न्यु योर्क
कतिपय व्यक्ति मृत्यु पश्चात हाम्रो यादबाट धुमिल हुन्छन्। तर, उनीहरूले समाजलाई पुर्याएको योगदानका कारण कहिलै धुमिल हुँदैनन्। बरू उनीहरुको छाप झन् प्रगाढ भएको हुन्छ।
यस्तै केही स्रष्टाको सम्झनामा डिसेम्बर ८ तारिखमा संयुक्त राज्य अमेरिकामा नेपाली अमेरिकन कलाकार संघले ‘स्रस्टा सम्झना कार्यक्रम’ आयोजना गरेको छ ।
मेरो ध्यान सो कार्यक्रमको प्रमोसनल ब्यानरमा पुग्यो। नेपाली संगीत र गायनका २० दिवंगत मुर्धन्य व्यक्तित्वको तस्बिर देखेर आँखा रसाए। नारायण गोपाल, नातिकाजी, धर्मराज थापा, अरूण थापालगायतको तस्बिर हेर्दै थिएँ, झलकमान गन्धर्वको तस्बिरमा गएर आँखा अडिए।
२०६० सालको प्रज्ञा प्रतिष्ठानको त्यो दृस्य आँखा अगाडि दौडन थाल्यो। प्रतिष्ठानमा राखिएको झलकमान गन्दर्भको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनेक्रम जारी थियो।
अधिकारकर्मी उनको अन्त्येस्टीका लागि पैसाको जोहो गर्न हस्याङ् फस्याङ गर्दै थिए। स्पस्टभन्दा चन्दा उठाउने अवस्था आएको थियो।
म मर्महात थिएँ। यो दिन मेरा लागि पीडादायक दिन थियो।
नेपाली लोक संगीतका धरोहर झलकमानको अन्त्येस्टीका लागि चन्दा उठाउनुपर्ने अवस्थाले मेरो पत्रकार भित्रको मानवताले मै माथि प्रश्न गरिरहेको थियो।
के यही हो झलकमानको योगदानको कदर? त्यो पुरस्कार र तक्माको के अर्थ? आखिर चितामा जल्न पनि पैसा नै चाहिँदो रहेछ।
अछाममा भएको माओवादी आक्रमणको समयमा म त्यहीँ थिएँ। यत्रतत्र फैलिएका लाशहरू देखेपछि मैले ‘आमाले सोध्लिन् नि खोइ छोरा भन्लिन् र नै खुल्यो भन्दिए …’ भन्ने उनको गीत रूदै गाएको थिएँ।
म अनयासै यो गीत गाउन पुगेछु। त्यो थियो, झलकमानको यो गीतको शक्ति।
प्रज्ञा प्रतिस्ठानको यो दृश्य देखेपछि मैले आफूलाई झलकमानको श्रोता/ प्रसंसक हुँ भन्ने नैतिक धरातल गुमाएँ झैँ लाग्यो।
समवेदना शून्य एक पत्रकारका रूपमा म क्यामेरा र माइक लिएर खडा थिएँ। मानौं झलकमान मेरो लागि समाचार मात्र थिए। मलाई लाग्यो झलकमानको पार्थिव शरीरले समाजको झलक देखाईरहेको थियो।
साँझ घर गएँ। टिभी पनि हेर्न मन लागेन। निद आएन। झलकमान मेरा लागि समाचार थिएनन्। युद्वभूमिबाट मर्नुअघि एउटा लाहुरेले आफन्तजनलाई कस्तो पत्र लेख्ला, त्यसको सजिव चित्रण गरेर, बेजोड ढंगले लोकसामू प्रस्तुत गरिदिए झलकमानले।
उनी एउटा सर्जक थिए। धुन सुर, र लोक शब्दका एक जादुगर थिए। मैले आफैंलाई सोधेँ- आखिर यो गीत किन यति लोक प्रिय भयो?
