निरन्तरको बढ्दो ब्यापार घाटा नेपालको गहिरो चिन्ताको विषय बनेको छ। निर्यातको दाँजोमा आयात अत्याधिक मात्रामा बढ्दो छ। विगत दश वर्षमा निर्यात र आयात अनुपात १:३ बाट अत्यासलाग्दो रूपमा बढेर १:१६ पुगिसक्यो।
अहिले नेपालले करीब सोह्र रूपैयाँ बराबरको सामान खरिद गर्दा एक रूपैयाँ बराबरको सामान मात्र बिक्री गर्छ। यसले नेपालका उत्पादित सामानको निर्यात अत्यान्त न्यून रहेको जनाउँछ। असन्तुलित वैदेशिक व्यापारले विदेशी मुद्राको आर्जन र संचितिमा नकारात्मक असर पार्छ। राष्ट्रको क्रय क्षमता घट्दै जान्छ।
नेपाली उत्पादनका न्यून निर्यातका विविध कारण रहेका छन्। मूलतः एकातर्फ हाम्रो उत्पादन प्रणाली अत्यन्त नाजुक छ भने, अर्कोतर्फ उत्पादित सामानहरूको कमजोर प्रतिस्पर्धात्मक क्षमता छ साथै नेपालमा कायम गरिएको गुणस्तरले कतिपय अवस्थामा अन्तर्राष्ट्रिय मान्यता नपाउनु पनि अर्को विडम्बना हो।
डब्लुटीओमा प्रवेशसँगै नेपाली उत्पादनलाई झन् खरो प्रतिस्पर्धामा उत्रनु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ। र यसका लागि गुणस्तरीय उत्पादन पहिलो सर्त हो।
गुणस्तर र यसको विश्वसनीयता
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय सामाग्री छनोट गर्ने प्रचलन बढ्दो छ। हुनत गुणस्तर सापेक्षित हुन्छ। कतिपय अवस्थामा सम्बन्धित निकायबाट न्यूनतम गुणस्तर निर्धारण समेत गरिएको हुन्छ। जस्तोः- खाद्य पदार्थ, औषधि, अत्यावश्यक निर्माण सामाग्री आदिमा न्यूनतम गुणस्तरीयता तोकेको पाईन्छ।
अधिकतम गुणस्तरीयता उत्पादकको क्षमता र उसले अपनाउने नीतिमा पनि निर्भर रहन्छ। प्रतिस्प्रर्धात्मक बजारमा गुणस्तरीय सामाग्री अपरिहार्य नै हो।
कुनै वस्तु गुणस्तरीय छ कि छैन, कसले जाच्दछ त? यसका लागि संसारभर सार्वजनिक तथा निजी क्षेत्रबाट विभिन्न परीक्षण प्रयोगशालाहरू स्थापना भएका छन्। अर्को प्रश्न, के सबै प्रयोगशालाबाट गरिएका परीक्षण विश्वसनीय हुन्छन् ? र एउटा देशको प्रयोगशालाबाट गरिएको परीक्षण प्रतिवेदनलाई अर्को देशले मान्यता दिन्छ कि दिँदैन? जसरी अस्पतालहरूमा एउटा ल्याबबाट प्राप्त रिपोर्ट अर्को अस्पतालले मान्यता दिएको हुँदैन, त्यसरी नै यो क्षेत्रमा पनि परीक्षण प्रतिवेदन सबै अवस्थामा सर्वमान्य हुन्छ नै भन्न सकिदैन।
यसको अर्थ, एउटा प्रयोगशालाको प्रतिवेदन अर्कोलाई मान्य नहुन पनि सक्छ। त्यसो भए कुनै कम्पनीले दावी गरेको गुणस्तरको विश्वसनीयता पनि त भरपर्दो भएन नि! भन्ने आउँछ। हो, जवसम्म प्रयोगशाला प्रतिवेदन अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त प्रयोगशालाबाट जारी भएको हुदैन, त्यस्ता प्रतिवेदन पूर्ण रूपमा विश्वसनीय हुदैनन्।
परीक्षण प्रयोगशालाको अन्तर्राष्ट्रिय मान्यताः
अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त प्रयोगशाला भनेको के हो त? अन्तराष्ट्रिय स्तरमा गुणस्तर निर्धारण गर्ने सस्था आईएसओ (इन्टरनेशनल अर्गनाइजेसन फर स्टान्डराईजेशन) ले संसारभर विभिन्न क्षेत्रमा करिब बाईस हजार चारसय भन्दा बढी गुणस्तर र सो सम्बन्धी कागजात प्रकाशन गरेको छ।
