२०७४ मंसिर २९ गते जेष्ठा नक्षत्रमा अस्त भएको शुक्र गएको माघ १८ गते पञ्चम मण्डलको दक्षिण मार्गमा पर्ने मृग वीथी पर्ने नक्षत्र धनिष्ठामा उदय भएको थियो।
८ महिना १३ दिनको अन्तरालमा २०७५ असोज ३१ गते फेरि मध्य मार्गको पनि मध्यमा पर्ने गार्इ वीथी एवं तृतिय मंडलमा गणिने चित्रा नक्षत्रमा अस्त हुँदैछ। त्यसको १४ दिनपछि कात्तिक १४ गते चित्रा नक्षत्रमा नै शुक्र उदय भएको सूर्य सिद्धान्तमा आधारित हाम्रो पञ्चाङ्ग(पात्रो)हरूमा देखिन्छ।
दृक(प्रत्यक्ष) पञ्चाङ्ग अनुसार कात्तिक ७ गते बिहान २.१९ बजे शुक्र स्वाती नक्षत्रमा अस्त भएर ५ दिनपछि कात्तिक १३ गते स्वाती नक्षत्रमै उदय भएको हुने देखिन्छ। विद्वानहरूका अनुसार दुवै सिद्धान्त प्रभावकारी मानिन्छन्।
दक्षिण मार्गको वीथीहरूमा शुक्रको उदयास्त (एक पल्ट उदय भएपछि फेरि अस्त हुने दिन सम्मको अवधि) हुँदा रोग, शोक, आर्थिक अपराध, नक्कली मुद्रा, आर्थिक चतुर्याइँ, विस्फोट, फटाहाको प्रसंग धेरै आउँछ भनेर संहिताहरूमा उल्लेख छ।
साथै कामुकता (बलात्कार) सम्बन्धी अपराध पनि धेरै हुन्छ भनिएको छ । कात्तिक ७ गतेदेखि दक्षिण वीथी मार्ग सम्बन्धित नकारात्मक प्रभाव शान्त हुँदै जानेछ।
हाम्रो देशमा २००७ सालदेखि २०७५ साल भित्र घटेका धेरै जसो महत्वपूर्ण ठूला ठूला राजनीतिक परिवर्तनका घटनाको समयमा शुक्रको उदय पञ्चम मण्डलकै नक्षत्रमा भएको देखिन्छ।
शुक्रको पञ्चम मण्डलमा उदयास्तको फलमा हाम्रो देश नेपाललार्इ पनि कष्ट हुन्छ भनेर भनिएको छ।
जब कुनै ग्रह आफ्नो कक्षामा भ्रमण गर्दै सूर्यको अति निकट पुग्छ तब सूर्यको प्रकाशले त्यस ग्रहको अस्तित्व छोपिन्छ। सूर्यसँग युतिका कारण जब कुनै ग्रह पृथ्वीबाट नदेखिने हुन्छ तब त्यो ग्रहलार्इ अस्त भनिन्छ। यसको विपरीत जब त्यो ग्रह पुनः देखिन थाल्छ तब त्यो ग्रहलार्इ उदय भएको भनिन्छ।
खगोल एवं गणित ज्योतिष अनुसार सूर्य र शुक्रको भोगांशात्मक टाढापन बक्री अवस्थामा ८ अंश र मार्गी अवस्थामा १० अंश सम्मको अन्तर हुँदा अस्त मानिन्छ।
बुध उदयको विषयमा साउन २७ गते सेतोपाटीमा प्रकाशितलेखमा संक्षिप्तमा हाम्रो समाजले बुझ्नुपर्ने एवं सजग रहनुपर्ने समयको बारेमा केहि महत्वपूर्ण जानकारी गराएको थिएँ।
आज म पाठकहरूलार्इ बृहत् संहिताको नवौं शुक्रचाराध्यायमा भनिएको ग्रहले भ्रमण गर्ने मार्ग, वीथी, मण्डल र तिनको प्रभावको विषयमा संक्षिप्त जानकारी गराउने छु।
संहितामा भनिए अनुसार ग्रहहरूले भ्रमण गर्ने मार्ग कस्तो हुन्छ भनेर विचार गर्दा २७ नक्षत्रलार्इ तिन भागमा विभाजित गरेर क्रमशः उत्तर, मध्य र दक्षिण गरी तिन प्रकारको प्रमुख मार्ग एवं ती मार्गहरूबाट छुट्टिने नौ प्रकारका वीथी (उपमार्ग) हुन्छन्। साथमा छ प्रकारको नक्षत्र मण्डल(चक्र)हरूको पनि विशेष विचार गरिन्छ।
