आकाश धुम्मिए पनि पानी परिहालेको थिएन। वातावरण हेर्दै निसास र विरक्तलाग्दो थियो। चौतारीको एक छेउमा मैना भुइँमा नजर गाडेर बसिरहेकी थिइन्। पछिबाट कसैले शिरमा हल्का स्पर्श गर्दै सोध्योः ‘नानी, किन झोक्रयाएकी?’, मैनाले चुपचाप फर्केर पुलुक्क हेरिन्।
‘तिमी को हौ? सधैं यहीं यही मुद्रामा देख्छु। किन कसैसित केही बोल्दिनौ?’ आगन्तुकतिर राम्ररी हेर्दे मैनाले आँखा पुछिन्। हजुरबा उमेरका यी चस्माधारी मानिसको मनमा पनि गहिरो पीडा र अवषाद भरिएको कुरा एक नजर हेर्दा प्रस्ट हुन्थ्यो। मैनालाई प्रश्न सोधिसक्दा उनी आफैं कतै एकान्तमा हराइसकेका थिए र उनका आँखा कतै दुरतिर सोझिइसकेका थिए। न अनुहारमा चमक, न शरीरमा स्फूर्ति। धेरै बेर दुवै निःशब्द रहे।
एक छिनमा मैनालाई सकसक लाग्यो र सोधिन्ः ‘तपाईँ चाहिँ को नि? किन यतिविधि निराश र विरक्त देखिनुहुन्छ?’ बूढा अलि बेर केही बोलेनन्। अनि बिस्तारै गला सफा गर्दै मैनातिर हेर्दै नहेरी बोलेः मलाई मदन भण्डारी भन्थे। नेपाल मेरो देश।
मैना अवाक् भइन्। झन् गौर गरेर बुढाको अनुहार हेरिन्। हो, त मदन भण्डारी भनेर फोटोमा देखेका मानिस उनै थिए। मदन भण्डारीसित भेट हुनुको आश्चर्यभन्दा उनको अनुहारमा देखा परेको पीडा र विरक्तिले उनको मथिंगल खल्बलायो।
आफैंसित कुरा गरेझैं क्षितिजतिर हेरेर मदन बिस्तारै बोलेः ‘मान्छेले यस्तोचाहिँ गर्छु भनेर जीवनभर योजना बनाउँछ, मेहनत गर्छ र रगत–पसिना बगाउँछ। तर उसले त्यो काम गर्न पाउँछ नै भन्ने छैन। जसले जीवनमा चाहेको काम गर्न पाउँछन्, ती भाग्यमानी हुन्। ओहो, म त यस्तै छु, भावनामा बगिहाल्छु, तिमी को भन्नेचाहिं त बताइनौ नि?’
‘म मैना सुनुवार। काभ्रेपलाञ्चोक जिल्ला, खरेलथोक–६। जन्मः २०४५ साल। मृत्युः २०६० साल।’
बुढाको अनुहारको पीडाभावमा दया र सहानुभुतिका धर्साहरु देखा परे। आँखीभौं काँपे र आँखा डब्डबाए।
मैनातिर हेर्दै उनले गलो सफा गरे अनि गहिरो इनारबाट निस्केको जस्तो धोद्रे स्वरमा बोलेः ‘नानी पन्धै वर्षमा मारे तिमीलाई पापीहरूले? त्यस्तो के गरेकी थियौ र?’