यसमा प्रविधिदेखि खाद्य, कृषि, स्वास्थ्य सुरक्षा र व्यवस्थापन सम्मका क्षेत्रहरू पर्दछन्। परीक्षण प्रयोगशाला सम्बन्धी गुणस्तर आईएसओ १७०२५ हो।
परीक्षण प्रयोगशाला आईएसओ १७०२५ बाट प्रमाणीकरण (एक्रिडिटेड) भएको छ भने त्यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय प्रयोगशाला हो। यस्तो एक्रिडिटेशन मान्यता प्राप्त संस्थाबाट लिएको हुनुपर्छ। एक्रिडिटेशन गराउने संस्थाले त्यस्तै अरु संस्थासँग म्युचुअल रिकग्निसन एग्रिमेन्ट (एमआरए) गरेको हुनपर्छ। त्यस्तो अवस्थामा मात्र ती प्रयोगशालाबाट प्राप्त रिपोर्ट सर्वमान्य हुन्छन्। भनाइको तात्पर्य, कुनै देशको एकृडिटेड प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदन जुनसुकै देशलाई पनि मान्य हुन्छ। यसको महत्त्वपूर्ण पक्ष भनेको, एउटै उत्पादनको पटक पटक गर्नुपर्ने परीक्षणको झन्झटबाट मूक्ति मिल्दछ। त्यसैले पनि, परीक्षण प्रयोगशालाले अन्तराष्ट्रिय गुणस्तर प्राप्त गर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ। बिश्वमा प्रयोगशाला आईएसओ १७०२५ बाट प्रमाणीकरण गर्ने लहर बढ्दो छ।
तोकिएको सर्त र अधीनमा रही मापदण्ड पूरा गरेका प्रयोगशालाले मात्र अन्तराष्ट्रिय गुणस्तर मान्यता प्राप्त गर्न सक्छन्। यसका लागि प्रयोगशालासंग विशिष्ट क्षमता, गुणस्तर परीक्षण पद्वति, दक्ष जनशक्ति र आधुनिक उपकरणहरू अनिवार्य हुन्छ। अझ, महत्त्वपूर्ण पक्ष नेतृत्व तहमा दृढ इच्छा शक्ति र संकल्प आवश्यक पर्दछ।
नेपालमा गुणस्तरीय प्रयोगशालाः
प्रयोगशालालाई आईएसओ प्रमाणीकरण गर्ने आधिकारीक निकाय नेपालमा हालसम्म छैन। यहाँका प्रयोगशालाले भारतका विभिन्न एजेन्सीबाट एकृडिटेशन गराएका छन्। त्यस्ता प्रयोगशाला सार्वजनिक र निजी गरी मुस्किलले आठ, नौ वटा मात्रै रहेका छन्। तैपनि ती प्रयोगशालाले परीक्षण गर्ने सम्पूर्ण पारामिटरहरूमा एकृडिटेशन लिन सकेका छैनन्। प्रयोगशाला स्थापना र संचालन खर्चिलो तथा स्वास्थ्य जोखिमपूर्ण छ। त्यसैले पनि यसको आशातीत रुपमा विकास हुन सकेको छैन।
नेपालमै आन्तरिक रुपमा पनि प्रयोगशालालाई गुणस्तर मान्यता दिईएको पाईन्छ। ‘नेपलास’ भन्ने अहिले प्रचलनमा छ। यसले प्रयोगशालाको गुणस्तरका लागि मद्दत पुर्याए पनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त भने होईन। एमआरए गरेका एजेन्सीबाट एकृडिटेट प्रयोगशालाको परीक्षण प्रतिवेदन मात्रै अन्तराष्ट्रिय रुपमा मान्य हुन्छ।
गुणस्तरीय प्रयोगशाला र निर्यात सहजीकरणः
प्रयोगशालाको आईएसओ मान्यता, उत्पादित वस्तुको गुणस्तर परीक्षण र निर्यातमा प्रत्यक्ष सम्बन्ध स्थापित छ। आयातकर्ताले पहिचान तथा गुणस्तरीयता परीक्षण भएपछि मात्र सामान आयात गर्दँछन्। यसका लागि गुणस्तर मान्याता प्राप्त प्रयोगशाला अपरिहार्य हुन्छ। यी प्रयोगशालाले स्तरीय परीक्षण बिधि अपनाउँछन्। साथै, आफूखुसी अथवा कसैको प्रभावमा परी नतिजा तोडमोड गर्न सक्दैनन्। एउटै नमूनाको अन्य प्रयोगशालाबाट परीक्षण गर्दा एउटै नतिजा आएको हुनुपर्ने हुँदा विश्वसनीयता कायम रहन्छ।
