ओपिडि सेवा- शिक्षण अस्पतालमा पचास। मेडिसिटीमा पाँच सय। मेदान्तामा पन्ध्र सय।
शल्यक्रिया- शिक्षण अस्पतालमा एक हजार, मेडिसिटीमा लाख, मेदान्तामा करोड।
करोड?
म बाँसबारी न्युरो अस्पतालबाट तीन महिना मेदान्तामा स्नायू शल्यचिकित्सा तालिमका लागि बस्दाको अनुभव।
म मेदान्तापछाडिको बस्तीमा ललितजीको होटलमा बस्छु। उनी दुई वटा चार तले घरमा करिब पन्ध्र कोठा भाडामा लिएर मेदान्तामा स्वास्थ्योपचारका लागि आउने नेपालीलाई दाल, भात, रोटी र तरकारीसहित सेवा प्रदान गरिरहेका छन्।
कहिल्यै खाली हुँदैन। कहिले त पुग्दैन पनि। होटलमा खान बस्न मात्र होइन अस्पतालमा स्वास्थ्योपचारमा समेत सहयोग गरिदिन्छन्।
खाना खाँदा सबैसँग भेटघाट हुन्छ। कुराकानी हुन्छ। डाक्टर भन्ने थाहा पाएपछि आफ्नो कथा व्यथा सुनाउनुहुन्छ। परामर्श लिनुहुन्छ। स्नायू शल्यचिकित्सामा दक्षता हासिल गर्ने क्रममा रहे पनि आफ्नो सामान्य जानकारीमा रहेका विभिन्न रोग र तिनको उपचार सम्बन्धी उहाँहरूको जिज्ञासा मेटाउने प्रयत्न गर्छु।
‘यहाँ त ठ्याक्कै रोग पत्ता लगाउँछन्। किन हो नेपाली डाक्टरले रोग पत्ता लगाउन नसक्ने?’, एक जना दाइले सोध्नुभयो।
मैले जवाफ दिएँ- एक सय तीस करोडबाट छानिएका अब्बल डाक्टर हुन्। हामी तीन करोडबाट छानिएका हौं। उनीहरु एक सय तीस करोडको उपचार गरेर अनुभवी भएका डाक्टर पनि हुन्। त्यसमा स्वभाविक अन्तर हुन्छ। अर्को तथ्य के पनि हो भने मेदान्ता पश्चिमी स्वास्थ्य मोडलमा निर्मित र संचालित अस्पताल हो। यो मोडलमा, उदाहरणका लागि कसैलाई अपेन्डिसाइटिसको लक्षण देखियो भने सिटी गरेर रोग किटान नगरी शल्यक्रिया गरिँदैन। न्यायीक कारबाहीको डरले।
नेपालमा हामी त्यही शल्यक्रिया अल्ट्रासाउन्डको आधारमा गर्छौं। जब कि शास्त्रले यो शल्यक्रिया लक्षणको आधारमा मात्र पनि गर्ने अधिकार दिन्छ। उपचार क्रममा यस्ता परिस्थिति धेरै आउँछन्।
बाँसबारी न्युरो अस्पतालको ओपिडिमा खुट्टासम्म जानेगरी ढाड दुख्ने समस्याले पिरोलिएका धेरै विरामी आउँछन्।
उनीहरुको समस्या सुनेपछि र जाँच गरेपछि थाहा हुन्छ, उनीहरू सायाटिका भनिने मेरूदण्डमा नसा च्यापिने समस्याले ग्रस्त छन्। त्यसलाई एमआरआइ गरेर प्रमाणित गर्न सकिन्छ। तर, यो समस्याले ग्रस्त १०० मध्ये ८० जना फिजियोथेरापी मात्रले ठीक हुन्छन्। त्यसैले पहिलोपटक यो समस्या लिएर मेरो ओपिडिमा आउने बिरामीलाई म एमआरआइ नगरिकन दुखाई कम गर्ने औषधी र फिजियोथेरापीको सल्लाह दिएर महिना दिनमा बोलाउँछु।
दुखाई ठीक नहुने ती २० जनामा मात्र पछि एमआरआइ गराउँछु। तपाईं त्यही समस्या लिएर मेदान्ता जानुहोस्, एमआरआइ नगरिकन तपाईंको उपचार नै सुरू हुँदैन। सबै १०० जनाको सुरूमै एमआरआइ हुन्छ।
रोगको निदान गर्न हामी असक्षम होइनौं।
होला हामीसँग कतिपय महंगा उपकरण कमी होलान् तर त्यसको अर्थ यो होइन कि भारत, थाइल्यान्ड, सिंगापुर नगैकन नेपालीको उपचार सम्भव नै छैन। आफ्नो खर्चमा आउनेलाई त केही भन्न मिल्दैन तर, जनताबाट उठाएको करले नेताहरुलाई भने यो व्यवहार नैतिकताले पनि दिँदैन।
बाटो देखाउने अग्रजमा नै यो प्रवृत्ति हावी भएपछि, मेदान्ता आउने विरामी नेपाली जनतालाई के भन्ने?