‘किन मारे भन्ने त सोच्नै छाडिसकेँ अब। जति सोच्यो उति पीडा हुन्छ। कसरी मारे भन्ने चाहिँ झल्झली सम्झन्छु। फागुनको महिना थियो। अझै जाडो थियो। घरबाट सेनाले निकाल्नासाथ म डर र जाडोले लगलग काँपिरहेकी थिएँ। ब्यारेकमा पुग्दा आधा ज्यान त्यसै डरले गइसकेको थियो। अलि बेरमा सोधपुछका नाममा पछिपट्टि हात समातेर ठूलो डेक्चीको पानीमा टाउको डुबाउँदै निकाल्दै गरे। कस्तो ठिहिर्याउँथ्यो त्यो पानी ओहो। एक भल्को पानी ह्वात्त फोक्सोमा पुगेर सासै गइहाल्ला जस्तो भएको थियो। तैपनि टाउको बाहिर निकाल्दा रुन र ‘मलाई केही थाहा छैन’ भन्न छाडेकी थिइनँ।
मैनाको गला अवरुद्ध भयो। मदनले उनको टाउको सुम्सुम्याए। अनि अर्कोतिर फर्केर आँशु झारे। आकाश झनै धुम्मियो। ग्रहण लाग्दा जसरी दिउँसै रात परेजस्तो हुन्छ, वातावरण त्यस्तै भयो। लाग्थ्यो घुर्मैलो देखिएका वरिपरिका रूखहरू पनि उनीहरुजस्तै शोकाकुल थिए।
एकछिनमा सम्हालिएर मैनाले कुरा जारी राखिन्ः एक छिनमा त्यो काम बन्द गरे। शरीर जाडोले थर्थर काँपेको भए पनि अब त बाँच्छु कि जस्तो लाग्यो। तर एकै छिनमा अर्को कोठामा लगे। अनि चिसो ज्यानमा करेन्ट लगाइदिए। पहिलो चोटिमै म भक्लक्कै ढलेँ। शिरदेखि पैतालासम्म कस्तो छुरा रोपेजस्तो असह्य पीडा भयो भने, बाँच्ने आश मर्यो। तर करेन्ट लगाउन छाडेनन्। मरे–नमरेको विचार गर्दै करेन्ट लगाउँदै गरिरहे। मलाई अब नबाँच्ने पक्कापक्की भयो।
म अचेतजस्तै भएर लडिरहेकी थिएँ। आँखामा कालो पट्टि बाँधिएकै थियो। एकैछिनमा अचानक आन्द्रै फर्किने गरी उल्टी भयो। शुरूमा खाना थियो। त्यसपछि पानी। अनि रगत। एकै छिनपछि मेरो प्राणले ज्यान छाड्यो।’
लामो र बोझिलो मौनतापछि मदन बोलेः ‘कस्ता बर्बर मानिसहरू, कस्तो पीडादायी मृत्यु। त्यसपछि तिमीलाई मार्नेहरूले दण्ड पाए त?’
मैनाले लामो सुस्केरा छाडिन्। यस्तो लाग्थ्यो उनीसित बोल्नलाई शब्दै थिएनन्। बोल्न खोज्दा उनका ओठहरु थर्थराए मात्र। अचानक भक्कानिएर रून थालिन्। शुरुमा दमित रुवाइ थियो तर एकछिनमा उनको कण्ठ अनियन्त्रित भयो र आकाशै चिरिने गरी उनी रोइन्।
त्यो दृश्य हेर्दा यस्तो इच्छा उठ्थ्यो कि मानिसको अस्तित्व यहीँ अन्त भएर ब्रम्हाण्डमा विलीन होस् र कसैले पनि फेरि यस्तो पीडा भोग्न नपरोस्।
चर्को रूवाइले थाकेपछि आफ्नो घुँडामा चिउँडो राखेर सुस्तरी रून्चे स्वरमा उनी बोलिन्ः ‘मलाई त मारिहाले असत्तीहरुले। बाआमालाई समेत ज्युँदै मरेसरह बनाए। साँच्चि मलाई आफूले त्यो दिन पाएको यातना भन्दा बाआमाले जीवनभर पाएको यातनाले दुखी बनाउँछ।
