मलाई याद छ , एक दिन सानोमा जब घरको कामको बाँडफाँड भएको थियो, आमाले दिदीलाई घरको काम र मलाई बाहिरको जिम्मा दिनुभएको थियो।
‘ए जा! बाबु , नुन सकिएको पो रहेछ!’
राति अँध्यारै भए पनि पसल जाने म।
राति खानापछि आमालाई भाँडा माझ्न मद्दत गर्ने भने दिदी।
मेरो आमाले राति मलाई पसल पठाउन संकोच गर्नुहुन्नथ्यो। तर, दिदीलाई पठाउनुहुन्नथ्यो। न त मेरो दिदीमा त्यो हिम्मत नै हुन्थ्यो। हाम्रो समाजमा सुरक्षाको प्रत्याभूतिको स्तर त्यो थियो।
आज भन्दा बीस वर्ष अघिको परिस्थिति। जुन आज पनि यथावत छ। निर्मलाको डर हरेक आमा बाबुको मनमा हाम्रो समाजमा पहिलेदेखि नै थियो। आज पनि विद्यमान छ। मन अझ आक्रान्त छ।
दिदी ढिलोसम्म सुत्ने, बिहान सबेरै उठेर दुध लिन जाने म।
तर, दिउँसो घरमा पाहुनालाई चिया टक्र्याउने दिदी।
त्यो कामको दुरगामी असर राम्रो पर्यो कि परेन म अझै निक्र्योल गर्न सक्दिनँ। तर, सत्य यही हो कि घरको भान्साको काम गर्न मलाई अझै पनि अल्छी लाग्छ। मेरो होइन जस्तो लाग्छ।
बसमा यात्रा गर्दा आफू बसिरहेको अवस्थामा छेउमा बुढा बुढी आए सीट छोड्ने बानी छ मेरो। नारी उभिएमा नि? म चाँहि छोड्दिनँ। समानताको नारा लगाएपछि उभिनेसम्म हिम्मत चैं हुनैपर्छ।
धर्मशास्त्रले पुरूष बलियो नारी अबला भन्छ। हाम्रा नारीहरू त्यो स्वीकर्न तयार हुँदैनन्। हामी पुरूषभन्दा के कम भन्छन्। धेरै पाटोमा कम छैनन् पनि।
तर कहिलेकाँही समाजले यथार्थ डकार्छ।
आज भर्खर बिबिसी मा नुर जहाँको जीवनी पढेको थिएँ। उनी हात्तीमाथि चढेर मान्छेको मासु खान पल्केको बाघको शिकार गर्थिन्। मुगल साम्राज्यको महारानी।
नुर जहाँलाई नारीवादको प्रतीक नै मान्न सहिन्छ। तर, उनको यो कथामा अचम्म मान्नुपर्ने दुई कुरा छन्।
एक, हाम्रो इतिहासमा यसरी हात्ती सवार बाघको शिकार गर्ने नारी कति जन्मिए? बिरलै। मैले थाहा पाएको त पहिलो हो।
दोस्रो, नुर जहाँ मुसलमान समुदायमा हुर्के बढेकी। त्यो पनि चार शताब्दीअघि। गाडी चलाउने छुट भर्खर प्राप्त गर्दैछन्। आजसम्म पनि आफ्नो स्वरुप लुकाएर हिँड्छन्। अर्धनग्न बस्त्रमा र्याम्पमा क्याटवाक गर्ने जमानामा।
तर, बाघको शिकार गर्ने क्षमता भएकी नारी किन निर्मलाको रुपमा मृगको बच्चा जस्तो हुँडारका शिकार भैरहेका छन्?
एउटा एनिमेटेड चलचित्रको कुरा गर्छु। त्यो कथामा आधारित नाटक न्यूयोर्कको ब्रडवेमा आज पनि प्रदर्शन हुन्छ।
द लायन किङ्।
कथा सामान्य छ। मुफासा भन्ने सिंह जंगलको राजा हुन्छ। जंगलका सारा प्राणीहरु उसको राजमा खुसी छन्। स्कार भन्ने अर्को फटाहा सिंह हुन्छ जसले मुफासालाई एउटा षड्यन्त्र रचेर मारिदिन्छ। दोष मुफासाकै सानो छोरा सिम्बालाई लगाइदिन्छ। सानो सिम्बा, जो सत्ताको एक्लो दाबेदार हुन्छ, डरले जंगल छोडेर भाग्छ। नतिजा स्कार राजा बन्छ। उसको राजमा हूँडारहरु मृग र खरायोका बच्चाको सिकार गर्छन् जुन मुफासाको राजमा उनीहरु पाउँदैनथे।
कथामा यसपछि के हुन्छ भनिदियो भने यो चलचित्रको रहस्योद्घाटन हुन्छ। म भन्दिनँ।
नभन्नुको अर्को कारण के पनि हो भने हाम्रो समाज त्यो कथाको बिचमै छ। स्कारको राजमा जंगल आक्रान्त छ। मुफासाको कालमा जस्तो न्याय व्यवस्था कायम छैन।
निर्मलाहरू हुँडारको शिकार भइरहेका छन्।
त्यो मृगको बच्चा पनि तपाईँको।
त्यो खरायो को बच्चा पनि तपाईँको।
हामी त्यै जंगलका बासिन्दा हौं।
हुँडारहरू जता ततै छन्।
नेपाल होस्।
भारत होस्।
अमेरिका होस्।
स्कार को हो ?
मुफासा को थिए ?