सर्व प्रथम वीथिहरूलार्इ बुझौं ।
गर्ग, देवल, काश्यप आदि ऋषीको वीथी विभाग पराशर र वराह भन्दा भिन्न हुँदा हुँदै पनि व्यावहारिक र तार्किक भएकाले अहिलेको समयका आदरणीय जानकार विद्वानहरूले स्वीकार गर्नुभएको गर्गादिको मतबाट नै वीथीहरूको विचार गरिन्छ।
अश्विनी नक्षत्रदेखि पहिलो तिन नक्षत्र नाग विथी त्यसपछिको ३ नक्षत्र गज (हात्ती), त्यसपछि क्रमशः ३-३ नक्षत्रको ऐरावत, वृष (शाँढे), गो (गार्इ), जरद्गव (बूढो गोरू), मृग, अज (बाख्रा), दहन (परेवा) गरी २७ नक्षत्रका नौ विथीहरू हुन्छन्।
नौ वीथीहरुमध्ये पहिलो तीनलाई उत्तरमार्ग, मध्यका तीन मध्यमार्ग र अन्तिम तीन दक्षिण मार्गको नामबाट पनि जानिन्छ।
शास्त्रको निर्देश छः
ग्रहको उदय, यात्रा, चन्द्र र सूर्य ग्रहणको समयमा लोकमा घट्न सक्ने राम्रो नराम्रो घटनाको बारेमा जान्न ग्रहहरूले भ्रमण गर्ने वीथीमार्गको विचार गर्नुपर्छ।
एउटा नक्षत्रमा धेरै ग्रह हुनाले जुन फल बताइएको हुन्छ, त्यो एउटा वीथीमा पनि घटित हुनसक्छ । यसैगरी जुन योगहरुमा राशि वा नक्षत्रको उल्लेख छैन, त्यहाँ पनि वीथीका अनुसार यी फल हुन्छन् भनिएको छ।
पुराणहरूमा यी वीथीहरूको आधारमा पितृयान (पितृहरूको गमनमार्ग) को स्थिति पनि निर्णित गरिएको छ।
संभवतः संहिता सम्बन्धी फल शुक्रको कारणले नै हुने भएर होकि संहितामा विथी-मार्गहरूको उल्लेख शुक्रको प्रसंगमा गरिएको छ।
जब शुक्र उत्तर वीथीमा गोचर गर्दछ अर्थात् नाग, गज र ऐरावत वीथी सूर्यको सम्पर्कमा आउनाले अस्त हुनु तथा सूर्य मुक्त भएर शुक्रको उदय भयो भने सुभिक्ष तथा लोक कल्याणको सूचना दिन्छ।
मध्य विथी-मार्ग (वृष,गो, जरद्गव) शुक्र उदय अथवा अस्त भयो भने मध्यम श्रेणीको सुभिक्ष तथा कल्याण अर्थात् सन्तोष जनक स्थिति रहन्छ।
तर दक्षिणमा पर्ने (मृग,अज,दहन) वीथी हरूमा शुक्रको उदयास्त भयो भने अनिष्ट फल कारक हुन्छ।
शुक्रका छ मण्डलहरू
बृहत्संहिताको शुक्रचारमा जनाइएको शुक्रको छ मण्डललार्इ बुझौं । भरणी नक्षत्र देखि सुरूका ४ नक्षत्रको पहिलो, आर्द्रादेखि ४ नक्षत्र दोस्रो, मघादेखी ५ नक्षत्र तेस्रो मण्डल त्यस पछि स्वातीदेखि ३ नक्षत्रको चौथो, जेष्ठादेखि ५ नक्षत्र पाँचौं र धनिष्ठादेखि ६ नक्षत्र छैठौं मण्डल भनेर स्पष्ट पारिएको छ।
पञ्चम मण्डल - ज्येष्ठा, मूल, पू.षा., उ.षा. र श्रवण नक्षत्रमा गोचर गर्दा शुक्रको उदय अथवा अस्त भयो भने दुर्भिक्ष (अकाल), चोर र रोगको भय हुन्छ तथा काश्मीर, अस्मक, मत्स्य ( नेपाल ) चारुदेवी नदीको तट र अवन्ती देशवासीहरुलाई कष्ट हुने हुन्छ ।। बृ.सं,९,१८।।