मेदान्तामा उपचार गर्न आउनेमध्ये अर्का एक दाइले बाँसबारी न्युरो अस्पतालाई र डा. उपेन्द्र देवकोटालाई निकै महंगो सेवा दिएको आरोप पनि लगाउनुभयो।
मैले भनेँ - बाँसबारीमा हाम्रो सेवा वीर या शिक्षण अस्पतालको भन्दा तीन गुणा महंगो भए पनि मेदान्ताको भन्दा तीन गुणा सस्तो पनि छ।
भनिन्छ, शिक्षा र स्वास्थ्य मानिसका आधारभूत आवश्यकता हुन्। समाजवादी संविधानले निर्देषित नेपाली नागरिक भएर सोच्दा स्वास्थ्यको वार्तामा यो सस्तो र महंगो भन्ने शब्दले भित्रभित्रै पोल्छ। तर, व्यक्तिवादी सोच हावी रहेको युगमा विश्वव्यापी पूँजीवादी बजारीकरणले शिक्षा र स्वास्थ्यलाई पनि निलेको अवस्था छ।
माओवादी सिद्धान्तको लौरो बोकेर हिँडेका कामरेड त साम्यवादी चौतारीमा बसेर लेखिएको समाजवादी संविधानलाइै नै आघात पुग्नेगरी पूँजिवादी व्यवहार देखाउँछन् भने शिक्षा र स्वास्थ्यको क्षेत्रबाट यी शब्दलाई अभिछिन्न गर्न धेरै नै समय लाग्नेछ।
डाक्टरसा’ब, खर्चले भ्याएन, मेसिनबाट झिकिदिनू, म मेरो विरामीलाई घरै लैजान्छु’ भनेको सुन्न हामीलाई पनि सजिलो हुन्न। मरणासन्न भएर आएको विरामीलाई बचाउन आफू रात विरात नसुती नसुती शल्यक्रिया गरेको हुन्छ। शल्यक्रिया पनि नयाँ नयाँ प्रविधियुक्त हुनाले महंगो हुन्छ।
भेन्टिलेटरको चार्ज पनि महंगो। फाटेको दौराको गोजीबाट लाखको विटो थुत्ने मनोकांक्षा न हाम्रो हुन्छ न मेदान्तामा काम गर्ने डाक्टरको नै। नीति र थिति कै दोष होला।
महंगीकै एउटा चरम उदाहरण, मेदान्तामा कलेजो प्रत्यारोपण शल्यक्रियाको खर्च चालिस पचास लाखको हाराहारीमा हुन्छ।
यसै क्रममा शल्यक्रियामा पछि जटिलता आउन गई करोडको हाराहारीमा खर्च गरिसकेको नेपाली परिवार पनि यहीँ भेटेँ। अब त नेपालमा पनि यो सुविधा छ। आशा छ, कसैले यसको लागि अर्को करोड खर्च गर्नु नपरोस्।
मेदान्तामा उपचार गराउन आउने सबै धनी भन्ने पनि होइनन्। नेपाली जनताको लागि ग्रान्डी, मेडिसिटी, वा बाँसबारी जति महंगो हो, भारतीय जनताको लागि पनि मेदान्ता उतिकै महंगो छ।
यहाँ इरान, इराक, अफगानिस्तान आदि क्षेत्रबाट पनि धेरै आउँछन्। उनीहरुलाई त अझ भारतीय नागरिकभन्दा महंगो शुल्क लिइन्छ।
