दसैंको चटारोबीचमा रत्नपार्क–बालाजु रुटको माइक्रो बसमा खचाखच मान्छेहरू आ–आफ्नो गन्तव्य तय गर्दैथिए। त्यही भीडको बीचबाट चेपिँदै र पेलिँदै बल्ल–तल्ल सकुशल शरीरसहित माइक्रो चढेकी मैले आफूलाई थुप्रै अन्जान अनुहारहरूका माझमा पाएँ। त्यही खचाखचमा अलिपर मेरो बालसखा अन्जना अमिलो अनुहार लगाई सिटमा बसिरहेकी देखेँ।
दसैंको समयको मध्य दिउँसो यो रुटको सार्वजनिक यातायातमा यतिको भीड हुनु कुनै नौलो कुरो भएन। यतिको खचाखचमा पनि सिट पाउन सफल अन्जनालाई भाग्यमानी मानी आफू पनि यसो मिलेर बस्न पाए अलि सहजसँग गन्तव्यसम्म पुग्ने आशासहित उनलाई ‘अलि पर सर न भन्दै’ त्यही सिटको छेउमा टुसुक्क बस्न खोजेँ।
गाह्रो मान्दै ऊ अलि पर त सरी। तर, भीडभाडबीचको मान्छेको खलबल, खलासीको गनगन र सार्वजनिक यातायातको उकुसमुकुसका बीच हामीबीच मन्द, देखावटी औपचारिक हाँसोबाहेक कुनै कुराकानी हुन सकेको थिएन। नयाँबजार बस्ने उनी कुनै बोलचालबिना नै एकाएक लैनचौरमा उत्रिन्।
म छक्क परेँ। किन उनी म सँग बोल्दा पनि बोलिनन्, किन आफ्नो घर नआइपुग्दै गाडीबाट ओर्लिइन्? मेरो मनमा एकाएक यस्तै जिज्ञासाहरूको खहरे उर्लेर आउन थाल्यो। म बेचैन भएँ। सोचेँ, म पनि उनीसँगै ओर्लेर यी मेरा जिज्ञासा खोजौं।
फेरि सोचेँ, ठूलो प्रयासपछि बल्ल–तल्ल चढेको बस। त्यसमाथि सिट पनि पाएको छु। आफूलाई घर पुग्न हतार छ। यस्तै दुविधाबीच विस्तारै बस हुइँकिएपछि मेरो मनमा उठेका आधीहरु पनि तीव्र गतिमा बढ्न थाले। ऊ म सँग किन बोल्दै नबोली कागती निचोरिएको जस्तो अनुहार लगाई आफ्नो गन्तव्य अगाडि नै बसबाट ओर्ली होला?
कतै ऊ म सँग रिसाएकी हो कि? हुन त मैले उसको केही बिगार गरेको त थिइनँ। म उसलाई आफ्नो असल साथी नै मान्छु। तर, ऊ भने किन यस्तो व्यवहार देखाउँदै छिन्? बसभित्रको बाह्य उकुसमुकुस सँगसँगै मेरो अन्तर मनको उकुसमुकुस झन् तीव्र गतिमा बढ्दै थियो। बस चाहिँ घ्याच्च घुच्च गर्दै अगाडि घिस्रँदै थियो।
यस्तै बीचमा मेरो पाखुरामा कसैले अश्वाभाविक तरिकाले स्पर्श गर्यो। सम्झेँ, भीडभाडमा यस्तो भइहाल्छ। कसैले अन्जानमा छोयो होला! लगत्तै कसैले विस्तारै चिमोट्यो। म अचम्ममा परेँ। पूरा बसभरि मैले चिनेको अन्जना त अघि नै ओर्ली। अरु कोही चिनजानको मान्छे छैन। अनि मलाई चिमोट्ने को होला?
फेरि सोचेँ, भीडभाडमा कोही चिनजानको मान्छे पो रहेछ! आप्mनो मुन्टो चारैतिर घुमाएँ। सबै अपरिचित अनुहार मात्रै छन्। अब भने म अलि सचेत भएँ। ध्यानपूर्वक कसले आफूलाई दुव्र्यवहार गर्दै छ भनी पत्ता लगाउने निधो गरेँ। फेरि, त्यसैगरी मेरो बायाँतर्फको पाखुरामा पुन चिमोट्ने प्रयास भयो। म त्यतैतर्फ फर्केँ। अग्लो, अधबंैसे जुँगामुठे अनुहारधारी पहेंला दात देखाउँदै हाँसिरहेको छ।
म अलमलमा परेँ। पटक–पटक मलाई कसैले किन चिमोटिरहेको छ? अन्जान मान्छे म उता फर्किंदा किन हाँस्छ? अनि सम्झेँ, अन्जना किन कागती निचोरेको अनुहार लगाएर बसिरहेकी थिई? किन ऊ म सँग बोल्दा पनि नबोली गाडीबाट ओर्ली? अनि म निष्कर्षमा पुगेँ, म सँगै बस्ने त्यो अधबैंसेका कारण अन्जनाले त्यो अस्वाभाविक व्यवहार देखाएको थिई!
