हिन्दी यात्रा साहित्यका जनक राहुल सांकृत्यायनले आफ्नो ‘मानव समाज’ भन्ने किताबमाकार्लमार्क्सले केही अबधि पत्रकारिता गरेको कुरा उल्लेख गरेका छन्।
उक्त पुस्तकमा भनिएको छ- मार्क्स विश्वविद्यालय क्लबको सदस्य थिए। उनी प्रध्यापक बन्न चाहन्थे। उनले प्रध्यापक हुनकालागि आवेदन पनि दिएका थिए।
प्रध्यापकको स्थान नमिलेपछि उनले केही समय पत्रकारिता गरे। कलमद्वारा मार्क्सले रूढिवाद, मिथ्या विश्वाशमाथि प्रहार गर्न थाले।
केही उदारवादीसँग मिलेर उनले एउटा पत्रिका निकाले। मार्क्सको लेखबाट प्रभावित पत्रिकाका सञ्चालकले २४ वर्षकै उमेरका मार्क्सलाई सम्पादक बनाए।
मार्क्स पढ्न चाहन्थे त्यसैले दर्शन शास्त्रतर्फ लागे। उनलाई पत्रकारको रूपमा कमैले चिन्छन्।
गत साता एक जना अत्यन्त विवादास्पद तर, ईतिहासको पानाबाट मेटाउन नसकिने नेताको निधनले केही प्रश्नहरू उब्जाए।
पूर्वप्रधानमन्त्री तुलसी गिरीको निधन भयो। देशमा जिवित पूर्वप्रधामन्त्री मध्ये माधवकुमार नेपालबाहेक कोही पनि गिरीलाई अन्तिम बिदाइ दिन पुगेनन्।
उनको परिवारलाई सान्त्वना दिन पुगेनन्। जानु नजानु आफ्नो इच्छाको कुरा हो। गएको भए साचो अर्थमा लोकतान्त्रिक र मानवीय देखिन्थे नेताहरू। आखिर गिरी हिट्लर त थिएनन् नि।
उनको मृत्युसँग पत्रकारिताको बिभिन्न आयाम देख्न पाइयो। तीन दिग्गज पत्रकार्ले टुइट गर्नुभो। विजयकुमार पाण्डे, किशोर नेपाल र भुषण दाहाल।
पञ्चायत्कालको उत्तरार्धतिर प्रभावकारी शैलीमा टिभिको स्क्रीनमा देखिएका विजय कुमारले बस्तुपरक र यथार्थ टिप्पणी गरे।
भुषण दाहालले गुम्दै गएको मानवीय समवेदना र संस्कारलाई लिएर लेखे। किशोर नेपालले दुर्गानन्द झा परिवारको भावना र पञ्चायत् बिरुद्धको लोकतान्त्रिक आवाजको निर्मम दमन याद दिलाए।
यहाँ के ठीक के बेठिक भनेर चर्चा गरेर हेर्नु गलत हुन्छ। तर, तीनै जनाको ‘अब्जर्वेशन ले’ केही आशा पलाएको छ।
यी दिग्गजबाट म जस्ता थुप्रै नयाँ र सिकारू पत्रकारले केही सिक्ने मौका पाएका छन्।
उहाँहरूको विचारमा ऐक्यमत्तता नदेखिए पनि शार भने एउटै हो भन्ने मलाई लाग्छ। त्यो के भने मरे पछि मान्छे, मान्छे मात्र हुन्छ उसको विचार र पदमा छँदा गरेका राजनीतिक निर्णय र त्यसको परिणामको कसौटीलाई मात्र मापद्न्ड मानिने हो भने, शायद हाम्रो जस्तो बनावट भएको समाज झन बिभाजित हुनेछ।
सिंहदरबारमा तुलसी गिरीको तस्बिर छ, छैन मलाई ज्ञान छैन। तर, सत्य के हो भने उनी यो देशका प्रधानमन्त्री थिए। पूर्ववर्ती सरकारले उनको उपचारमा सहयोग गरेता पनि, सबै नेता श्रद्धाञ्जली दिन पुगेको भए, ‘लिडर’ भन्ने शब्दको मात्र नभई उहाँहरु कै कद् पनि बढ्थ्यो।