घरमा मलाई समात्ने बेलै बाबाले ‘नाबालक छोरीलाई नलैजानू, त्यसले केही बिगार गरेकी छैन’ भनेका थिए। पक्रन आएका मध्ये एउटाले भनेको थियोः छोरीलाई छुटकारा दिने भए आमा देवी सुनुवारलाई लामीडाँडा ब्यारेकमा पठाउनू।
भोलिपल्ट बाबा, आमा र म पढ्ने भगवती माविका सर–म्याडमहरुसहित २५ जना लामीडाँडा ब्यारेक पुगेका रे।
खास मलाई पक्राउ गरेपछि लामीडाँडा नभएर पाँचखाल (वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र) लगेका थिए। लामीडाँडाबाट बाबा–आमाहरू पाँचखाल पनि आएछन् तर त्यहाँका सेनाले ‘पक्राउ नगरेको’ भनेर ढाँटेर पठाएछन्। मलाई त अघिल्लै दिन मारिसकेका थिए, किन साँचो बोल्थे असत्तीहरू।’
यति भनेर मैना मौन भइन्।
तबसम्म गहिरो सोचमा डुबेका मदन बोलेः ‘नानी त्यस्तो मृत्यु उत्सव हुन्छ कि भन्ने त्रास ममा उहिल्यै थियो। मान्छेले धरातल बिर्सेर आकाशमा छलाङ मार्यो भने एक दिन भुइँमै पछारिनुको विकल्प हुँदैन। पञ्चायतभर हामीले सर्वहाराको अधिनायकवाद भनेर आकाशमा छलाङ लगाइरह्यौं र वर्गरहित समाजको सपना बाँडिरह्यौं। तर हामीले त्यसो गरिरहँदा उता चीनले बाटो फेरिसकेको थियो। हामीले बहुदल ल्याउने बेला आफूलाई साम्यवादी विश्वको केन्द्र भन्ने सोभियत संघको पनि पतन भयो। तिनबाट पाठ सिकेर त्यहाँका त्रासद गल्ती दोहोर्याउनु हुँदैन भनेर मैले लोकतन्त्रको बाटो समातेको हो। त्यस्तो लोकतन्त्र जहाँ राज्यले व्यक्तिको स्वत्व हरण गर्दैन तर ऊप्रति जिम्मेवार हुन्छ।’
मैनाले घोरिएर सुनिरहिन्। मदनले थप अर्थ्याए- ‘मानिस अघि बढ्न पनि अहिले जहाँ छ, त्यहाँ एउटा पाइला दरोसित टेकेर मात्रै अर्को पाइला अघि लम्काउन सक्छ। अगाडिको पाइला दरोसित अडिएपछि बल्ल पछिको पाइला उठाउन सकिन्छ। जनताको बहुदलीय जनवाद हाम्रो राजनीतिक पाइलाको त्यही फड्को थियो। पछाडिको सर्वहारा अधिनायकवादबाट अगाडि सही अर्थको जिम्मेवार लोकतन्त्रतिर जानु थियो।
तर अगाडिको पाइला दरोसित टेक्न नपाउँदै मेरो प्राण उडिहाल्यो। बाँकी साथीहरुले त्यसलाई मजबुत बनाएर पछिको पाइला उठाउलान्, भविष्यको बाटो कोरेर अघि बढ्लान् भनेर म यताबाट व्यग्र भएर हेरेँ, आँखै टट्टाउने गरी हेरिरहेँ। समाज अघि बढ्ला, प्रगति गर्ला भनेर आश गरिरहेँ। साथीहरुले जबजलाई गुरु थापे र मेरा शालिकहरुमा पूजा गर्न थाले तर त्यो पाइला अघि बढेन।
पार्टी कहिले अघि बढ्ला जस्तो गर्थ्यो, फेरि पछि फर्कला जस्तो गर्थ्यो। त्यही अन्योलबीच समाज र बाम राजनीतिलाई अघि बढाउनेभन्दा मेरो विरासत हत्याउने भागदौड चल्यो। मेरो जीवन र मृत्यु दुवै देखाएर साथीहरुले चुनावमा भोट मागे तर समाज रुपान्तरणको मेरो अधुरो सपना पूरा भएन। हाम्रो आफ्नै वैचारिक रुपान्तरण नभएपछि समाज कसरी रुपान्तरण होस्?’