कुनै पनि गीत महान तव हुन्छ, जब त्यसका धुन सुर शब्द ओजपूर्ण हुन्छन्। यो गीतले त्यति खेरको रहनसहन्, ब्यवहार, मूल्य र मान्यता, संस्कारको यथार्थ तस्बिर कोर्यो।
गीतले नेपाली छोराको जिजीबिषाको बाध्यता र मानवीय सम्बन्धलाई परिभाषित गरिदियो र लाखौंको मन छुन सफल भयो।
झलकमानलगायत २० महान स्रस्टाको सम्झनामा अमेरिकाको न्यूयोर्क ज्याक्सन हाइटमा आयोजित कार्यक्रममा सपना श्री बिमल डाँगी, जग्दिश समाल लगायत दिग्गज कलाकारहरुले आफ्नो प्रस्तुतीद्वारा स्वदेशको सुगन्ध मात्र दिएनन् स्रस्टालाई सही अर्थमा सम्झ्ना गरे सम्मान दिए।
यसले १५ वर्ष पुरानो म जस्ता थुप्रैको मनमा केही गर्न नसकेको ‘हिनताको बोझ’ कम गरेको लागेको छ। आयोजकहरूको यो कार्य प्रसंशनीय छ।
मेरो मन पनि केही हल्का भएको छ। झलकमानको त्यस गीतले गरेको तत्कालिन समाजको बयान र वर्तमान नेपालको पीडामा मैले कुनै तात्विक भिन्नता भने पाएको छैन।
लाहुरेको ठाउँमा ‘प्रवासी’ शब्द चलनमा आएको छ। नेपाली छोरा छोरी खाडीलगायत युरोप, अमेरिकामा रोजी रोटी र परिवारप्रतिको जिम्मेबारी निभाउन भड्किरहेका छन्।
प्रवासीलाई नेपाल फर्कन आव्हान पनि गरिएको छ, तर रोजगारको ब्यवस्था र साधन श्रोत प्रदान गर्नेबारे कुनै स्पष्टता छैन। विदेशमा बस्ने रहर कसैलाई हुँदैन। तर, जब आफ्नो देशमा नारा बिक्छ श्रम बिक्दैन मानब संशाधन देश छोड्न बाध्य हुन्छ।
झलकमानले यही तथ्यलाई बुझेर होला सबै नेपालीको भावना मुखरित हुने गीत गाउँ गाउँ पुर्याए। झलकमानमा धेरै कथित नेताभन्दा सुजबुझ र दुरदृष्टी भएको प्रतित हुन्छ।
सारंगी बजाएर माग्दै हिड्ने परम्परा लोप हुँदै गएकोमा उनी दुःखी थिएनन्। सारंगी बजाएर माग्न जाँदा दुर्ब्यवहारबाट घाइते जरूर थिए। तर, उनलाई त्यो घाउले घाइते होइन उदार बनायो।
अरू जातले सारंगी बजाउँदा खुसी लाग्ने बताउँथे। संगीतलाई जात विशेषको पेशा मानेर अपमान गर्ने संस्कारप्रति असन्तुष्टी उनले आफ्ना सृजनाद्वारा पोखे।
जातसँग पेशा जोड्ने या पेशासँग जात जोड्ने सोचले उनलाई आन्दोलित नगरेको होइन। तर, उनी निरन्तर संगीत उपासनामा लागिरहे।
दलितको परम्परागत पेशा संरक्षण गर्नुपर्छ भन्ने तर आफ्ना छोराछोरीलाई डाक्टर, इन्जिनियर पढाउनेको दोहोरो मापदण्डलाई उनले नबोली जवाब दिए।
संगीतले मानव र समाजलाई जोड्छ। संगीतको साधनाद्वारा देश, समाज जोड्ने कार्यमा लागिरहे। आर्थिक अभावले बिचलित भएनन्। उनको जिवनको सरलतामा उस्ताद बिस्मिल्ला खानको छबि देखिन्थ्यो। उनको जीवन संगीतले रंगिएको थियो। मानौं जात धर्म र पहिचान नै संगीत थियो।
भारत रत्न उस्ताद बिस्मिल्ला खानलाई कुनै एक इराकी मौलानाले संगीत र गायनमा नलाग्न आग्रह गरे। उस्ताद बिस्मिल्ला खानले केही जवाफ दिएनन्, बरु अल्लाहको सम्मान राग भैरबीमा गाएर मौलानालाई नाजवाफ गरिदिए।
अमेरिका भ्रमणमा उनलाई यही बस्न आग्रह गरेपछि उस्तादले भनेका थिए, मेरो गङ्गा र बनारस यहाँ ल्याउन सक्छौ भने यहाँ बस्छु। उनले संगीत धर्म जातिभन्दा निकै उच्च रहेको सन्देश मात्र दिएनन् सबै भारतीयलाई जोड्ने काम गरे।
उस्ताद बिस्मिल्ला खानझैँ झलकमानले नेपालीलाई जोड्ने प्रयत्न गरे। झलकमान जातभन्दा माथि उठे। उनको आवाज र सुर जाति विशेषको नभई सबै नेपालीको थियो।
अफसोस हाम्रो समाजमा समयमै त्यो चेतना आएन। आएको छैन। नत्र उनको जीवनको अन्तिम यात्राका लागि चन्दा उठाउनुपर्ने थिएन।
तर, अमेरिकामा नेपाली अमेरिकन् कलाकार संघले आयोजन गरेको स्रस्टा सम्झना कार्यक्रम’ ले जिवित छँदै आफ्ना स्रष्टाहरूको कदर एवम् जीवन र मरण दुबै सुखमय बनाउन उचित ब्यवस्था गर्नुपर्छ भन्ने सन्देश प्रबाह गरेको छ ।