यो एपिसोडबाट मैले केही सिक्ने अवसर पाए। किशोर नेपाल पत्रकार साहित्यकार दुबै हुनुहुन्छ। दसकौं लामो अनुभवले खारिनुभा’छ। विजय कुमारले, ‘पत्रकारिताको राजनीति’ बाट टाढा रहेर टिभि रेडियो, छापामा महारथ हासिल गर्नु भएको छ।
उहाँलाई आलोचना र प्रसंशाले खासै फरक पार्दैन। उहाँका शब्दले सिधै कतारमा पसिना बगाइरहेका हाम्रा दाजु भाईको घाऊमा मलम लगाउँछ। भुषण दाहाल बहु प्रतिभाशाली, ओज्पूर्ण दमदार आवाजका धनी फिल्ममेकर पनि हुनुहुन्छ।
अत्यन्त शालीन तर स्पस्टताका साथ् देश र जनताको समस्या राखेर समाधान खोज्न पहल गर्ने क्षमता दाहालमा छ।
दाहालको ‘फायर साइड’ को न्यानोपन जनताले महसुस नगरेको होइन। द्वन्दकालमा गाउँ गाउँमा गएर संवाद गर्ने किशोर नेपाल भित्र पनि ‘नेपाल’ नै छ।
मेरा लागि उहाँ तीनै जना सेलिब्रिटी होइनन्। उहाँहरूको दक्षताबाट हामीले सिक्नुपर्छ।
नेपाली पत्रकारितामा राजनीती त थियो नै, यो कटु सत्य हो। बिडम्बना सेलिब्रिटी बन्ने होड पनि भित्रिएको छ। जुन दु:खद छ।
आज युवा पत्रकार किन बन्न चाहन्छ भन्दा प्रसिद्धीका लागि ‘लाइम लाइट’ मा रहनका लागि।
यो प्रवृत्ति किन खतरनाक छ भन्दा यसले पत्रकारिताको महान उद्धेश्यलाई मार्छ। सत्यबाट टाढा लैजान्छ। ‘फलानाले कुन कलरको शुट, फलानीले कुन दुपट्टा लगाइन् हेडलाईन बन्छ।’
यो पेज थ्रीमा ठीकै होला। जब हेडलाईन बन्छ, देशको एउटा खम्बा खम्बा रहँदैन। पत्रकार, पत्रकार रहदैन सेलिब्रिटी बन्छ।
सेलिब्रिटी बन्नु आफैंमा खराब होइन। तर, त्यो सुविधा पत्रकारलाई हुँदैन। यस्तो पत्रकारिताले ‘फ्यान फलोविङ’ खोज्छ। पैसा कमाउने सर्ट कट खोज्छ, नाम खोज्छ। अनी सुरू हुन्छ तिक्डमबाजी।
समाजमा ध्रुविकरण र देवत्वकरण सुरू हुन्छ। सोँच निर्माणको प्रकृयाको क्षयीकरण हुन्छ। समाज रोबोट बन्छ। मूल्य मान्यता धारासयी हुन्छ। जनता सरकारबाट होइन पत्रकारसँग पनि डराउँछ।
म मार्क्सको समर्थक पनि होइन, र हुने पनि छैन। तर, उनी सेलिब्रिटी पत्रकार भएनन्। जमिनसँग जोडिएर काम गरे। जो जमिनसँग जोडिन्न, जो गरीबसँग जोडिन्न, जो सत्यसँग जोडिन्न, न्यायसँग जोडिन्न, त्यो के पत्रकार? यो पेशा जरूर हो, धन्दा होइन।
जब पत्रकार सेलिब्रिटी बन्न लाग्नेछन्, तब जो पीडित हुन्, तिनीहरूनै पत्रकार बन्ने छन्। र त्यो पत्रकारिताको लागि शुभ होइन। पत्रकार त अरूका लागि बोल्छ, आफ्नो लागि होइन। जो अरूका लागि बोल्छ, त्यसले अरूको अनि आफ्नो पनि सुरक्षा गरिरहेको हुन्छ।
एउटा संवेदनशील सभ्य समाज निर्माणमा योगदान दिएरहेको हुन्छ। पत्रकारितामा ‘सेलिब्रिटी हुन नभई सत्य उजागर गर्न जानुपर्छ’ भन्ने चेतना मलाई यी तिनै जना पत्रकारले दिनुभएकोको हो। यो चेतना दुर दराजसम्म फैलियोस्, यस साधारण पत्रकारको साधारण कामना।