यति भनेर मदन सोचमग्न भए। लामो मौनतापछि दार्शनिक मुद्रामा उनी फेरि बोलेः जुन बेला बीपीको पार्टीका मानिसहरु अन्तर्कलहका कारण घर डढाएर खरानी बेच्ने होडमा लागेका थिए, त्यो बेला स्वभावतः देश चलाउने विकल्प हाम्रो पार्टी हुनुपर्ने हो। त्यसका लागि अघि भनेझैं पाइला अघि सारेर, भविष्यका लागि समाज र देशको खाका कोरेर तयार हुनु अनिवार्य थियो।
डाँडा काट्दा भञ्ज्याङमा पुगेपछि मात्रै अर्को पाखाको बाटो देखिन्छ। साथीहरु भञ्ज्याङको वल्लो पाखोमै बरालिए र पार्टीले बाटो हरायो। फलस्वरुप बीपीको पार्टीले जुन गल्ती गर्दै गयो, हामीले ती दोहोर्याउँदै गयौं। दुइटै मूल पार्टी उस्तै भएपछि बहुदलीय व्यवस्था बदनाम भयो। जुन हिंस्रक अधिनायकवादलाई हामीले पछि छाड्नुपर्ने थियो, बहुदलको बदनामीका कारण समाज त्यतै फर्कन अभिशप्त भयो। अन्यत्र त्यो बाटोले दिएको पीडाबाट पाठ सिकेरै नेपाल त्यसबाट बच्नुपथ्र्यो तर हतियारको जादुमा वशीभुत अल्पदर्शी मानिसहरुले समाजलाई युद्धको आगोमा हामिछाडे। कठै, तिमीजस्ता बालबालिकाहरुलाई त्यो युद्धले जलायो।
वातावरण स्तब्ध थियो। मदनका कुरा सुनिरहँदा मैनाको गला अवरुद्ध भइसकेको थियो।
‘युद्व शुरु त भयो भयो, त्यो सिद्धिएपछि साथीहरुले विगतका गल्तीबाट सिक्लान्, सुध्रिएलान् भनेर कति आश लाग्यो। दशै वर्ष त खेर गयो नि भनेर चित्त पनि बुझाएँ। तर के हुन्थ्यो, पहिले भन्दा अझ गलत बाटोमा हिँडेर अर्को दशक गुजारे। राजनीतिको उद्देश्य पैसा कमाउनेभन्दा माथि उठेन। आजका दिनमा पनि सुधारिने र बिरिएको बाटो छाडेर सही बाटो पक्रिने लक्षण त के, अलिकति गल्ती र पश्चात्तापबोधको भाव पनि देखिंदैन। खै कसरी बन्ला देश।’
यति भनेर मदनले लामो सुस्केरा हाले अनि केही सम्झेझैं गरी सोधेः ‘तिमीलाई मारेको कुरा त्यत्तिमै टुंग्याए त अपराधीहरुले?’
‘मलाई मारिसकेपछि ‘पक्रेर ल्याउँदा काभ्रे जिल्लाको होक्सेको जंगल क्षेत्रमा गाडीबाट हाम फाली भाग्न लाग्दा अड्न र पुनः गाडीमा फर्कन चेतावनी दिँदासमेत जबर्जस्ती भागेको हुँदा कारवाहीमा निजको मृत्यु भएको’ भनेर फर्जी रिपोर्ट बनाएर माथि पठाएछन्।
कुरा त्यतिमा त टुंगिएन। तर कुरा जति माथि पुग्यो उति ढाकछोप गर्ने र दोषिलाई बचाउने काम मात्रै गरे। न २०६१ को सेनाको ‘बोर्ड अफ इन्क्वाइरी’, न २०६२ को सैनिक अदालतको इजलाश, कुनैको पनि नियत न्याय दिने देखिएन, दुनियाँका आँखामा छारो हाल्ने काम मात्रै गरे।
मेरो ज्यान मारेका मात्रै थिएनन्, शुरुमा पक्राउ नै नगरेको भनेर ढाँटेका थिए। पछि फर्जी भिडन्तको रिपोर्ट दिएका थिए। तर, सजायँ दिने बेला लापरवाही गरेको भनेर छ महिना कैद, एक वर्ष वा दुई वर्ष बढुवा रोक्का, अनि २५ वा ५० हजार रुपैयाँ जरिवाना रे। हरे, कति सस्तो भयो हाम्रो ज्यान र न्याय नेपालमा।
फेरि लामो उच्छवास छोडेर मैना बोलिन्ः ‘व्यवहारमा न दोषि जेल बसे न तिनको बढुवा रोकियो। अन्यायबाट आजित भएर आमाले २०६२ कात्तिक २७ मा जिल्ला प्रहरी कार्यालय, काभ्रेमा चार जनाविरुद्ध ज्यान मुद्दा दर्ता गरिन्। वर्षौं केही भएन। आमा फेरि सर्वोच्च गइन्। २०६४ असोज १ गते सर्वोच्चले अनुसन्धान सकी अदालतमा मुद्दा दर्ता गर्न पुलिस र सरकारी वकिलको कार्यालयलाई आदेश दियो।
