि ५६ सालमा जेठ अधिक थियो ,५६ मा जेठको अधिकमास सुरू हुनु केहि दिन अघि वैशाखमा त्यो बेलाका एमाले पार्टीका प्रधान पुरूष मनमोहन अधिकारीको क्षय भएको थियो।
एवं त्यस पछि पर्ने ५८ असोजको अधिकमास सुरू हुनु केहि महिना अघि जेठै महिनाको १९ गते शुक्रबार राति दरबार हत्याकाण्ड पनि भएको थियो जसमा तत्कालिन प्रधान पुरूष राजा विरेन्द्रको वंशै नाश भएको थियो।
२०४५ मा पनि जेठ अधिक थियो तथा ४८ वैशाख अधिक सुरु हुनु अगाडि नै त्यो बेला चाँहि पंचायती व्यवस्थाको अन्त्य भएको थियो। ३७ सालमा पनि जेठ अधिक थियो तथा ३९ असोज अधिक सुरू हुनु अघि ३९ श्रावणमा त्यो बेलाका नेपाली कांग्रेसका प्रधान पुरूष विश्वेश्वर प्रसाद कोइरालार्इ हामीले गुमाउनु परेको थियो।
हरेक जेठ अधिकमास पछि अर्को अधिकमास सुरू हुनु अगाडिका करिबन ४ महिना नेपालको राजनीति क्षेत्रका प्रधान मानिएका पुरूषहरूको क्षय भएको देखिन्छ। नजिकका साँढे २ वर्षमा नेपालका राष्ट्र प्रमुखलगायत प्रधान पुरूषहरूले विशेष सजगता अपनाएर शारीरिक स्वास्थ्यको विशेष ख्याल गर्नु राम्रो रहन्छ।
भविष्यमा नजिकै ८ वर्ष पछि ८३ मा फेरि जेठ महिना अधिक भएको देखिन्छ र त्यसको ठीक साँढे २ वर्षमा क्षयमास हुने देखिन्छ।
अनुसंधान गर्दा अधिकतम १९ वर्ष र न्युनतम ८ वर्षको अन्तरालमा जेठ अधिक भएको देखिन्छ। वि.सं १९५३ को जेठ अधिकको ८ वर्ष पछि ६१मा जेठ अधिक थियो त्यस पछि १९-१९ वर्षमा भएको जेठ अधिक २०३७ साल पछि छिटो छिटो हुन थालेको देखिन्छ
यसपाली ज्येष्ठ अधिक भएकाले नजिकका वर्षमा मानिसहरुलार्इ अनेक प्रकारका रोगहरुले कष्ट, मानिसहरुद्वारा धर्मभावको विशेष प्रचार, यज्ञ यज्ञादि धेरै अधिक मात्रामा हुने गर्मीको अधिकता, प्रधान पुरुषको क्षय हुन सक्ने भएकाले सम्बन्धित सबै पक्ष सजग रहनु राम्रो।
हुन त ग्रह, नक्षत्रले भू-मंडललार्इ प्रभाव पार्ने अरू पनि धेरै प्रकारका शुभ-अशुभ प्रभावहरू हुन्छन्।