यहाँ उपचार गराउन आउने नेपाली विरामीको गुनासो पनि छ कि, नेपाली डाक्टरले राम्रोसँग परामर्श नदिइकन औषधी लेख्छन्। जुन पाउँदा मेदान्तामा उहाँहरू खुसी हुनुहुन्छ। परामर्शको मामिलामा हाम्रो कमी कमजोरी होला। त्यो म सम्पूर्ण रूपमा नकार्दिनँ। तर, पचास रुपैयाँको दरमा दिनमा सयौं विरामी हेर्नुपर्ने बाध्यता रहेको वीर वा शिक्षण अस्पतालको जस्तो परिस्थितिलाई मेडिसिटी र मेदान्ता जस्ता कर्पोरट अस्पतालका डाक्टरसँग व्यवहारिक तुलना गर्न पनि मिल्दैन।
पच्चीस रूपैयाँको टिकट काटेर सरकारी एम्सको ओपिडीमा भीड छिचोल्दै उपचारको अनुभव गर्नुहोस् अनि यथार्थ बोध भइहाल्छ।
यो नेपालको या भारतको डाक्टरको चरित्र होइन यो स्वास्थ्यको बजारीकरणको असर हो। स्वास्थ्यको बजारीकरणका फाइदा बेफाइदा त्यो नितान्त अर्को विषय हो जसमा अहिले म प्रवेश गर्दिनँ।
यहाँ स्नायू शल्यक्रिया सिक्ने क्रममा मैले हप्तामा एक जस्तो नेपाली विरामी भेटेँ जो आफ्नो मष्तिस्कको शल्यक्रिया गराउन मेदान्ता आएका थिए।
उनीहरूले जे शल्यक्रिया यहाँ गरेर गए ती सबै हामी नेपालमा सजिलै उपलब्ध गराउन सक्थ्यौं। नेपाली विरामीमा नेपाली डाक्टरप्रति विश्वास घट्दै गएको अनुभूति मलाई भयो।
के नेपाली डाक्टरको गुणस्तर साँच्चै नै खस्किएको हो त? नेपाल मेडिकल काउन्सीलको परीक्षाको नतिजाले सायद त्यही इंगित गर्छ। १०० मा ७५ असफल।
पैसाले डिग्री दियो। तर, डाक्टर दिएन। विरामीको डाक्टरप्रति विश्वास नै मरेर जान लाग्यो। यो परिस्थितिको सृजना कसरी भयो?
डा. गोविन्द केसीले उठाउनुभएका मुद्दाहरु हामी सबैले संवेदवशील भएर सोच्नु अपरिहार्य छ। अन्यथा डाक्टरले विश्वासमात्र होइन सामाजिक सम्मान पनि गुमाउनेछन्।
पैसा नभए वीर। पैसा भए मेडिसिटी। नेता, ठूलावडा र धनीमानी भए मेदान्ता।
त्यसो त भारतीय अभिनेता शाहरुख खान विरामी भए लन्डन जान्छन्। अभिनेत्री मनिषा कोइराला न्यूयोर्क। सरकारीभन्दा प्राइभेट राम्रो। देशभन्दा विदेश।
समय र युग नै यस्तो पर्यो कि स्वास्थ्य होस् या शिक्षा, व्यापारीकै हातमा राम्रो। मैले व्यापार नराम्रो हो भन्ने तर्क राख्न खोजेको भने होइन र व्यापारी सबै फटाहा हुन्छन् भन्न खोजेको पनि होइन।
(डा लोहनी न्यूरो सर्जन हुन्)