यति हुँदाहुँदै पनि म आफूलाई सामान्य बनाउन खोज्दै थिएँ। ध्यान अन्यत्र केन्द्रित गर्न वरिपरि हेरेँ। सबै जना खचाखच बसमा आफूलाई सम्हाल्दै थिएँ। सबै असिन–पसिन थिए, जसरी मलाई पनि चिटचिटाहत हुँदैथियो। खलासी कराउँदै थियो। ‘भित्र छिर्नोस्, पर सर्नोस्, मिलेर बस्नोस्।’
यस्तैमा पुनः बायाँतर्फको पाखुरामा कसैले चिमोट्यो। म पुन त्यतातर्फ फर्केँ। देखेँ, उही व्यक्ति मलाई हेर्दै ङिच्च हाँस्दै थियो। मैले सारा संयमता गुमाएँ। शरीरका रौंहरू ठाडो भए। मुटुको धड्कन एकाएक तीव्र गतिमा बढ्न थाल्यो।
मैले आफ्नो नियन्त्रण गुमाएँ। त्यो हट्टाकट्टा देखिने व्यक्तिलाई कसेर थप्पड हान्न पुगेँछु। यसपछि त के भो के भो भनेर गाडीमा हल्ला–खल्ला मच्चियो। त्यो मन्छे केही नबोली जुरुक्क उठ्यो र खलासीलाई बस रोक्न भन्न थाल्यो। म भने थप आतंकित भएँ। रिसले चुर मलाई अलि डर पनि लाग्न थाल्यो। अनि मैले ती सबै घटना जानकारी गराएँ र म भन्दा अगाडि त्यही सिटमा बस्ने मेरो साथी अनायसै झरेको कुरा पनि सुनाएँ। बस रोकिइसकेको थियो। बसमा सवार अन्य यात्रीहरूले पनि त्यो व्यक्तिलाई गाली गर्न थाले। दुई–चार थप्पड पनि लगाए।
घटना अनियन्त्रित हुन थालेपछि म कराएँ। सबैलाई अनुरोध गरेँ, उसलाई नियन्त्रणमा लिई पुलिस चौकीमा बुझाइदिउँ। यसमा अधिकांशको सहमति रह्यो। केही दिदीबहिनी तथा युवाहरू भने उसलाई थप पिट्न अग्रसर थिए। म लगायत अन्य सहयात्रीको अनुरोधपछि त्यो पीडकलाई बालाजु प्रहरी चौकीमा बुझाउने सहमति भयो।
उसलाई चौकीमा बुझाएर हाम्रो बस गन्तव्यतर्फ अगाडि बढ्यो। तर, अझै मन अगाडि बढ्न सकिरहेको थिएन। मनमा अझै उही घटना बारम्बार दोहोरिरहेको थियो। यसका अतिरिक्त मेरो मनमा थप प्रश्न उठ्न थाले। कस्तो मनोदशाले ग्रसित हुन्छन् मान्छेहरू? कस्तो संस्कार र संकृतिमा हुर्कन्छन् र दुव्र्यवहारको हद नाघ्छन्?
फेरि मनभित्र अर्को प्रकारको सोच विचारको भेल उर्लिन थाल्यो। लाग्न थाल्यो, अपराधीको कुनै जात, धर्म, संस्कार तथा सदाचार हुँदैन। अपराधी कसैको बावु, आमा, दाजु, भाइ, दिदी, बहिनी, छोरा वा छोरी हुँदैन। अपराधी केवल अपराधी हुन्छ। हुनसक्छ कोही अपराधी हुनुका पछाडि उसको परिवार, समाज वा राज्यको केही, कतै र कुनै प्रकारको योगदान तथा जिम्मेवारी हुन सक्छ। अर्थात् यस प्रकारका दुराचारीहरूलाई सत्मार्गमा ल्याउनमा परिवार, समाज तथा राज्यको भूमिका आवश्यक हुन्छ।
एक सभ्य समाजमा के बालक, के नारी, के बृद्ध सबैले सम्मानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण सुनिश्चित हुनु पर्दछ। देशमा यसभन्दा पनि पर बलात्कार र हत्या जस्ता गम्भीर प्रकारका अमानवीय घटनाहरुमा बढोत्तरी हुँदै जानुका पछाडि व्यक्ति, समाज र राज्यको तर्फबाट आ–आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह नगरिनु नै हो। यदि मैले मेरो साथीलेझैं त्यो घटनामा चुपचाप भाग्न खोजेको भए म आफू पीडित त हुने नै थिएँ, पीडक पनि थप प्रोत्साहित हुँदै जाने थियो।
त्यो व्यक्ति कुनै नारीमाथि बलात्कार गर्न उत्प्रेरित पनि हुन सक्थ्यो। आज अपराधविरुद्धको जुन आवाज उठाएँ, अपराधीलाई कानूनको दायरामा ल्याउने प्रयास गरियो। आशा छ, अब उप्रान्त त्यस व्यक्तिले यस्तो कुकृत्य कहिल्यै दोहोर्याउने छैन। यत्तिकैमा बसको खलासी करायो। म झल्यास्स भएँ। बसबाट ओर्ली घरतर्फ लागेँ।