विगतमा यो स्थिति २०७१ मंसिर ८ गते परेको थियो जब शुक्र ज्येष्ठामा उदय भएको थियो । त्यो समयमा शुक्रलाई शनिले आक्रान्त पनि पारेको थियो । त्यहि उदयास्त भित्रको समयमा नेपालले २०७२ वैशाख १२ गते ठूलो भूकम्पिय प्रकोपको सामना गर्नु परेको थियो। २०७२ को असार २० गते फेरी दोस्रो मण्डलको नक्षत्रमा शुक्र अस्त भएको थियो । पुराना पात्रोहरू पल्टार्इ हेर्दा
त्यो भन्दा अघि २०६२ को माघ ३ गते र ६३ को मंसिर २७ गते दुवै वर्ष शुक्र यहि मण्डलमा उदय भएको थियो। त्यो बेला संयुक्त जन आन्दोलनको प्रभावले राजतन्त्र समाप्त भर्इ नेपालमा ठूलो परिवर्तनको आरम्भ भएको थियो। ११ वर्षपछि यो पटक पञ्चम् मण्डलमै शुक्र उदयास्त भएको समयमा २०६३ सालमा भएको परिवर्तनलार्इ व्यवाहारिक रूपमा निरन्तरता प्राप्त भएको छ।
२०४७ को मंसिर र २००७ सालको पुषमा पनि पञ्चम मण्डलकै नक्षत्रमा शुक्र उदय भएको थियो। २००७ र २०४७ सालमा पनि हाम्रो देश नेपालमा ठूलो राजनीतिक परिवर्तन भएको थियो। राज दरबार हत्याकाण्ड भएको वर्ष २०५८ मा पनि शुक्र अस्त यहि मण्डलमा भएको थियो। २०५२ देखि २०५८ सम्म चलेको रोहिणी भेदन चक्रमा २ पटक शुक्रद्वारा रोहिणी शकटको भेदन लगायत अरूपनि धेरै प्रकारको अशुभ प्रभाव जुधेको कारण त्यो बेला विश्वभरी नै भयावह घटना घटेका थिए। दृक गणना अनुसार २०७७ फागुन २ गते पञ्चम् मण्डलकै श्रवण नक्षत्रमा अस्त हुनेछ।
अबको ३ वर्ष ३ महिनापछि फेरि २०७८ पुषमा पनि दक्षिणमार्गको मृग वीथी तथा पञ्चम मण्डलकै नक्षत्रमा शुक्र बक्री अवस्थामा अस्त तथा उदय भएको देखिन्छ। २०७८,७९ सालमा पनि हाम्रो देशमा कुने प्रकारको केहि महत्वपूर्ण राजनीतिक परिवर्तन हुन सक्ने अनुमान गर्न सकिन्छ।
अब आउँदो नजिकको समयमा मध्यमार्गको गो-वीथीमा पर्ने नक्षत्र चित्रामा शुक्र अस्त एवं उदय हुँदै छ।
शुक्र यो मध्य मार्गको वीथीमा उदय वा अस्त छ भने मध्यम अनिष्ट कारक हो तर नयाँ व्यापारिक समीकरण उभरिन्छ ।
गोवीथीमा पशुधनको हानी र मांसादिजन्य रोग हुन्छ भनिएको छ। यो दशैं तिहारमा जनमानसले मासुजन्य पदार्थको उपभोगमा एकदमै सजगता अपनाउनु पर्ने छ।
मघा, पू.फा., उ.फा., हस्त, चित्रा नक्षत्रमा विद्यमान शुक्र उदय भयो भने फसलहरूको नाश गर्दछ। भोक,अति महंगी तथा चोर, तस्करहरूबाट पीडा हुन्छ। निम्न वर्गको उन्नति हुन्छ र वर्णसंकरता (अन्तर्जातीय विवाह सम्बन्ध) धेरै बढ्छ।
यो प्रभाव नौ महिना २०७५ कात्तिकदेखि २०७६ आषाढसम्म रहेको हुनाले सम्बन्धित विषयमा सजग रहनु सबैको लागि शुभ रहन्छ।