‘कञ्चनपुरमा तेह्र वर्षिय बालिकाको बलात्कार पछि हत्या', पत्रिकाका मुख्य पृष्टमा छाएका यो समाचारले म केही दिनदेखि तनावमा छु।
छोरीचेलीलाई निरन्तर बलात्कार गरिएका, मारिएका, जलाईएका, घरेलु हिंशाबाट दुःख पाएका जस्ता खबरहरु निरन्तर सुनिन्छ्न्, छापिन्छन र कसै कसैले यी घटनाहरुलाई भजाएर डलरको खेतीसमेत शुरू गर्छन्।
तनावमा हुनुपर्ने कारण हो-मेरो सरकार हराएको छ। तपाई भन्नुहोला कि स्थानीय प्रशासन र पुलिस अफिसमा गएर रिपोर्ट लेखाउनु, तर मेरो गाउँमा पहिले देखि नै सरकार छैन। तनावमा हुनुपर्ने यी र यस्तै प्रकृतिका कारणहरू हुन् जसका लागि म नियमित रुपमा हराएको मेरो सरकार खोज्दै छु हजुर।
वास्तबमा धेरैअघि मेरो गाउँमा सरकार नामक एक अस्तित्व थियो। अब त्यो अस्तित्वको आभास छैन। एक दलीय पञ्चायतमा पनि सरकार थियो, तीस वर्षपछि ढल्यो र बहुदलीय ब्यवस्थामा नयाँ सरकार आयो।
फेरि बहुदल ढल्यो, भएको मेरो सरकार पनि ढल्यो। लामो आन्दोलन पश्चात गणतन्त्र आयो, लुछाचुडी र भागबन्डामा समय बित्यो, तर मेरो सरकार आएन।
सत्ताको भागबन्डा कहिले पनि सकिएन, पुस्तौ पुस्ताका लागि राजनीति गर्ने थलो - संघीयताका निहुँमा समयमै आउनुपर्ने संविधान पनि आएन। सात वर्ष पश्चात संविधान त आयो, तर बाबुबाट पाएको पैतृक सम्पत्ति झै अश लगाई मेरो गाउँलाई नै टुक्रा टुक्रा पारी भाग लगाईयो हजुर।
केही वर्ष अघि राजधानी काठमाडौं पुगेको थिएँ। बाटाभरी खाल्डा खुल्डी, धुलो र धुवा अनि अब्यवस्थित शहरीकरणले फोहोर र हिलाम्मै आहाल बनेका बाटाहरू छिचोल्दा पन्ध्र दिन ज्वरो आएर थन्किनु पर्यो।
काठमाडौं बसुन्जेल मुखमा मास्क लगाएर एक अपराधी झै आफ्नो आधा अनुहार छोप्नुपर्ने बाध्यता पर्यो। त्यहाँ त बाटोघाटो, शिक्षा, स्वास्थ जनतालाई सेवा प्रदान गर्ने निकायहरु सबै ठेकदार र माफियाले पो कब्जा गरेका रहेछ हजुर।
दसैंको सिजन थियो, ससुराली गाउँ विराटनगर जानु थियो। पर्वको समय परेछ। बसको टिकटका लागि क्यूमा बसेँ, तर मेरो नाममा अर्कैले टिकट लिएर बेपत्ता भयो। दौड्दै ट्राभल एजेन्सीतर्फ लागे, प्लेनको टिकट सकिएको जानकारी पाएँ।
एयरपोर्ट तर्फ लागेँ, कही कतै टिकट प्राप्त गर्न सकिनँ। त्यसै बिच एक मित्रले टिकट मिलाई दिने बचन दिए, त्यस पश्चात एक हजार बढी पैसा तिरेर मैले टिकट पाए। राजधानीमा त जनतालाई सेवा प्रदान गर्ने संस्था र संस्थालाई हेर्ने र नियन्त्रण गर्ने सरकार नै बेपत्ता भएको रहेछ।
विराटनगर ससुराली पुगेँ। दसैंको समय थियो। पारिवारिक भेटघाट, दुःख सुख र आपसमा उत्साह र उत्सव मनाउनेतर्फ भन्दा पनि अनियन्त्रित मदिराको बिक्री बितरण र त्यसको अत्याधिक प्रयोगले भट्टीहरु भरिभराउ देखिन्थे। बाटामा पुराना साथी भाई भेटियो। प्रायको मुखमा कि त खैनी थियो कि गुटका र पान। मुखभरी कोचेर ती गुटकालाई बाटामा पिच्च थुक्दै कुरा गर्थे ती साथीहरू।
म पनि पानको पुरानो तिर्सना मेटाउन उनीसँगै पान पसल पुगेँ। पान पसलेले जनै झै लामो उनेर राखेका जर्दा र गुटका देखेर छक्क परेँ। जनताको स्वास्थसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता अनियन्त्रीत बेचबिखन र उपभोगमा सरकारलाई मैले सम्झिएँ, तर यहाँ पनि सरकार हराएछ हजुर।