त्यसको पाँच महिनापछि माघ १७ मा प्रहरीले जिल्ला अदालत काभ्रेमा चार जना सैनिक अधिकारी विरुद्ध मुद्दा दर्ता गर्यो। तर सेनाले टेरेन। पुलिसले उनीहरुलाई अदालतमा उपस्थित गर्नै सकेन। अदालतको समेत मानमर्दन भयो, न्यायको आशै मर्यो।’
अलिअलि हावा चलेजस्तो भयो। दिन ढल्के पनि आकाश अलिकति खुल्न थालेको हो कि जस्तो भान भयो। मदन खडा भए।
‘२०६६ मंसिरमा बल्ल अलिकति शुभ समाचार आयो। शान्ति स्थापना मिसनका लागि अफ्रिका पठाइएका सैनिकहरुमध्ये मलाई पक्रने र मार्नेमध्येका एक जनालाई राष्ट्रसंघले फिर्ता पठाइदिएछ। लगत्तै नेपालका प्रधानमन्त्रीले उनीमाथि कानुनसम्मत कारवाही गर्न निर्देशन दिए।
मदनको अनुहार अलिकति उज्यालियो।
‘प्रधानमन्त्रीले नै ती सैनिकलाई काभ्रे जिल्ला अदालतमा उपस्थित गराउनू भनेर रक्षामन्त्रीलाई निर्देशन दिएपछि अब न्यायको बाटो खुल्यो भनेर बाबा–आमाले धेरै वर्षपछि राहतको सास फेरे। त्यसमाथि त्यतिबेला महिला रक्षामन्त्री भएकाले अनाहक मारिएकी किशोरीका लागि न्याय दिलाउन रक्षा मन्त्रालयले सहयोग गर्ला भन्ने सबैको आश थियो। तर भयो उल्टो। ती सैनिकलाई विमानस्थलबाट सैनिक प्रहरीले पक्राउ गरेको भनियो। अदालतको आदेश र प्रधानमन्त्रीको निर्देशन हुँदा पनि प्रहरीले उनलाई पक्राउ गरेर अदालतमा पेश गर्न सकेन। त्यति बेलासम्म त देश गणतन्त्रमा गइसकेको भन्थे। तर सेनाको कुरा आउँदा राणाकालभन्दा केही फरक देखिएन।
बाबा–आमालगायत मेरा लागि न्याय खोज्न लडेकाहरु यस्तो अन्यायका कारण बहुलाउन मात्रै बाँकी थियो। त्यही बेला समाचार आयोः रक्षामन्त्रीले प्रधानमन्त्रीको निर्देशनलाई चुनौती दिँदै अभियुक्त सैनिकका आफन्तलाई भेटेरै उनलाई कारवाही हुन नदिने बताइछन्। पछि गएर तिनै महिला राष्ट्रपति र सेनाको परमाधिपति बनेको भन्ने सुनियो। पछि गएर मलाई लाग्योः शायद ठिकै पनि गरिन्। मरिसकेकी म र मरेतुल्य भएका मेरा बाआमाको पक्षमा काम गरेर उनले के नै पाउँथिन् र। आखिर जसले पनि राजनीति गर्ने केही पाउन त रैछ...
मैना अचानक रोकिइन्। अघि खडा भएका मदनको अनुहार कालोनीलो भयो, खुट्टा अचानक लल्याकलुलुक भएर उनी ढल्न लागेजस्ता देखिए। झटपट मैना उठेर उनलाई सहारा दिँदै चौतारीको डिलमा बसाइन्। बस्नासाथ मदन भक्कानिएर रोए। रूवाइ रोकिएपछि पनि धेरै बेर उनलाई केटाकेटीलाई झैं हिक्का छुटिरहेको थियो। अब झम्म साँझ परिसकेको थियो। यस्तो लाग्थ्यो कि यो साँझपछि आउने रात अब कहिल्यै सिद्धिने छैन र अब फेरि बिहान हुने छैन। अनि फेरि मानिसले यस्तो अपमान र पीडा फेरि भोग्नु पर्ने पनि छैन।
मदन सम्हालिएर बसेपछि मैनाले आफ्नो कथा टुंग्याइन्ः पछि गएर २०७४ साल वैशाखमा काभ्रे जिल्ला अदालतले चार जनामध्ये तीन जनालाई दोषि ठहर्याउँदै जन्म कैदको फैसला गर्यो। तर तबसम्म दुई जना राजीनामा दिएर विदेशिइसकेका थिए भने एक जना सेवा निवृत्त भइसकेका थिए। अपराधपछिका यी १४ वर्ष त ती खुल्ला घुमे, घुमे, अब पनि तिनलाई पक्राउ गरेर सरकारले जेल हाल्ला भन्ने विश्वास उडिसकेको छ।
मदन अझै हिक्का छाडिरहेका थिए। अँध्यारोमा उनको अनुहार देखिँदैनथ्यो तर तिनको काँपेको र झनै दबेको आवाजबाट अनुमान लगाउन सकिन्थ्यो उनको अवषाद झनै बढेको थियो। सासैसासले उनले सोधेः तिमीजस्तै अन्यायमा पर्ने कति छन्?
