दिल्ली बस्दाको अर्को सानो अनुभव ।
कोठा त चाहियो बस्नलाई। होटेलमा कस्तो कोठामा बस्ने? फर्निस्ड कि अनफर्निस्ड? एसी भएको कि नभएको? अट्याच्ड बाथरूम कि नाइ?
स्वास्थ्यको प्रसंग कसरी जोडियो भन्नुहोला।
अहिले होल बडी चेकअपको फ्यासन नै चलेको छ।
नेपालको ग्रान्डी होस् या दिल्लीको मेदान्त।
त्यहाँ पनि प्रश्न आउँछ। बेसिक कि एग्जिक्यूटिभ?
फरक के भनेर सोध्यो भने, साधारण स्क्रीनिङ कि क्यान्सर पनि?
इसिजी मात्र कि इको पनि? जेनेरल फिजिसियन कि स्पेशलटी फिजिसियन?
यसलाई व्यङ्ग्यभन्दा पनि व्यापारिक आवश्यकताको रूपमा ग्रहण गर्नुपर्ला। व्यापारीको ढोकामा यो प्रश्न यो प्रथा सामान्य होला।
यदि होल बडी चेकअप आवश्यक नै हो भने यो प्रश्न प्रतिप्रश्न नाजायज नहोला। तर, मैले उठाउन खोजेको विवाद होल बडी चेकअपको आधारभूत आवश्यकताको नै हो।
मेडिकल साइन्समा स्क्रीनिङको ठूलो चर्चा हुन्छ। स्क्रीनिङ भन्नाले लक्षण नदेखिएका मानिसमा रोग पत्ता लगाउन हेतु गरिने जाँच।
महिलालाई हुने स्तन क्यान्सर गाँठो बसिसकेपछि डाक्टरको हातमा पर्दा कति परिस्थितिमा त्यो आफ्नो सामान्य सीमा नाघिसकेको हुन्छ।
त्यसैले पचास वर्ष नाघेका महिलामा वर्षेनी म्यामोग्राम भन्ने स्तनको एक्सरे गर्दा कहिलेकाँही त्यो प्राथमिक अवस्थामा नै डाक्टरको निगरानीमा आउने हुनाले विरामीको जीवनमा त्यसले निकै सकरात्मक असर प्रदान गर्दछ ।
तीस वर्ष माथिका महिलाले पाठेघरको मुखको क्यान्सरको अग्रिम पहिचानको लागि हरेक तीन वर्षमा प्याप स्मीयर भन्ने जाँच गराउनुपर्छ।
त्यस्तै ठूलो आन्द्राको क्यान्सरको हकमा पनि साठी वर्ष नाघेपछि हरेक दश वर्षमा कोलोनोस्कोपी भन्ने दुरवीनबाट गरिने आन्द्राको जाँच गर्नुपर्छ।
अठार वर्ष नाघेका मानिसले हरेक दुई वर्षमा आफ्नो रक्तचापको मापन गर्नु उचित मानिन्छ ।
माथि उल्लेखित बाहेकका परिस्थितिमा स्वास्थ्य कुशल रहेको अवस्थामा होल बडी चेकअप गर्ने नाममा कुनै पनि अन्य रगतका जाँच, पिसाबका जाँच, इसिजि, इको, टिएम्टी, अल्ट्रासाउन्ड , फिजिसियन कन्सल्टेसन आदिलाई आवश्यक मानिँदैन।
हेल्थ इकोनोमिक्सको सिद्धान्तबाट हेर्ने हो भने त यो अझ अनावश्यक नै मानिन्छ। किनकि, थोरै रोग पत्ता लगाउनका हेतु धेरैजनामा व्यापक रूपले यस्ता जाँच गर्नाले सामाजिक स्तरमा कुनै विषेश स्वास्थ्य उपादेयता पनि हुँदैन तथा अनावश्यक राष्ट्रिय स्वास्थ्य खर्च पनि बढ्न जान्छ।
तब कुरा आउँछ यदि आवश्यक नै नभएको अवस्थामा यस्ता होल बडी चेकअपको माग किन यसरी बढिरहेको छ त? हुन त पाश्चात्य व्यापारी शैलीमा निर्मित नेपाली या भारतीय कर्पोरेट अस्पतालले अमेरिकी मोडेलको अनुकरण गर्ने क्रममा भित्रिएको सभ्यता नै हो यो।
के यो साँच्चै नै कर्पोरेट अस्पतालहरुको व्यापारीकरणको नतिजा हो त?
तपार्इँमा आफ्नो स्वास्थ्यप्रतिको भरोसा कम भएर पो हो कि त? तपाईँलाई आफ्नो स्वास्थ्यप्रति बढी सजकता रहने भएकोले यसलाई राम्रो रुपमा ग्रहण गर्ने पो हो कि? तर यति बात सुने पछि तपाईँलाई बीस पच्चिस हजार हालेर एग्जेक्यूटिभ होल बडी चेक अप गराउने इच्छा अझै बाँकी छ?