समाचारका लागि एउटा कभरेज बनाउनु पर्यो भन्ने सोचेँ। झोलाबाट ल्यापटप झिक्दै बिजुलीमा जोडे। सिलिङमा अल्छी माने झै सुस्तरी पङ्खा घुम्दै थियो। पिल पिल बल्दै गरेको बत्ती त्यही समयमा झ्याप्प निभ्यो।
ल्यापटपमा ब्याट्री सकिएको थियो। बिजुली त जान छाडेको भन्ने सुनेको थिएँ, त्यो त राजधानीका लागि मात्र पो रहेछ। अत्याधिक गर्मीका कारण हस्याङ फस्याङ गर्दै दसैंको टिका थापियो, पसिनाले निधारको त्यो रातो टिकालाई एकै छिनमा बगाईदियो।
त्यसै बेला मैले सम्झिएँ कर तिरेको त्यो सरकारलाई। फोन गरेँ, ईमेल पठाए तर मैले मेरो सरकारलाई कही कतै भेटन सकिनँ।
ब्यापारीबाट प्राप्त दसैं भागले खुसी मनाउँदै गरेको उसलाई त्यस पश्चात खोज्ने प्रयासनै गरिनँ। ऊ त धेरै पहिलेनै भारतबाट बिजुली किनेर त्यस नगरिबाट हराइसकेको रहेछ।
विराटनगरमा दसैं सकेर घुम्न पूर्व ताप्लेजुङतर्फ लागेँ। पञ्चायतताका निर्माण भएको एक मात्र सुकेटार एयरपोर्ट पहिले जस्तो थियो। अहिले पनि त्यस्तै छ। आकाशमा प्लेन घुम्छ, ल्यान्ड गर्न नसकेर फेरि बिराटनगर फर्कन्छ।
राजनीतिक फाइदाका लागि आफू अनुकुल हुने गरी एयरपोर्टका लागि गलत स्थानको छनोट भएकाले सुकेटारमा प्लेन बस्न नसकेको स्थानीयले गुनासो गर्दै आएका छन्। तर, बहुदलहुँदै गणतन्त्र आयो, जनताको समस्या जस्ताको त्यस्तै छ।
प्लेनको भर नभएकाले मोटर बाटो हुँदै ताप्लेजुङको सदरमुकाम फुङ्लिङ हुँदै फुङ्लिङबाट दुई दिनको पदल यात्रा पछि हेल्लोक गाउँ पुगेँ।
अत्यनन्त कठिन जिविकोपार्जनका साथ बाच्न बाध्य त्यस गाउँका बासिन्दा देखेर मेरा आँखा रसाए। वर्षमा मुस्किलले चार पाँच महिना मात्र खान पुग्ने ती गाउँले बाँकी समयका लागि भारी बोक्ने लगायत अन्य रोजगारीको काम गर्छन्।
बिरामी पर्दाको अवस्था अझै दयनीय छ। डाक्टर खोज्न बिरामी बोकाएर कहालीलाग्दो भीर र सलल बगेको पहिरो छिचोल्दै दुई दिन हिँडेर जिल्ला अस्पताल फुङ्लिङ पुग्नुपर्छ।
ती गाउँलेका लागि डाक्टर भेट्नु भनेको भगवानलाई भेट्नु सरह हुन्छ। औषधी उपचार नै गरे पनि साहुसँग महँगो ब्याजमा कर्जा लिनु पर्ने बाध्यता छ।
गाउँको पारी एक घण्टा टाढा भएको हेल्थ पोस्टमा पनि हेल्थ असिस्टेन्ट नियमित हुँदैनन्, भए पनि रोगथामका लागि मात्र हुन्छ।
औषधिका लागि जसले जे दिन्छ त्यही सही मानेर प्रयोग गर्नुको बिकल्प छैन। कडा रोग लागे उपचार गर्नु भनेको यिनका लागि अकाल मै काल आउनु सरह हो।
यो त एक प्रतिनिधि गाउँ मात्र हो। यस्ता समस्या भएका र राज्यबाट पाउनुपर्ने सुविधाबाट बञ्चित गाउँ त हामी कहाँ कती छन कती।
त्यस बेला मैले सम्झिए ती डाक्टर जो यस्तै गरिब र ग्रामिण जनताका लागि शुलभ शिक्षा र स्वास्थ प्रदान गर्नुपर्छ भनेर पन्ध्रौं पटक अनसन बसे। ‘मेडिकल कलेजलाई काठमाडौंमा मात्र सिमित गर्नु हुँदैन। ग्रामिण भेगमा ब्यापक रुपले विस्तार गर्नुपर्छ
ताकी जनताले अकालमै मर्नु नपरोस्’, भन्ने मागको बिपक्षमा वकालत गर्ने जनप्रतीनिधि र तिनिहरुबाट सञ्चालित सरकारलाई मैले अलिकति पनि सम्झिनँ। किनकी मेरो सरकार त नैतिक र भौतिक रुपले नै हराएको छ हजुर।