‘हजारौं।’
यो आवाजचाहीँ मैनाको थिएन। दुवैले पछि फर्केर हेरे। घुर्मैलो साँझमा मानिसहरुको ठूलै झुण्ड पछि उभिएर उनीहरुका कुरा सुन्दै रहेछन्। ‘तपाइँहरू को’ मदनले सोधे।
म बाबुराम तामाङ ‘पुष्प’। म अम्बिका दाहाल ‘ललिता’। म प्रदीप दोङ ‘रक्तिम’। म संगीता। म हर्क बहादुर तामाङ ‘यथार्थ’। म रवि चौहान ‘समिर’। म उमा कार्की ‘सहारा’। म श्याम तामाङ ‘इन्क्लाब’। म पदमराज गिरि ‘असल’। म विष्णुमााया थापा मगर ‘बिमा’। म ठूलोराम तामाङ ‘छोक्पा’। म सानोराम तामाङ ‘तारा’। म लक्ष्मण तामाङ ‘छायाँ’। म जमिन। म सोम। म विमला। म टेकबहादुर थापा मगर ‘विवेक’। म चतुरमान थामी ‘समर’। म उषा। म युवराज मोक्तान अनि यो मेरो छोरा लीला मोक्तान।
भीडबाट कसैले भन्योः हामीलाई २०६० साउन ३२ गते युद्धविराम चलिरहेको बेला रामेछापको दोरम्बामा सेनाले पक्रेर डाँडाकटेरी पुर्याएर हात पछि बाँधेर गोली हान्दै एकै चिहान बनाएको थियो।
फेरि कसैले थप्योः हामीलाई मारिनुको त्यति दुःख छैन जति हाम्रा साझा सपनाहरुको हत्या भएकोमा छ। सपनाको हत्या नै भएपछि हामीले हामी मारिनुको मुल्य किन नखोज्नू? के हाम्रा जीवन, हाम्रो संघर्ष, हाम्रो रगत–पसिना, सबै कसैका लागि सत्तामा पुग्ने भर्याङ मात्रै थिए?
यो प्रश्नपछि सबै जना मौन भए। उत्तर कसैसँग थिएन। फेरि कसैले भन्योः हो, भर्याङ मात्रै रहेछन्। दोरम्बा समूहले पनि पछि फर्केर हेर्यो, त्यहाँ झनै गाढा अँध्यारोमा झन् धेरै मानिसहरुका धमिला आकृतिहरु खडा थिए। तिनले भनेः म रामचन्द्र सुवेदी , म विष्णुप्रसाद घिमिरे। म...। ...। हामी सबैलाई माडीको बाँदरमुढेमा बसमा बम पड्काएर मारिएको थियो।
अझै पृष्ठभूमिबाट अरु आवाज आइरहेका थिएः म लीला आचार्य। म माधव अधिकारी , म ...। ...। हामी सबैलाई भैरवनाथ गणबाट बेपत्ता पारिएको। म वीरेन्द्र शाह, पत्रकार। म प्रकाश ठकुरी, पत्रकार। हाम्रा हत्याराहरु पुरस्कृत भए। ...। ...।
***
म झल्याँस्स ब्युँझेँ। उठेर हेरेँ, सिरानीमा खोज पत्रकारिता केन्द्रको ‘नेपालमा दण्डहीनता’ शीर्षक पुस्तक थियो। राति अबेरसम्म बसेर त्यसमा द्वन्द्वपीडितका कथा र दण्डहीनताको व्यथा पढेको थिएँ। सैन्य अदालतका फैसलादेखि संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका प्रतिवेदनसम्म उदधृत गरेर त्यहाँ उल्लेख गरिएका यातना विवरण पढ्दा आङ जिरिङ भएको थियो। बाँकी सबै विवरण त पुस्तक पढेकाले सपनामा आए होलान्। तर मदन भण्डारी बूढा पनि किन उनीहरुसँग मिसिएर सपनामा आएका होलान्? शायद आजकल म मदन भण्डारीलाई ‘मिस’ गरिरहेछु।