नेपालबाट निर्यात हुने सामाग्रीहरू विशेष गरी दक्षिण एसियाली मूलुकहरू, अमेरिका, अष्ट्रेलिया, युरोपमा जान्छन्। जडीवुटी तथा सुगन्धित तेलजन्य सामग्री युरोप र अमेरिका निर्यात हुन्छ। मह, चिया र कफी युरोपमा निकासी हुँदा जैविक बिषादिको अवशेष परीक्षण गरी सोको मात्रा नभएमा मात्र निकासी हुने गर्दछ। त्यस्तै अदुवा , दलहन, तेल, बेसार लगायतका सामग्रीमा समेत परीक्षण आवश्यक पर्दछ। बिडम्बना, नेपालमा सम्पूर्ण पदार्थहरू को विस्तृत परीक्षण सुविधा छैन र गुणस्तर मान्यता प्राप्त प्रयोगशाला पनि सीमित छन्। जसले गर्दा आयातकर्ताले नै नमूना संकलन गरी नेपाल बाहिरका आफ्नो सुविधा अनुसारको प्रयोगशालामा परीक्षण गर्दछन् र न्यूनतम गुणस्तर भएमा मात्रै पैठारी गर्छन्। यो सबै प्रकृया पुर्याउन झन्झटिलो, बढी समय लाग्ने र लागतमा समेत बृद्धि हुने भएकोले व्यापारमा नन् टेरीफ बेरियर पैदा हुन्छ। नन् टेरिफ बेरियर निर्यात पवद्र्धनको प्रमुख अड्चन हो।
अर्कोतर्फ नेपालको प्रयोगशालामा आधुनिक परीक्षण प्रविधिको पनि अभाव छ। जस्तोः- खाद्य पदार्थंमा जैविक अवशेष नभएको, एजो जस्ता विशाक्त रसायन नभएको प्रमाणपत्र माग गरिएको हुन्छ। यो परीक्षणको क्षमता नेपालका अधिकांश प्रयोगशालामा छैन। आवश्यकता अनुसारको परीक्षणको अभावले खरिदकर्तामा दुविधा सृजना हुन्छ। यसले निर्यातमा सोझै प्रभाव पार्दछ। त्यसैगरी जडीवुटी क्षेत्रमा निर्यातको अपार सम्भावना छ। नेपालका उत्पादन कम्पनीले निर्यात गर्न पहिचान तथा प्रमाणिकरण गर्नुपर्दछ। यो सुबिधा पनि हालका प्रयोगशालाले माग बमोजिम दिन सकेका छैनन्। त्यसैले, न्यूनतम पूर्वाधारसहितको प्रयोगशाला स्थापना तथा क्षमता बृद्धि गरी गुणस्तरीय एवं सर्बसुलभ परीक्षण सेवा उपलब्ध हुनु जरूरी छ।
गुणस्तरको प्रत्याभूत गर्न नसक्दा मह, कफी अदुवाको व्यापार अपेक्षित रुपमा बढेको छैन। गतबर्ष परीक्षणका नाममा नेपालको अदुवा भारतको भन्सार विन्दुमै थन्किई कुहिएको थियो। लामो समय लाग्दा बिग्रने प्रकारका खाद्यपदार्थको गुणस्तरमा ह्रास आउने, कुहिने, आदि कारणले माग रद्द समेत हुने गरेको छ। नेपालको भारतसंगको व्यापार हिस्सा पैसठ्ठी प्रतिशत भन्दा बढी भएकोले सबै प्रकारका सामग्रीमा नेपालमा गरिएको परीक्षणलाई मान्यता दिई सहज निकासी गर्न राजनीतिक तहवाट समेत पहल गर्नुपर्दछ।
अन्त्यमा
नेपालले दिगो आर्थिक तथा सामाजिक उन्नतिका लागि आगामी दिनमा उत्पादन बृद्धि गरी निर्यात वढाउनुको विकल्पै छैन। नेपालले तुलनात्मक लाभका वस्तुको उत्पादनमा प्राथमिकता दिनु पर्दछ। आन्तरिक खपतका लागि स्वदेशी उत्पादन बृद्धि गरी आयातलाई प्रतिस्थापन गर्दै निर्यातका नविन सम्भावनाको खोज गर्नु आवश्यक छ। निर्यात सहजीकरण गर्न निजी तथा सार्वजनिक क्षेत्रका प्रयोगशालाहरू को क्षमता विकास र गुणस्तर प्रमाणीकरण देशब्यापी बनाउनु पर्दछ। परीक्षण प्रयोगशालाले आन्तरिक तथा पैठारीका सामाग्रको गुणस्तर नियन्त्रणका लागि समेत अहम् भूमिका खेल्दछ।